Incident Reports

दलहरूद्वारा आचारसंहिता उल्लङ्घन गरी प्रचारप्रसार l

2013-11-12

Ananda Dahal सिन्धुली । ०७० कात्तिक २६ गते, संविधानसभाको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै आफ्ना प्रचारप्रसारलाई तीब्रता दिएका छन् । उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गर्ने सवारी साधनहरूको अनिवार्यरुपमा निर्वाचन कार्यालयमा दर्ता गराई अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने निर्वाचन आचारसंहितामा व्यवस्था गरिएको छ । तर, अधिकांश उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारका लागि प्रयोग गरेका सवारी साधनहरूको निर्वाचन कार्यालयबाट अनुमति लिएका छैनन् । क्षेत्र नम्बर दुईमा एमाओवादी, काङ्ग्रेस, एमाले, राप्रपाले चुनाव चिन्ह अंकित झण्डा हालेर दैनिक जसो मोटर साइकल र्‍याली प्रदर्शन गर्ने गरेका छन् । मोटर साइकल र्‍यालीमा काङ्ग्रेस अग्रस्थानमा रहेको छ । अनुमति नलिएका हलुका सवारी साधनमा ठूलाठूला माइक राखेर दिनभरि जिल्ला सदरमुकाममा माइकिङ्ग गर्ने कार्यमा ठूला तीन दलबीच होडबाजी नै चलेको पाइन्छ । क्षेत्र नम्वर १ का काङ्ग्रेसका उम्मेदवार विपीन कोइराला र क्षेत्र नम्वर २ का एमाओवादीका उम्मेदवार गंगानारायण श्रेष्ठले मात्र हलुका सवारी साधन प्रयोग गर्न निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिएको र अन्यले नलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमाओवादीको क्षेत्र नम्वर १ को दुधौलीमा ०७० कात्तिक १० गते प्रचण्डले सम्बोधन गरेको क्षेत्रीय सभामा कार्यकर्ता लैजान दर्जनौ ठुला बसको प्रयोग गरिएको थियो । ०७० कात्तिक १७ गते ३ नम्बर क्षेत्रको पुरानो झाँगाझोलीमा भएको क्षेत्रीय सभालाई सम्बोधन गर्न प्रचण्ड हेलिकप्टरमा आएका थिए । ०७० कात्तिक २२ गते काङ्ग्रेस क्षेत्र नम्वर २ ले रानीचुरी गाविसस्थित कालिका उच्चमाविमा चुनावी सभा गरेको थियो । काङ्ग्रेसले ०७० कात्तिक २४ गते भिमस्थान गाविसमा गरेको चुनावी सभामा ठुलो बस रिजर्भ गरी कार्यकर्ता ओसारेको थियो । यसरी एकपछि अर्को गदै सबै दलले निर्वाचन आचारसंहिता उलङ्घन गर्दै आफ्ना प्रचार प्रसारलाई तिव्रता दिएका छन् । दलहरूले विभिन्न सरकारी कार्यालयको कम्पाउण्डमा पर्चा पोष्टर टाँस्ने, निर्वाचन आयोगले तोकेको मापदण्ड विपरित रंगिन र ठुला पोष्टर निकाल्ने, विद्यालय भवनका भित्तामा पोष्टरहरू टाँस्ने, विद्यालयहाताभित्र आफ्ना चुनावी कार्यक्रमहरू गर्ने लगायतका गतिविधिलाई प्रायः सबै राजनीतिक दलले तीब्र बनाएका छन् । आचारसंहिता विपरित आफ्नो प्रचारप्रसार गर्ने ठूलादेखि साना राजनीतिक दल उत्तिकै रुपमा देखिएका छन् । प्रायः सरकारी भवनका भित्तामा समेत विभिन्न दलको पोष्टर र पर्चाले रङ्गीबिरङ्गी देखिएको छ । समाचार तयारपार्दासम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचारसंहिता उल्लङ्घनका आठ ओटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमाओवादीले आचारसंहिता उलङ्घन गरी प्रचार प्रसार गर्‍यो भन्ने बढी उजुरी अरु दलबाट आएको र काङ्ग्रेस, एमाले, संघीय समाजवादी पार्टीको पनि प्रचारप्रसार विरुद्ध उजुरी आएका कार्यालयका आचारसंहिता अनुगमन अधिकारी शंकर बस्यालले जानकारी दिए । उनले निर्वाचन चिन्ह अंकित टिसर्टको प्रयोग, पम्पप्लेटको साइज ठूलो र रङ्गिन, उम्मेदवारको चरित्र हत्या गर्ने समाचार प्रकाशन लगायतका उजुरी परेको जनाए । निर्वाचन कार्यालयमा आएको उजुरीका सम्बन्धमा सम्बन्धित दल वा उम्मेदवारलाई चिठी लेखेर त्यसो नगर्न अनुरोध गर्ने गरेको र निर्वाचन अधिकृतको कार्यालयले पनि प्रक्रिया अनुसार गएर परेका उजुरीको छानवीन गरी टुङ्याएको जनाए । अहिले फलोअप गरी सबै दलहरूलाई आचारसंहिता विपरितका कार्य नगर्न पत्राचार गरिरहेको आचारसंहिता अनुगमन अधिकृत बस्यालले जानकारी दिए । आनन्द दाहाल

0 Comments

Related Reports
Related Trend Analysis