Incident Reports

स्वच्छ निर्वाचनका लागि मतदाता सचेत हुनुपर्नेमा जोड l

2013-11-07

INSEC Mid-western Regional Office नेपालगञ्ज । ०७० कात्तिक २१ गते, इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले निर्वाचनलाई स्वच्छ बनाउनका लागि स्वयम् मतदाता सचेत हुनुपर्नेमा जोड दिएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान २०७० कार्यक्रममा मध्यपश्चिमको बाँके, जुम्ला र सुर्खेतका कार्यक्रमहरूमा सहभागी हुन आउने क्रममा कात्तिक २१ गते नेपालगञ्ज स्थिति कृष्णसार एफएमले लिएको अन्तरवार्तामा प्याकुरेलले सो कुरा बताएका हुन् । लगभग ७५ प्रतिशत मतदाता सचेत भए निर्वाचन स्वतः स्वच्छ हुने कुरा राख्दै निर्वाचनलाई सफल बनाउन राजनीतिक प्रतिवद्धताका साथै सुरक्षात्मक व्यवस्थाले पनि त्यतिकै महत्व हुने धारणा प्याकुरेलको थियो । प्याकुरेलले मतदान हुनु पूर्व विभिन्न राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेको र त्यसका लागि प्रभावकारी रोकथाम गर्न सम्बन्धी पक्षले आँट नगरेको भन्दै निर्वाचन आयोगले आफूले पाएको कानुनी दायित्व पुरा गर्न निडर भएर लाग्न सुझाव दिएका थिए । संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्ने क्रममा प्याकुरेलले आउने हप्ता देखि मतदान केन्द्रको स्थितिका बारेमा पनि अनुगमन गर्ने साथै बृहत नागरिक भेला मार्फत निर्वाचनलाई स्वच्छ बनाउनका लागि प्रतिवद्धता कार्यक्रमको आयोजना समेत गर्ने अन्तर्वार्ता मार्फत स्पष्टा पारेका थिए । इन्सेकका अध्यक्ष प्याकुरेल स्वच्छ निर्वाचनका लागि नागरिक अभियान २०७० कार्यक्रममा सहभागी हुन सुदूरपश्चिमाञ्चलका कञ्चनपुर, कैलाली लगाएतका जिल्लाहरूमा पनि भ्रमण गर्ने कार्यक्रम रहेको इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले जनाएको छ । इन्सेक, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्ज

0 Comments