Incident Reports

हिरासतमा यातना दिने दोषीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी l

2013-11-29

Gandaki, Kaski, Machhapuchchhre

San Bahadur Thapa हिरासतमा प्रहरीद्वारा यातना दिएको भन्दै पीडितका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । सार्दीखोला गाविस-९ चौराका २७ वर्षीय तोरण गुरुङ, सोही ठाउँका २५ वर्षीय दीपक गुरुङ र २६ वर्षीय सन्तोष गुरुङलाई वडा प्रहरी कार्यालय बगरले हिरासतका क्रममा मङ्सिर ११ गते साँझ ७ बजे पाईप र लाठीले कुटपिट गरी यातना दिएको पीडितहरूले बताए । पीडित तोरण गुरुङले भने, हामीलाई मङ्सिर ११ गते राति ८ बजे खाना खाएपछि सादा पोशाकमा आएका दुई जना प्रहरीले ढोकाको चुकुल लगाई पैतालामा पाईप र लाठीले कुटपिट गरी यातना दिए, पाईप भाँचिएपछि बाँसको लाठीले कुटपिट गर्दै उफ्रन लगाए । कुटपिटबाट पीडितहरू राम्रोसँग हिड्न नसक्ने अवस्थामा छन् । मङ्सिर १२ गते पीडितका आफन्त भेट्न जाने क्रममा पीडित घटनाको बारेमा भनेपछि घटना सार्वजनिक भएको हो । पीडितका आफन्त कर्णसिं गुरुङले एउटै मुद्दामा चार जनालाई गिरफ्तार गरिएकोमा तीन जनालाई मात्र यातना दिइएको छ, यसको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेशनाथ बास्तोलाले घटनाको बारेमा गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई कानुन बमोजिम विभागीय कारबाही गरिने बताए । उनले भने हिरासतको क्रममा कुटपिट गर्दा प्रहरी संगठन अपमान हो, यसको विस्तृत रुपमा अनुसन्धान गरेर दोषीलाई कारबाही गर्छौँ । यसैबीच, घटनाको बारेमा इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल र जिल्ला प्रतिनिधिले मङ्सिर १३ गते राति ७ बजे पीडितहरूलाई भेटघाट गरी घटनामा संलग्न दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ । पीडितहरूलाई कात्तिक २५ गते सार्दीखोला गाउँमा स्थानीय ठेकेदार र प्रहरीसँग झगडा गरेको आरोपमा प्रहरीले गिरफ्तार गरी सार्वजनिक अपराध मुद्दामा अनुसन्धान जारी राखेको थियो । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis