Incident Reports

बाल विवाहको समस्यामा मुसहर बस्ती

2019-09-17

Bagmati, Sindhuli, Dudhouli

दुधौली नगरपालिकामा रहेको अति सिमान्तकृत समुदाय मुसहरमा बालविवाह व्याप्त रहेको पाइएको छ । मुसहर समुदायका बालिकाहरूको विवाह सानै उमेरमा हुने गरेकाले सानैमा बच्चासमेत जन्माउँदा स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ ।

उक्त नगरपालिकाको वडा नंं ७ पोखरेकी शान्ती सदा (२९) को माइती गाउँ दुधौली नगरपालिका–१० को थलीमा हो ।

उनको परिवारले उनलाई १२ वर्षमा विवाह गरिदिए । १३ वर्षमा पहिलो सन्तान जन्माएकी उनकी जेठी छोरी १६ वर्षकी भइन् ।

हाल नेपाल सरकारले विवाह गर्नका लागि योग्य उमेर २० वर्ष मानेको छ तर उनले २० वर्षमा तीन सन्तानलाई जन्म दिइन् ।

त्यसपछि पनि उनले दुई सन्तानलाई जन्द दिएकी छन् । उनको पछिल्लो सन्तान छोरा चार वर्षको भए । आमाको मृत्यु भएपछि उनका बुवाले सानैमा विवाह गरिदिएका थिए । अहिले उनको स्वास्थ्य अवस्था पनि राम्रो छैन, पाँच जना सन्तानलाई लालनपालन गर्न पनि धौधौ परेको छ ।

यो समुदायले स्थायी परिवार नियोजन गर्दा भगवानले नसहने भन्दै परिवार नियोजन गर्दैनन् । अहिले भने स्वास्थ्यकर्मीले घरमै गएर शान्तीसहित सात जना महिलालाई पाँच वर्षे इम्प्लान्ट राखिदिएका छन् । यो बस्तीमा २९ घर सदा परिवार बस्छन् ।

शान्ती जस्तै बालविवाह गर्ने र सानै उमेरमा सन्तान जन्माउने अर्की महिला हुन् प्रमिला सदा (३०) । उनको विवाह पनि १४ वर्षकै उमेरमा भयो । १५ वर्षमा पहिलो बच्चा जन्माइन् ।

चार सन्तानकी आमा प्रमिलाले सन्तान जन्मिरहन थालेपछि पाँच वर्षअघि स्थायी परिवार नियोजन गरिन् । उनी त्यो गाउँकी अलि बुझेकी र बोल्न सक्ने महिलामा पर्छिन् ।

‘मैले परिवार नियोजन गर्दा सबैले नराम्रो भने ।’–प्रमिलाले भनिन्–‘हाम्रो समुदायमा म मात्रै स्थायी परिवार नियोजन गर्ने महिला हुँ ।’

प्रमिला भन्छिन, यहाँका सबै केटाकेटीहरू सानैमा विवाह गर्छन् । कोहीलाई घरकाले विवाह गर्दिन्छन् । कोहीले आफैँ गर्छन् ।’

यहि गाउँकी ममता सदा (२०) ले दुई सन्तान जन्माइसकेकी छिन् । उनी भन्छिन–‘आफू जस्तै कतिले भागेर विहे गरिरहेका छन् । कोहीले मागेर विवाह गर्छन ।’

यसरी विवाह गर्नेहरूका विवाह दर्ता र बालबालिकाको जन्मदर्तामा समस्या छ । विद्यालयले १५ रुपियाँ दैनिक खाजा स्वरुप पैसा दिने भएकाले केही बालबालिका विद्यालय त जान्छन् तर हालसम्म एसईई गर्ने कोही पनि छैनन् ।

सिन्धुलीमा बालविवाह गर्नेको उजुरी आउँदैन । उजुरीका हिसावले गत आर्थिक वर्षमा ६ ओटा मात्र बालविवाह भएको देखिन्छ तर बालविवाह भएको भनी मुसहर समुदायको उजुरी पनि आएको छैन ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहका अनुसार मुसहर समुदायबाट बालविवाहको उजुरी हालसम्म प्रहरीमा आएको छैन ।

दुधौली नगरपालिकामा ६ सय ७६ घरधुरी मुसहर बसोबास गर्छन् भने उनीहरूको जनसङ्ख्या करिब ५ हजारको हाराहारीमा रहेको दुधौली नगरपालिकाका अधिकृत मल्लव अधिकारीले बताए ।

उनका अनुसार नगरपालिकाले बालविवाह न्यूनीकरण तथा बालमैत्री स्थानीय शासनसम्बन्धी नीति बनाउँदै गरेको र बजेट समेत छुट्याएर काम गर्न थालेको बताए ।

बिमला पाण्डे

0 Comments