Incident Reports

नेकपा-माओवादीद्वारा विभिन्न जिल्लामा उम्मेदवारी फिर्ता लिन आग्रहl

2013-10-05

Online Desk काठमाडौँ । ०७० असोज २१ गते, मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि दर्ता गराएको उम्मेदवारी फिर्ता लिन भन्दै नेकपा-माओवादी लगायतका ३३ दलीय मोर्चाका कार्यकर्ताले देशका विभिन्न जिल्लाका प्रत्यक्षतर्फका उम्मेदवारहरूलाई चेतावनी स्वरुप पत्र दिएका छन् । माओवादीले थमाएको पत्रमा उम्मेदवारी फिर्ता नलिए त्यसबाट आईपर्ने समस्या व्यक्तिगत रुपमा आफैले लिनुपर्ने उल्लेख गरेको छ । हुम्लाबाट इन्सेक प्रतिनिधि मिमसिंह नेपालीका अनुसार उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन असोज २० गते लिखित पत्र बुझाएको छ । पार्टी महासचिव देव गुरङद्वारा हस्ताक्षरित पत्रमा माओवादीले विगतको जनयुद्ध र संयुक्त जनआन्दोलनबाट मुलुकमा बहुदलीय व्यवस्था र गणतन्त्रको स्थापना भएको र प्राप्त उपलब्धीहरूको संरक्षण गर्दै संविधानसभाबाट नयाँ संविधान निर्माण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् । यसैगरी, धनकुटाबाट इन्सेक प्रतिनिधि सन्तोष रुचालका अनुसार नेकपा-माओवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवकले आगामी मंसीर ४ गते हुने संविधानसभाको चुनाव बष्हिकार गर्न उम्मेदवारलाई असोज २१ गते चेतावानी दिएको छ । मंसीर ४ गते हुन गईरहेको चुनाव राष्ट्रघाती चुनाव भएकोले कुनै पार्टीका उम्मेदवारहरूलाई चुनावको प्रचार प्रसारमा नलाग्न विज्ञप्ति मार्फत स्वयमसेवकले चेतावनी दिएको हो । सुनसरीबाट सुकदेव चौधरीका अनुसार नेकपा-माओवादीले सुनसरीका उम्मेदवारहरूलाई मुलुकको निकासका लागी भन्दै असोज २१ गते उम्मेदवारी फिर्ता गर्न पत्र पठाई उर्दि जारी गरेको छ । पार्टीका उम्मेदवारहरूलाई घरघर मै गएर पत्र थम्याउदै राष्ट्रिय सहमतिका वातावरण मिलाउन उम्मेदवारी फिर्ता लिन आग्रह सहितको उर्दि जारी गरेको हो । पार्टीको नेताकार्यकर्ताहरूले सुनसरीका एमाले, काङ्ग्रेस, एकीकृत नेकपा माओवादी र मधेशवादी दलका नेताहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको नेता आदित्यले जानकारी दिए । उनीहरूले नेपाली काङ्ग्रेसका उम्मेदवार रामबहादुर बस्नेतलाई पत्र बुझाएका छन् भने फोरम लोकतान्त्रीकका ४ नम्बर क्षेत्रका उमेदवार अरविन्द मेहता र ५ नम्बर क्षेत्रका उमेदवार गफार अन्सारीलाई उनीहरूको हातमै पत्र बुझाएको पार्टीले जनाएको छ । त्यसैगरी नेकपा एमालेका ६ नम्बर क्षेत्रका उम्मेदवार भीमप्रसाद आचार्यको घरमा गएर पत्र बुझाएको बताइएको छ । उक्त पत्रमा ३३ दलिय राजनितीक मोर्चाका तर्फबाट देव गुरुङ्को हस्ताक्षरित पत्र उम्मेदवारहरूलाई वुझाएका छन् । नवलपरासीबाट नारायण पराजुलीका अनुसार निर्वाचन बहिष्कार घोषणा गरेको नेकपा माओवादीले जिल्लामा क्रियाशील रही संविधान सभा निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दलका कार्यलयमा उम्मेदवारी फिर्ता लिन दवाव दिदैँ पत्र पठाएको कारण उम्मेदवारहरू आतङ्कीत भएका छन् । जिल्लामा ३७ स्वतन्त्र सहित १ सय ८३ जनाले संविधानसभाको मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । जसमा ३० दलको सहभागिता रहेको छ । अनलाइन डेस्क

0 Comments

Related Reports
Related Trend Analysis