Incident Reports

कुमार पौडेल मारिएको घटनामा छानबिन गर्न सरकारलाई निर्देशन

2019-06-24

काठमाडौं - संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको घटनाको छानबिन गर्न निर्देशन दिएको छ। एक साताभित्र सत्यतथ्य छानवीन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।

समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको सो घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानवीन गरी एक साता भित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो। सो घटनाको सत्यतथ्य बाहिर ल्याउनेगरी छानबिन गरेर समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन्।

बैठकमा समितिका सदस्यहरुले सरकारले मुडभेडमा नभई चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई हत्या गरेको दावबी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए। समितिका सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले ५/६ ठाउँ हात भाँचेर हत्या गरिएका पौडेललाई मुडभेडमा मारिएको भनेर सरकारले मुलुकमा द्वन्द्व निम्त्याउने काम आफैले गरेको भन्दै आपत्ति जनाए। संवैधानिक बाटोबाटै संविधान उलंघन गर्नेहरुलाई कारबाही गर्नपर्नेमा सरकार आफैले गलत बाटो लिएको उनको भनाई छ।

गृहमन्त्री थापाले भने सरकारले चन्द नेतृत्वको नेकपासँग मुडभेड नचाहेको बताए। उनले चन्द नेतृत्वको नेकपालाई संविधानको बाटोबाटै राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले वार्ताको प्रयासलाई पनि जारी राखेको बताए। गृहमन्त्री थापाले चन्द नेतृत्वको नेकपाको आतंककारी क्रियाकलापलाई मात्रै सरकारले नियन्त्रणमा लिने काम गरिरहेको दाबी गरे।

असार ५ गते चन्द नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेलको प्रहरीको गोली लागेर मृत्यु भएको थियो। प्रहरीले दोहोरो भिडन्तमा पौडेल मारिएको दाबी गर्दै आएको छ। विप्लव समूहले भने उनको हत्या गरिएको आरोप लगाउँदै आएको छ।

0 Comments