Incident Reports

संविधानसभाका पूर्वअध्यक्षको चुनावी कार्यक्रममा अवरोध l

2013-10-23

Province 1, Ilam, Fakphokthum

Kokila Dhakal इलाम । ०७० कात्तिक ६ गते, संविधानसभाका पूर्वअध्यक्ष तथा एमालेको तर्फबाट संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ इलामको क्षेत्र नम्बर २ का उम्मेदवार सुवासचन्द्र नेम्वाङ्गको चुनावी कार्यक्रममा मञ्च सम्वद्ध संघीय लिम्बूवान राज्य परिषद्का कार्यकर्ताले कात्तिक ६ गते अवरोध पुर्‍याएका छन् । निर्वाचन कार्यक्रममा अवरोध पुर्‍याएको आरोपमा मञ्च सम्वद्ध संघीय लिम्बूवान राज्य परिषदका दुई कार्यकर्तालाई प्रहरीले कात्तिक ६ गते गिरफ्तार गरेको छ । एकतप्पा गाविस-९ दोकान डाँडामा आयोजित कार्यक्रममा अवरोध गर्नका लागि बाटो अवरुद्ध गर्न खोज्ने लिम्बूवान कार्यकर्ता गोविन्द योङ्गयाङ्ग र भूपेन्द्र योङ्गयाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुबाट चार थान खुकुरी र एक थान गुलेली बरामद गरेको डिएसपी भीमबहादुर दाहालले बताए । कार्यक्रम प्रयोजनका लागि ल्याइएको साउण्ड बक्स लिम्बूवान कार्यकर्ताले कार्यक्रम अगावै लगेका थिए । उक्त साउण्ड बक्स पनि लिम्बूवान कार्यकर्ता गोविन्द योङ्गयाङ्गको घरबाट बरामद गरेको प्रहरीले जनाएको छ । लिम्बूवानको ८-१० जना कार्यकर्ताले कार्यक्रम स्थल नजिकै बाटो अवरुद्ध गरेको जानकारी पाएपछि प्रहरी टोली कार्यक्रम अगावै सो स्थलमा पुगेको थियो । संघीय लिम्बूवान राज्य परिषदले इलाम-पाँचथरका संविधानसभा उम्मेदवारहरुलाई चुनावमा भाग नलिन भन्दै पत्र पठाइसकेको जनाएको छ । मञ्च सम्वद्ध संघीय लिम्बूवान राज्य परिषदले पाँचथरका विभिन्न गाविसमा समेत विभिन्न दलहरुलाई चुनावी प्रचार-प्रसार र सभाहरुमा अवरोध पुर्‍याउँदै आएको छ । कोकिला ढकाल

0 Comments

Related Reports