Incident Reports

शिक्षकमाथि दुर्व्यवहार

2019-02-20

Madhes, Siraha, Laxmipur Patari

— आधारभूत विद्यालय धन्छवारका विद्यालय व्यवस्थापन समिति सदस्यले आफूले भनेको प्रअले नमानेको भन्दै शिक्षक हाजिरी पुस्तिका खोसेर लगेका छन् ।
सिरहाको लक्ष्मीपुरपतारी ४ स्थित आधारभूत विद्यालय धन्छवारका विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद सदाले फागुन ८ गते विद्यालयमा पठन पाठन भइरहेको बेला गाली गलौज र अभद्र व्यवहार गर्दै शिक्षक हाजिरी पुस्तिका खोसेर लगेका हुन् ।

प्रधानाध्यापक तारणीप्रसाद चौधरीले आफूलाई सदाले अभद्र व्यवहार गर्दै विद्यालयमा भएको शिक्षकको हाजिरी पुस्तिका पनि खोसेर लगेको बताए । आफूमाथि भएको अभद्र व्यवहार र हाजिरी पुस्तिका खोसेर लगेपछि फागुन ९ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारीलाई जानकारी गराए पनि प्रहरीले विद्यालयमा गएर शिक्षकमाथि अभद्र व्यवहार गर्ने र हाजिरी पुस्तिका खोसेर लैजानेमाथि कारबाही गर्नुको साटो आइतबार उल्टै पञ्चायती गराएर घटनालाई ढाकछोप गर्ने प्रयास गरेको प्रअ चौधरीले गुनासो गरे ।

हाजिरी रजिष्टर खोसेर लगेपछि पठन पाठनमा शिक्षकहरूलाई समस्या भएको छ । १ देखि कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा दुई सय बालबालिका अध्ययनरत छन् । विद्यालयमा दरबन्दीमा प्रअ चौधरी र विश्वम्भर शर्मा कार्यरत छन् । बालविकासतर्फ देवकुमारी चौधरी, शिव कुमारी सिंह र विना यादव सहयोगी कार्यकर्ताका रूपमा कार्यरत छन् ।

‘विद्यालय व्यवस्थापन समिति सदस्यबाट नै अभद्र व्यवहार र हाजिरी पुस्तिका खोसेर लगेपछि विद्यालयमा पठन पाठनको वातावरण बिग्रिएको छ’ प्रअ चौधरीले भने ‘यस्तो असुरक्षित अवस्थामा पठन पाठन सूचारु गर्न शिक्षकहरूलाई समस्या भएको छ ।’ अझ प्रहरीले समेत प्रधानाध्यापकमाथि अभद्र व्यवहार गर्ने समिति सदस्यलाई पञ्चायतीको माध्यमबाट उन्मुक्ति दिने प्रयास गरेपछि पठन पाठनमा समस्या भएको शिक्षकको गुनासो छ ।

‘विद्यालयमै गालीगलौज गर्ने, हातपात गर्ने र हाजिरी पुस्तिका लैजाने कार्यले आफूहरू असुरक्षित रहेको भन्दै प्रहरीकहाँ उजुरी गर्न गए तर प्रहरीले उल्टै छलफल गर्नुपर्छ भनेर ढाकछोप गर्ने प्रयास गर्‍यो’ उनले भने ‘यस्तो अवस्थामा हामी शिक्षकहरूले कसरी विद्यालय सञ्चालन गर्ने ?’

विद्यालयका प्रधानाध्यापक चौधरीले समितिका सदस्य सदाले आफूलाई गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्तिगरेकोले आफ्नो नाममा खाता सञ्चालन गर्न आएको तर त्यसो गर्दा कानुनविपरीत हुने भएकोले आफू नमान्दा अभद्र व्यवहार तथा हाजिरी पुस्तिका खोसेर लगेको बताए ।

‘हामीकहाँ प्रधानाध्यापक र शिक्षकको टोली आएर विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद सदाले गालीगलौज, अभद्र व्यवहार र हाजिरी पुस्तिका खोसेर लगेको भनेर उजुरी लिएर आउनुभएको थियो’ इलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठले भने ‘तर हामीले विद्यालयको मामिला भनेर कारबाही गर्नुको साटो छलफलमा टुंग्याउन खोजेको हो ।’ विद्यालयमै गएर प्रधानाध्यापक तथा शिक्षकमाथि अभद्र व्यवहार गर्नु गम्भीर अपराध भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य हरि प्रसाद सदाले आफू व्यवस्थापन समितिको अध्यक्ष रहेको र विद्यालयका प्रअ चौधरीलाई पटक पटक पठन पाठन नियमितरूपमा सन्चालन गर्न भने पनि अटेर गरेर दलित बालबालिकाको भविष्यमाथि खेलवाड गरेकाले शिक्षक हाजिरी पुस्तिका खोसेर लक्ष्मीपुर पतारी गाउँपालिका शिक्षा समितिलाई बुझाएको बताए । उनले आफूले प्रअलाई गाली गलौज र अभद्र व्यवहार नगरेको बताए ।

विद्यालय निरीक्षक रामलखन मण्डलले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गाउँपालिकाले नियुक्त गर्ने नभई विव्यसमा रहने नौ सदस्यीय कार्यसमितिले चयन गर्ने जानकारी दिए । ‘विद्यालय व्यवस्थापन समिति गठन भए पनि समितिको कुनै सदस्यले विद्यालयका प्रधानाध्यापक वा शिक्षकमाथि गालीगलौज, अभद्र व्यवहार तथा हाजिरी पुस्तिका खोसेर लैजान सक्दैनन्’ विद्यालय निरीक्षक मण्डलले भने ‘यस्तो हरकत गर्ने जोकोही पनि कारबाहीको भागिदार हुन्छन् ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Jhapa

0 Comments

Related Reports