Incident Reports

राउटेलाई अब नागरिकता

2019-06-19

गलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले गुराँस गाउँपालिकाले अघिल्लो वर्ष वितरण गरेको परिचयपत्रका आधारमा नागरिकता दिने निर्णय गरेको हो। सोमबार सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव डा. मानबहादुर विकेले दैलेखको गुराँस गाउँपालिकाले वितरण गरेको परिचयपत्रका आधारमा नागरिकता दिइने बताए।

अघिल्लो वर्ष राउटे समुदायलाई सामाजिक विकास मन्त्रालयको सहकार्यमा गुराँस गाउँपालिकाले परिचयपत्र वितरण गरेको थियो। ‘सामाजिक सुरक्षा भत्ता वितरणका साथै अन्य सरकारी कामकाजमा पनि सहजता हुने भएकाले नागरिकता वितरण गर्ने निर्णय गरिएको हो’ सचिव डा. विकेले भने, ‘राउटेसँग काम गरिरहेका सरोकारवालाहरुसँगको समन्वय र सहकार्यमा यसलाई अघि बढाउँछौं।’

राउटे समुदायले गुराँस गाउँपालिकाको स्थायी बासिन्दाका रुपमा नागरिकता पाउने छन्। ‘जहाँबाट परिचयपत्र लिएका हुन्, त्यहीँको ठेगाना राखेर नागरिकता दिने प्रक्रिया सुरु गरिएको हो’ दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मी बास्तोलाले भने, ‘प्रक्रिया पु¥याएर बस्तीमै नागरिकता वितरण गर्न जान्छौं।’

गुराँस गाउँपालिका–८ को गर्चाखोला स्थायी ठेगाना राखेर गाउँपालिकाले परिचयपत्र वितरण गरेको थियो। राउटे समुदाय अहिले गुराँस गाउँपालिका–५ को कान्छीबजारमा बसेका छन्। राउटे समुदायसँग काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) का अनुसार राउटे समुदायको जनसंख्या १४६ छ। ती मध्ये ६० वर्षमाथिका २५ जना छन् भने ६४ जना बालबालिका छन्।

राउटे बस्ती हेर्न शुल्क तिर्नुपर्ने

गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ। जथाभावी राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको संस्कार र संस्कृति हराउँदै गएको र विकृति पनि बढ्दै गएकाले शुल्क लिने व्यवस्था गरिएको अध्यक्ष खेमराज वलीले जानकारी दिए। उनले बस्ती प्रवेशका लागि शुल्क लिन थालेदेखि राउटे बस्तीमा जथाभावी प्रवेश गर्नेको संख्या घटेको बताए। गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकका लागि १० रुपैयाँ, नेपाली नागरिकका लागि २० रुपैयाँ, विदेशी नागरिकका लागि पाँच सय रुपैयाँ, अडियो, भिडियो र क्यामराका लागि एक हजार रुपैयाँ शुल्क तोकेको छ।

‘राउटे बस्तीमा प्रवेश गर्नेहरुका लागि शुल्कको व्यवस्था गरिएसँगै जथाभावी प्रवेश गर्नेहरुको संख्या घटेको छ’ अध्यक्ष वलीले भने, ‘टिकटबाट उठेको रकम राउटे समुदायको उत्थान र संरक्षणमा लगाउँछौं।’ अहिले राउटे समुदाय बसेको क्षेत्र गुराँस–५ कान्छीबजारको खुला चौरलाई डोरीको सहायताले घेरबार गरिएको छ। नगरपालिकाले बस्ती प्रवेश गर्नेहरुका लागि शुल्क उठाउन दुई जना कर्मचारी खटाएको छ।

0 Comments

Related Trend Analysis