2019-05-10
Nepal
- प्रतिबन्धित इराक र कुवेतलगायतका देशमा जाने भन्दै अवैध बाटोबाट म्यानमार छिर्न खोजेका २३ नेपाली महिलालाई भारतको उत्तरपूर्वी मिजोरमबाट उद्धार गरिएसँगै मानव तस्करको गिरोहले नयाँ रुट प्रयोग गरेको खुलेको छ । म्यानमारको सीमावर्ती मिजोरमको चम्फाईबाट भारतीय प्रहरीले उनीहरूलाई उद्धार गरी बिहीबार नेपाल फर्काएको हो । यसअघि माघ १६ मा भारतीय प्रहरीले म्यानमारको सीमा क्षेत्रमा पर्ने टेङनेपालबाट १ सय ४७ महिलासहित १ सय ७९ नेपालीलाई नेपाल फर्काएको थियो ।
म्यानमारको सीमाबाट उद्धार गरिएका १ सय ४७ महिलामध्ये १९ देखि २० वर्ष उमेर समूहका मात्रै ८ जना थिए । २१ देखि ३० वर्ष उमेर समूहका ६७, ३१ देखि ४० वर्ष उमेर समूहका ४८ र ४१ देखि ५० वर्ष उमेर समूहका २४ जना थिए । मानव तस्करको फन्दामा परेर हिँडेकामध्ये ५७ जनाको गन्तव्य प्रतिबन्धित मुलुक इराक देखिन्छ । जस ४१ जना महिला थिए । बिहीबार मिजोरमबाट उद्धार गरेर नेपाल ल्याइएका २३ महिलामध्ये २० देखि ३० वर्ष उमेर समूहका ८ जना छन् । ३१ देखि ४० वर्ष उमेर समूहका ११ जना र ४१ देखि ५० वर्ष उमेर समूहका ४ जना छन् । प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार उद्धार गरिएकाहरू सबैभन्दा धेरै अर्थात् ४ जना झापाका छन् । ३ जना रूपन्देही, २ जना सुर्खेत, २ जना नवलपरासी, २ जना काठमाडौंलगायतका छन् । शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले ल्याइएका सबै महिलालाई केही दिनसम्म माइती नेपालको आवधिक गृह काँकडभिट्टामा राखेर मनोसामाजिक परामर्श दिइने जानकारी दिइन् ।
ब्युरोको डीएसपी राजकुमार सिलवालका अनुसार भारत–म्यानमार सीमा क्षेत्रमा प्रहरीले कडाइ गरेपछि संगठित मानव तस्करहरूले नयाँ रुट प्रयोग गरेको देखिन्छ । ‘उद्धार गरेर नेपाल ल्याएकामध्ये धेरैले प्रहरीमा उजुरी नदिने प्रवृत्ति छ,’ सिलवालले भने, ‘अहिले उद्धार गरिएकालाई उजुरी दिन तयार भए काठमाडौं बोलाउँछौं र अन्यलाई समन्वय गरेर घर पठाइदिन्छौं ।’ बिहीबार नेपाल ल्याइएकाहरूलाई अवैध ढंगबाट म्यानमार हुँदै खाडी तथा इराक, किर्गिस्तानजस्ता युद्धग्रस्त मुलुकमा लैजान लागिएको थियो । उनीहरूलाई मिजोरमको प्रान्तीय राजधानी आइजोल र म्यानमारसँगको सीमावर्ती क्षेत्र चम्फाईका होटल र लजबाट भारतीय प्रहरीले एक साताअघि उद्धार गरेको थियो । चम्फाई आइजोलबाट करिब २ सय किलोमिटर टाढा पर्छ ।
‘मानव तस्करहरूले हरेक पटक रुट फेर्दै अवैध ढंगबाट महिला पठाइरहेको देखिन्छ,’ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मानव बेचबिखन नियन्त्रण शाखाका उपसचिव कृष्णप्रसाद भुसालले भने, ‘तस्करीमा संलग्न गिरोहलाई फेला पार्न भने गाह्रो भइरहेको छ ।’ उत्तरपूर्वी भारतका मणिपुर, मिजोरम र नागाल्यान्ड म्यानमारसँग सीमा जोडिएका राज्य हुन् । मणिपुरको मोरे, मिजोरमको चम्फाई र नागाल्यान्डको लुडवा र म्यानमारबीच सोझो सम्पर्क हुन्छ । यो नाकाबाट आउजाउ गर्न दुवै देशका नागरिकलाई रोक छैन । व्यापार व्यवसायमा पनि बन्देज छैन । यो तीन राज्यको व्यापारिक नाका पनि हो । ‘नेपाली, भारतीय र बर्मेलीहरूको अनुहार पनि मिल्दोजुल्दो हुने भएकाले सीमा वारपार गर्न कुनै समस्या हुँदैन,’ उपसचिव भुसालले भने, ‘त्यसैले मानव तस्करले यो रुट प्रयोग गरेको देखिन्छ ।’
मानव बेचबिखन रोक्न काम गरिरहेको संस्था द सेल्वेसन मिसनका कर्मचारी निसान लो (तामाङ) ले नागाल्यान्डको लुडा नाकालाई पनि मानव तस्करले प्रयोग गरेको हुन सक्ने बताए । विभिन्न समयमा मिजोरम पुर्याइएका केही महिलालाई आइजोल र केहीलाई चम्फाईबाट उद्धार गरिएको मिजोरम राज्य पुलिसका महानिरीक्षक एलएच शान्लियानाले जनाएका छन् । उनका अनुसार उनीहरूलाई घुमघामको बहानामा मिजोरम प्रवेश गराइएको थियो । अधिकांश दिल्लीबाट गुवाहाटीसम्म हवाई मार्गबाट र गुवाहाटीबाट स्थलमार्गबाट मिजोरम प्रवेश गरेको देखिन्छ । असमबाट मिजोरम प्रवेश गर्ने नाकामा विदेशी तथा छिमेकी राज्यका नागरिकलाई समेत कडाइ गरिन्छ । तर, नाकाका सुरक्षाकर्मी र अधिकारीसँगको ‘सेटिड’ का कारण उनीहरूको प्रवेश सहज भएको अनुमान मानव बेचबिखनविरुद्ध कार्यरत संस्थाको छ ।
मिजोरम प्रहरीले महिलालाई मिजोरम पुर्याउने मुख्य नाइके लालबहादुर नामका नेपालीभाषीलाई नियन्त्रणमा लिएको छ । ‘लालबहादुरले मिजोरमसम्म ल्याएर बोर्डर कटाउने गरेको खुलेको छ,’ शान्लियानाले भारतीय सञ्चारमाध्यमसँग भनेका छन् । स्रोतका अनुसार लालबहादुरले दिल्ली र काठमाडौंमा रहेका एजेन्टसँगको समन्वयमा सीमा पार गराउने काम गर्दै आएका छन् । विगतमा दिल्लीबाट श्रीलंकाको कोलम्बो हुँदै खाडी मुलुक तथा इराक, किर्गिस्तानलगायत युद्धग्रस्त देशमा पठाउने गरिन्थ्यो । त्यसमा सरकारले कडाइ गरेपछि मानव तस्करका गिरोहहरूले लामो र वैकल्पिक रुट प्रयोग गर्न थालेका हुन् । ‘दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा कडाइ गरिएपछि तस्करहरूले उत्तरपूर्वी भारतका मणिपुर र मिजोरमजस्ता राज्य प्रयोग गर्न थालेका छन्,’ माइती नेपालका अध्यक्ष विश्वराज खड्काले भने । उनका अनुसार सुरुमा तस्करहरूले म्यानमारको पर्यटक भिसा निकाल्छन् र विभिन्न नाका हुँदै म्यानमारको राजधानी रंगुन पुर्याउँछन् । रंगुनबाट सोझै श्रीलंकाको कोलम्बो लान्छन् । त्यसपछि कोलम्बो ट्रान्जिट बनाउँदै खाडीलगायतका मुलुक पठाउँछन् ।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD