Incident Reports

आर्थिक अभावका कारण अपाङ्गता भएका बालक ६ वर्ष देखि डोरीमा

2019-09-24

Gandaki, Tanahun, Myagde, Ward 7

आर्थिक अभावका कारण उपचार नपाएपछि म्याग्दे गाउँपालिका-७ कणालेका अपाङ्गता भएका १३ वर्षीय बालक मिलन दुरा ६ वर्षदेखि सलको डोरीले बाँधिदै आएका छन् ।

मनोसामाजिक अपाङ्गता भएका बालकलाई उनका अभिभावकले सलको डोरीले घरको खाँबोमा कम्मरमा बाँधेर घरमा नै राख्दै आएका छन् ।

रोगको उपचार गर्न पैसा नभएका कारण छोरालाई घरमै बाँधेर आफू काममा जाने गरेको आमा नानुमाया दुराले बताइन् ।

सलले कम्मरमा बाँधिएपछि बालक यताउता जान सक्दैनन् । सात वर्षको हुँदा मिलनमा समस्या देखिएपनि उपचार गर्ने ठाउँ पनि थाहा नभएको र पैसा समेत नभएका कारण उपचार गर्नुको साटो घरमै बाँधेर राख्न बाध्य भएको आमा नानुमायाले बताइन् ।

मनोसामाजिक अपाङ्गतासँगै मिलनमा शारीरिक समस्या पनि देखिएको परिवारजनको भनाई छ । आमा नानुमायाका अनुसार उनी राम्रोसँग हिँडडुल पनि गर्न सक्दैनन् ।

समस्या देखिनु अघि उनी राम्रोसँग विद्यालय समेत जाने गरेको भएपनि समस्या देखिएपछि दुर्घटना होला भनेर बाँधेर राख्ने गरिएको आमा नानुमायाले जानकारी दिइन् ।

घर खर्च चलाउन नानुमाया दैनिक अर्काको मेलापात जाने र घर निर्माणको काममा मजदुरी गर्छिन् । मिलनका बुबा घरमा भएपनि मादक पदार्थ सेवन गरेर हिँड्ने र घर परिवारमा कुनै वास्ता नगर्ने भएका कारण समस्या थपिएको नानुमायाले बताइन् ।

चार छोरामध्ये जेठा छोरा सवारी साधनमा सहचालकका रूपमा काम गछन् भने मिलन बाहेक अन्य दुई छोराहरू स्थानीय इन्दु माविमा अध्ययन गर्छन् ।

घरमा मान्छे नहुँदा कहिले आफूले त कहिले मिलनका भाइहरूले रेखदेख गर्ने गरेको नानुमायाले बताइन् ।


प्रकाशचन्द्र भट्टराई


0 Comments