Incident Reports

विप्लव नेकपाप्रति सरकार कठोर , ‘रातो घर’ प्रहरीले डोजर लगाएर भत्कायो

2019-03-29

Lumbini, Rupandehi, Butwal

रूपन्देही - सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति कठोर बन्दै गएको छ। बुटवलमा शुक्रबार उक्त पार्टीले प्रयोग गर्दै आएको ‘रातो घर’ प्रहरीले भत्काएको छ। बुटवल पाल्पारोडस्थित तत्कालीन वाणिज्य बैंक कार्यालय रहेको घर सशस्त्र द्वन्द्वकै बेला माओवादीले कब्जामा लिएको थियो। त्यसयता माओवादीको कब्जामा रहेको ‘रातो घर’ पछिल्लो समय विप्लव नेकपाले पार्टी कार्यालयको रूपमा प्रयोग गर्दै आएको थियो। केही दिनअघि प्रहरी र वाणिज्य बैंकका कर्मचारीले नेकपाको झन्डा, ब्यानर, कागजपत्र र कार्यालयमा रहेका फर्निचर नियन्त्रणमा लिई ताला लगाएका थिए।

शुक्रबार भने प्रहरी तैनाथ गरेर भवन नै भत्काएको छ। विगत १३ वर्षदेखि पार्टी कार्यालयका रूपमा प्रयोग गर्दै आएको भवन भत्काइएपछि आक्रोशित नेकपा (विप्लव)ले चेतावनीसहितको विज्ञप्ति जारी गरेको छ। शुक्रबार जारी विज्ञप्तिमा सो स्थानमा कुनै नयाँ संरचना नबनाउन चेतावनी दिइएको छ। पार्टी जिल्ला इन्चार्ज शरद ओली र जिल्ला सेक्रेटेरी अमर आरसिद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्यालय भत्काएर सरकारले पार्टीलाई उद्देलित बनाएको र आफ्नै खुट्टामा बन्चरो हानेको भन्दै यसको परिणाम गम्भीर हुने उल्लेख छ। हाम्रो पार्टीको झन्डा, ब्यानर, साईन बोर्ड सहित नाराहरू मेटाएर पार्टीका फर्निचर तथा कार्यालय प्रयोजनार्थ राखिएका सामग्रीहरू समेत कब्जा गरि अपमानित ढङ्गले बिना सुचना पार्टी कार्यालयमा डोजर लगाई गरिएको तोडफोडले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ।

विप्लव समूहले राजनीतिक स्वतन्त्रताविरोधी हर्कतविरुद्व सम्पूर्ण मानव अधिकारवादी, नागरिक समाज, पत्रकार, न्यायप्रेमी जनसमुदायलाई प्रतिरोध गर्न अपील पनि गरेको छ। प्रहरीले भने वाणिज्य कार्यालयले आफ्नो जग्गामा नयाँ भवन बनाउनका लागि भत्काएको जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्ले वाणिज्य बैंकको नयाँ भवन निर्माण गर्नका लागि प्रहरीले सुरक्षा दिएर भत्काएको बताए।

धमाधम नेता कार्यकर्ता गिरफ्तार

नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाएसँगै प्रहरीले यसका नेता तथा कार्यकर्तालाई धमाधम गिरफ्तार गर्न थालेको छ। प्रहरीले लुम्बिनी क्षेत्रमा पनि विप्लव समूहका नेतृत्व तहमा रहेकादेखि विभिन्न पेशा व्यवसायमा रहेका समर्थकसमेतलाई पक्रन थालेको छ। रूपन्देहीमा एक सातामा ६ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।

रूपन्देही प्रहरीले एक साताको अवधिमा विप्लव समूहका जिल्ला सदस्य इन्द्रकुमार यादव प्रदेशी, योगेन्द्र यादव, युवराज न्यौपाने, अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष रामजी आचार्य, इलाका सदस्य रेशम खाँण र शेरबहादुर रानालाई पक्रेको छ। केन्द्रीय नीतिअनुसार विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक मुकुन्दराज भण्डारीले बताए।

प्रहरीले अखिल नेपाल शिक्षक संगठन कपिलवस्तुका अध्यक्ष रामनिवास चौहानलाई पनि पक्राउ गरेको छ। मायादेवी गाउँपालिका पकडीस्थित छत्रपाली तीर्थादेवी माविमा विद्यार्थीलाई एसइईको परीक्षा दिलाउन आएको समयमा चौहानलाई पक्राउ गरिएको हो। पडकी चौराहामा होहल्ला गरी सर्वसाधारणलाई त्रसित हुने काम गरेकाले चौहानलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले बताए। ‘चौहान विप्लव समूहको प्रचारप्रसार, कार्यक्रम र गतिविधिमा संलग्न रहँदै आएकाले उनलाई पक्राउ गरेका हौं,’ उनले भने। पक्राउ परेका चौहानलाई सार्वजनिक हित, सुरक्षा, नैतिकताविरुद्धको कसुरमा म्याद थपी अनुसन्धान थालिएको उनले बताए। चौहान मायादेवी गाउँपालिका ५ बलुहवास्थित जनता माविका प्रधानाध्यापक हुन।

प्रहरीले नेकपाका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र नवलपुरका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पक्राउ गरेको छ। गुल्मिमा आफ्नै कोठामा पढिरहेका अखिल (क्रान्तिकारि)का जिल्ला सचिव विष्णु विकलाई पनि प्रहरीले गिरफ्तार गरेको छ। कपिलवस्तुबाट श्याम दास, मंगल थारु, दुर्गाबहादुर रोकाया र गुल्मीबाट खिम खड्का र बिष्णु विकलाई पनि प्रहरीले पक्राउ गरेको विप्लव नेकपाले जनाएको छ। शिवगढीमा एकजना कार्यकर्ता हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Other
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media

0 Comments