Incident Reports

बाल दिवसले छोएन माधवलाई, जान्ने सुन्ने भएदेखि नै गोठमै बाँधिएर बित्छ दैनिकी

2019-09-16

सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको मुल आधार भन्ने मुल नारासहित भदौ २९ गते देशभर राष्ट्रिय बाल दिवसका अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन भएका छन् ।

तर, देशैभर बाल दिवसमा बालबालिका र उनीहरूको उज्वल भविष्यबारे चर्चा भएपनि पूर्वखोला गाउँपालिका–१ सिलुवा ढाक्रेबासका नौ वर्षीय बालक माधव सारु भने गाईभैँसी बाँध्ने गोठमा गाईभैँसी सरह नै बाँधिएरै दैनिकी बिताउँदै आएका छन् ।

माधव बोल्न जान्दैनन्, उनी आफैँ खान पनि सक्दैनन् । त्यसै छोड्दा धेरै पटक हराएको र कता जान्छन् कता भन्ने डरले उनी हिँड्ने भएदेखि नै यसैगरी बाँधेर राख्न थालिएको उनका बाबु डिलबहादुर सारुले बताए ।

खाना खाने बेलामा पनि समाएर खुवाउनुपर्ने र राति सुत्ने बेलामा समेत खाटमा बाँधेरै सुताउनुपर्ने उनकी आमा मिना सारुले बताइन् ।

‘राति घर भित्र लगेर सुताउँछौँ । बिहान भएपछि गोठमा ल्याएर यसैगरी बाँधेरै राख्ने हो ।’–उनले भनिन् ।

माधव सारु दम्पत्तिका कान्छा छोरा हुन् । माधवका ११ वर्षीय दाजु नारायण पनि अपाङ्ग छन् । उनी पनि सुन्न र बोल्न सक्दैनन् ।

तर, दिनभरी बेवारिसे अवस्थामा गाउँ डुलेर साँझ घर फर्कन्छन् । उनीहरूकी दुई वर्षीया बहिनी पनि छन् । तर, बहिनी भने बोल्न थालिसकेकी छन् ।

गाउँपालिकामार्फत हालै सङ्कलन भएको अपाङ्गतासम्बन्धी तथ्याङ्कमा दुवै जनाले रातो कार्ड पाउने बताएको उनीहरूका बाबु डिलबहादुरले बताए ।

खेती किसानी र ज्याला मजदुरी गरी दैनिकी गुजार्दै आएका सारु परिवारले आर्थिक अभावमा छोराहरूको उपचार गराउन नसकेको बताए ।



यज्ञमूर्ति तिमिल्सिना

0 Comments