Incident Reports

यौनदासी बनाउन केन्या पुर्‍याइएका १२ नेपाली युवती स्वदेश फर्काइए, आफन्तको जिम्मा

2019-07-21

मानव तस्करको गिरोहमार्फत अफ्रिकी राष्ट्र केन्याका डान्सबारमा पुर्‍याइएका १२ नेपाली युवतीलाई स्वदेश फर्काइएको छ। अन्तर्राष्ट्रिय आप्रवासी संगठन – आईओएमको सहयोगमा उनीहरुलाई नेपाल फर्काइएको नेपाल प्रहरीको मानव बेचनविखन अनुसन्धान ब्युरोले जनाएको छ।

उनीहरुलाई आफन्तको जिम्मा पनि लगाइएको छ। नेपालबाट ल्याइएका युवतीलाई यौनदासी बनाइएको भन्दै केन्याका सञ्चार माध्यमले समाचार प्रकाशित गरेका थिए।

स्थानीय प्रहरीले नेपाली युवतीलाई यौनदासी बनाउने ‘मालिक’लाई पक्राउ गरी कारबाही गरिरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उद्धार गरिएका नेपाली युवतीमध्ये विभिन्न मितिमा उनीहरुलाई भारतको बाटो हुँदै अफ्रिका पुर्‍याइएको पाइएको छ।

उनीहरुलाई आदिसाअबाबा-मुम्बासा हुँदै केन्या पुर्‍याइएको र डान्सबारमा काम लगाउने बहानामा यौन गतिविधिमा लगाइएको पाइएको छ। नेपाली युवतीलाईअवैध मार्ग हुँदै केन्या पुर्‍याउने गिरोहको पहिचान र खोजी भइरहेको ब्युरोले जनाएको छ।


0 Comments