2019-04-10
आफूसँग भएको यातनापूर्ण व्यवहार र शोषणबाट आजित भएर वीरगन्ज कारागारमा एक कैदीले आत्महत्याको प्रयास गरेका छन्। कैद भुक्तान गरी रिहा भएका एक कैदीले जेलको यातना सहन नसकेर एक कैदीले आत्महत्याको प्रयास गरेको जानकारी दिए।
यता प्रहरीले भने कैदीमा मानसिक समस्या रहेको र आत्महत्याको प्रयासको सूचना नभएको प्रतिक्रिया दिएको छ। ‘गत १८ गतेको घटना हो, धरानका मान्छे हुन, बेहोस भएर अस्पताल ल्याइएको र पाखुरातिर घाउ लागेको बुझिएको छ’, पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘मनोसमाजिक परामर्श आवश्यक भएको बिरामीको रुपमा पाइएको छ, आत्महत्याको प्रयास नै हो भन्ने सूचना भएन।’
करिब एक हजार २ सयभन्दा बढी संख्यामा कैदीबन्दी रहका वीरगन्जस्थित कैदीबन्दी सुधारगृह अर्थात कारागारभित्र राज्यको कानुनभन्दा चौकीदार र नाइकेहरुको हुकुममा बेग्लै शासनतन्त्र चल्ने गरेको भुक्तभोगी बताउँछन्। उनीहरुका अनुसार आर्थिक दोहन र दुर्ब्यवहार तथा यातनाबाट कैदीहरु आजित हुँदा आत्महत्याको प्रयास गर्छन, अरुलाई हानी गर्छन। साथै विरोधको स्वर एकत्रित गर्न खोजे त्यहाँबाट सरुवा गरिन्छन्।
रिहा भएकाहरुका अनुसार वीरगन्ज कारागारभित्र रहुन्जेल कसैले चुइक्क बोल्ने आँट गर्दैन। चौकीदार भने कैदीबन्दीकै बीचबाट एक जनालाई चुन्ने गरिएको छ। उसको सहयोगमा भाइ चौकीदार, वरिष्ठ नाइके र नाइके चुनिन्छ।
‘कारागारका राजाजस्तै हुन चौकिदार, उनका सहयोगीहरु मन्त्रीजस्तै’, एक महिना अगाडि कारागारबाट रिहा भएका एक कैदीले सुनाए, ‘वीरगन्ज कारागारभित्र चौकीदारको हुकुम चल्छ, नेपालको नियम कानून होइन्।’ यसअघि आकाश महतो नामका कैदीलाई मरणासन्न हुने गरी कुटेको घट्ना करिब तीन महिना अगाडि पनि बाहिरिएको थियो। विगतमा कैद भुक्तान गरेर रिहा भएका उनीहरुले बेग्लाबेग्लै ब्यक्तिसंगको कुराकानीमा जेलभित्रको बेग्लै संसार सुनाए।
भित्र भएका कैदीलाई भेट्न आएका कुनै ब्यक्तिसँग एक्लैमा कुरा गर्न बन्देज छ। टेलिफोन चौकीदारका मान्छेहरुबाट संचालित छ। कल गरेपछि भने अनुसार एक रुपैयाँ पर्ने कल ४ रुपैयाँ चुपचाप तिर्नुपर्ने हुन्छ। भारतमा कल गरेको ३० रुपैयाँ असुलिन्छ।
‘कोही पनि चुइँक्क बोल्न सक्ने हिम्मत गर्दैन, कारागारभित्रका चौकीदारका पसलहरुमा सामानको मोल तीनदेखि चार गुणासम्म बढी असुल्दा पनि बोल्न पाइन्न, बोल्यो भने थुनुवामा पुर्याएर रातभरी कुटिन्छ’, तीन बर्ष कैद भुक्तान गरी यसै महिना निस्केका एक कैदीले भने, ‘किराना पसल, मासु पसल, माछा पसल, सिलाई पसल, पान, चियानास्ता पसल, तरकारी पसल र सैलुन सबै भित्रका लठैंतहरुको हो।’
उनका अनुसार बाहिर ४० रुपैयाँ फुलगोभीको भाउ कारागारभित्र एक सय २० रुपैयाँ पुग्छ। अनी १२ रुपैयाँको अण्डा २५ रुपैयाँ र बाहिर १० पर्ने बिस्कुट ३०, चिया २० रुपैयाँ पर्छ। आलु एक सय २० रुपैयाँ, प्याज डेढ सय रुपैयाँ किलो पर्ने गरेको र दाह्री कपाल काटेको २ सय तिर्नुपर्ने उनले जानकारी दिए। कैदीले भित्रैबाट किनेर हरेक कुरा उपभोग गर्नुपर्ने हुन्छ भने आफन्तले ल्याइदिएको दैनिक उपभोग्य सामान भित्र्याउन निषेध छ। भुक्तभोगीका अनुसार यो कानूनी नियम नभए पनि कडाइका साथ लागु छ।
‘यो सबै बिगतको कुरा हो, अहिले त्यस्तो केही पनि छैन। बढी पैसा लिने कुरा भित्रै गएर बुझ्दा हुन्छ’, मुख्य चौकीदार शेख भोलाले भने, ‘बरु सिडिओ, एसपी साहेबहरु, पत्रकार र नागरिक समाज सबै आएर एकपटक अनुगमन गर्दा हुन्छ। कैदीहरुसँग कुरा गरुन। बरु हाम्रो मान्छे पनि त्यहाँ हुँदैनन।’ उनले भनेका ‘हाम्रो मान्छे’हरुमा ‘सहायक चौकीदार र नाइकेहरु’ छन्। सहायक चौकीदार र नाइकेहरुमध्ये सुनिल जैसवाल, बिक्की अग्रवाल र मनोज चौहानको भय सबभन्दा बढी रहेको छुटेका कैदी बताउँछन्।
बर्चश्व बनाई राख्नका लागि भित्रको चौकीदार समूहले कैदीहरुको सरुवामा नियन्त्रण गरेर राखेको छ। स्थानीय कैदीहरुले यस्ता गतिविधिको विरोध गर्ने आँट गरेका हुन्छन्। त्यस्तालाई चौकीदारले सरुवा गराई दिन्छन्। वीरगन्ज क्षेत्रमा घर भएका कैदी बाहिरका कारागारबाट यहाँ आउन खोज्दा अघोषित बन्देज छ। हालसालै मकवानपुरको भीमफेदी कारागारबाट वीरगन्ज कारगार आउन खोजेका वीरगन्ज इनर्वाका राजा यादव र झुमका कारागारबाट आउन खोजेका आदर्शनगरका पन्नालाल सहनीलाई आउन दिइएन। चौकीदारको अडानमा उनीहरुलाई रोकिँदा कारागार विभागको पत्र पनि काम लागेन। विगतको आरचण देखेर आफूहरुले कहीलेकाहीँ फलानो कैदी नल्याउँदा हुन्छ भन्ने गरेको चौकीदार भोलाले बताए।
जेलरदेखि कारागार व्यवस्थापन विभागका उच्च अधिकारीसम्म चौकीदारको पहुँचका कारण कैदीले दुःख पाएको भुक्तभोगी बताउँछन्। जेलभित्र आउने नयाँ कैदीसँग उसको हैसियत हेरेर पैसा असुल गर्ने गरेको र नदिए गोलघरमा थुनेर कुटपिट गर्ने गरेको उनीहरु सुनाउँछन्।
वीरगन्ज कारागारका जेलर सुनिल खनालले जेलभित्र सुशासन कायम रहेको दावी गर्छन। ‘मैले आएर यहाँ धेरैकुरा सुधारेको छुँ। बाहिर जाने केहीले केही कुरा सुनाए होला। हामीले पसलहरुमा मूल्य सूची नै राख्न दिएका छौं’, जेलर खनालले भने, ‘असुली गर्ने, मँहगोमा समान बेंच्ने भन्ने कुरा गलत हो।’
हिन्दी फिल्ममा देखाइएजस्तै कारागारमा बलिया बाँगाको राज मात्र छैन, त्यहाँबाट प्रतिबन्धित लागु औषधको कारोबार हुने गरेको भर्खर निस्किएका पूर्वकैदी बताउँछन्। भारतका ठूला कारोबारीसँग पहुँच रहेका र यता नेपालमा लागु औषध कारोबारी गिरोहमा पकड भएका बीचमा भित्रै ‘डिल’हुने र बाहिर कारोबार हुने बताइन्छ। ‘हाम्रो जिम्मा हो यहाँको सुरक्षा व्यवस्था बनाई राख्ने हो। तैपनि रिहाई भएका कैदी बन्दीसँग हामीले पनि कुरा गर्छौ र अवस्था बुझ्छौं’, कारागारस्थित प्रहरी इकाईका प्रमुख रहेका प्रहरी नायब निरीक्षक गोकुल बलायरले भने, ‘अहिलेसम्म लागुऔषधको कारोबारको सूचना पाइएको छैन।’
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 16 - 31, 2021
February 04, 2021
GBV / Human Rights / Governance / Covid-19
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 January 1 - 15, 2021
January 21, 2021
GBV / Human Rights / Governance / Covid-19