Incident Reports

उपचार अभावमा २८ वर्षयता एकैघरका चार जना मलमूत्रसहित एउटै कोठामा

2019-09-05

Province 1, Udayapur, Triyuga, Ward 7

‘भएका चार जना सन्तान सबै सुस्त ! स्याहारसुसार गर्ने आमाले संसार छोडेर गइहाली । म पनि ६० वर्ष पुगिसकेँ । कतिञ्जेल बाँचिएला र ? यसपछि यिनीहरूको हालत के होला ?’–त्रियुगा नगरपालिका–७ चुहाडेका जितबहादुर दनुवारले भने । 

२८ वर्षयता उनी यही समस्या झैल्दै आएका छन् । समस्याकै कारण सधैँ तनावमा दिन बित्ने गरेको जितबहादुरले बताए । उनले भने–‘एक दिन मजदुरी गर्न जान नसकेमा परिवार नै भोकै बस्नु पर्छ । मैले त बुझ्छु । यी अवोध सुस्तले भोकै बस्नु पर्ने समस्या कसरी बुझ्लान् ?’

यही चिन्ता जितबहादुरको मनमा दिनरात घुम्छ । ‘आफैँ अशक्त भएर ओछ्यान लाग्नु पर्ने अवस्था आयो भने यिनको के होला ? सम्पत्तिको नाममा ५ धुर जग्गा छ । त्यही जग्गा भित्र बनेको झुप्रो घर छ । घर बेचेर औषधि उपचार गरौँ भने यस्तालाई लिएर कहाँ बस्ने ? के गर्ने ?’–गहभरी आँशु पार्दै दनुवारले भने–‘गरिबको लागि कोही रहेनछन् । न औषधि उपचार न खान लाउन नै सहयोग पाउनु !’

‘समयमा नै औषधि उपचार गरेको भए ठिक हुन सक्थ्यो । तर, आफूसँग सम्पत्ति केही भएन त्यसैले रोगीलाई स्याहारसुसार गरेर बस्न बाध्य छु ।’–जितबहादुरले भने । ६ जनाको परिवारमध्ये पत्नीको मृत्यु पाँच वर्षअघि नै भयो । चार छोरा रोगबाट ग्रसित छन् ।’ बाँकी रहेका जितबहादुर उमेरले गल्दै गएका छन् ।

आर्थिक अवस्था कमजोर भएको दनुवार परिवारका २८ वर्षीय भरत, २६ वर्षीय पर्वत, २३ वर्षीय जयराम र १९ वर्षीय सिताराम दाजुभाइ हुन् । उनीहरू सबै बाबुसँगै झुप्रोमा बस्छन् । त्यहीँ भित्र तीन ओटा ढुङ्गा गाडेर बनाएको चुल्हो, एकछेउमा भात पकाउने कसौँडी, छेउमा दुई ओटा खाट जोडेर बनाएको बिस्तारा । काममा जाने बेलामा भाग्छन् भनेर बाहिरबाट सधैँजसो ढोकाको चुक्कुल लगाइने गरिन्छ । भित्र चार दाजुभाइ नाङ्गै खेलिरहेको दृश्य प्वालबाट सहजै देख्न सकिन्छ । त्यसो त उनीहरू खेल्ने मात्र हैन दिशापिसाव पनि त्यहीँ गर्छन् ।

घरभित्रै मलमूत्र र थुनिएको दृश्य आजको मात्रै हैन विगत २८ वर्षदेखिकै निरन्तरता हो । उपचार खर्चका लागि आर्थिक अवस्था कमजोर भएपछि घरमा थुन्न बाध्य भएको जितबहादुरको भनाई छ । ‘पत्नीले संसार छाडेर गइहाली ।’–भक्कानिँदै जितबहादुरले भने–‘दैव लागे भएका चार ओटै छोरा मानसिक रोगी भए । उपचार गर्ने पैसा छैन । साथ सहयोग कहीँ कतैबाट पाइएन । अनपढ छु सरकारले के गर्छ थाहा भएन ?’

दैनिक मजदुरी गरेर परिवारको पालनपोषण गर्दै आएका जितबहादुर बेला मौकामा चार अशक्त छोराहरूको हेरचाह गर्छन् । ‘जस्तोसुकै रोग लागेपनि सन्तान आफ्नै हुन् ।’–आँखाभरी आँशु पार्दै उनले भने–‘उपचार गर्ने पैसा आफूसँग छैन । अरूले हेर्दैनन् ।

वर्ष दिनयता नधोएका ओढ्ने ओछ्याउने देखाउँदै उनले भने–‘सबै सन्तानमा मानसिक रोग छ । उपचार गर्ने पैसा छैन । त्यसैले वर्षौँदेखि रोग पालेर थुनेर राख्न बाध्य छु । चार सन्तान मध्येका जेठो भरत सात वर्षसम्म त ठिक थिएँ । स्वास्थ्य बच्चा जस्तै हाँस्ने, खेल्ने र बोल्ने गर्दथ्यो त्यसपछि अचानक यस्तो भयो ।’–जितबहादुरले भने ।

माहिलो छोरो पर्वत सात वर्षसम्म ठिक थियो स्कुल जाने आउने गर्दथ्यो तर अचानक उसलाई पनि जेठोकै रोगले समात्यो । दुई भाइ छोरालाई अचानक रोगले च्यापेपछि उपचार गर्न लागे तर साइलो र कान्छोलाई पनि दाइहरूको जस्तै लक्षण देखिन थाल्यो । ‘साइलो जयराम त अरू दाजुहरूभन्दा फरक किसिमको थियो । चनाखो थियो पढ्न पनि जान्थ्यो आउँथ्यो । चार कक्षासम्म पढ्यो । तर, पछि के भयो उसलाई पनि दाजुहरूको जस्तै रोग लाग्यो ।’

 

जितबहादुरले भने–‘कान्छो छोरा सितारामलाई दाजुहरूको सङ्गतले रोग लागेको मेरो अनुमान छ । कहिले अर्काको खेतिपाति त कहिले काठ मिस्त्री काम गरी गुजारा चलाउने जितबहादुर समय मिलाएर छोराको स्याहारसुसार गर्न खट्न बाध्य छन् ।

‘पत्नी हुँदा छोराहरूको हेरचाह उनैबाट हुन्थ्यो र आफू दिनभर काममा गई बेलुका फर्कँदा खाना बनेको हुन्थ्यो अहिले खाना बनाई दिएर राखिदिनु पर्छ ।’–जितबहादुर मन भारी पार्दै भने ।

कमाई गरेर ल्याउने उमेरका छोराहरूलाई कोठामा थुनेर आफू काम गर्न जानु पर्ने बाध्यता  जितबहादुरलाई छ । सुस्त मनस्थिति भएकाले रातो कार्ड बनाउन वडा कार्यालय पुगेपनि सुनवाइ नभएको उनको दुखेसो छ ।

समस्याका बारेमा आफू जानकार भएपनि रातो कार्ड दिन नमिल्ने कानुनी व्यवस्थाले सहयोग गर्न नसकिएको वडाध्यक्ष भिमबहादुर मगरले बताए । उनले भने–‘रातो कार्ड व्यवस्था गर्न नसकेपनि खानका लागि केही व्यवस्था गर्ने सोचमा छु । तर, अहिले नै यसै गर्ने भन्ने एकिन भएको छैन ।’

सुस्तमनस्थिति, अपाङ्ग समस्या नगर क्षेत्रभित्र धेरै रहेको र धेरै ठाउँबाट सहयोगका लागि सिफारिस आएको हुँदा नीति नै बनाएर सहयोग गर्ने योजना रहेको नगर प्रमुख बलदेव चौधरीको भनाई छ ।




भरत खड्का

0 Comments