Incident Reports

बेचबिखन घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-09-27

Madhes, Mahottari, Ekdanra, Ward 4

२५ वर्षीया महिलालाई भारतमा लगेर बेचेको आरोपमा एकडारा गाउँपालिका–४ का २८ वर्षीय सुरेश बैठाविरूद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पीडितले असोज ९ गते उजुरी दिएकी छन् ।

भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

पीडित महिलालाई आरोपितले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकोमा त्यहाँबाट भागेर असोज ८ गते आफ्नो घर आएपछि उनका पति र आफन्तहरूले जिल्ला प्रहरी कार्यालयमा सो घटनाबारे जानकारी गराएका थिए ।

बैठाले उनलाई प्रेममा फसाएर बिहे गर्छु भन्दै गत भदौ १४ गते नै घरबाट भगाएर लगेको र सीतामढीस्थित एउटा घरमा बन्द गरेर भागेको जिल्ला प्रहरी कार्यालयमा पीडितले बयान दिएकी छिन् ।

घरबाट भागेर गइरहेकै बेला बैठाले बसमा नै आफूले लगाएको गरगहना सहित ५० हजार रुपियाँसमेत लिनुका साथै सीतामढीको एउटा घरमा बन्द गरेर भागेको उनले बताइन् ।

बैठाले छाडेर हिँडेपछि बाटो कुर्दाकुर्दै नआएकाले बाहिर निस्कन खोज्दा आफूलाई दुई–तीनजना पुरुष र महिलाले समातेर राख्दै तिमी बेचिएकी छौ । अब यहीँ बस्नुपर्छ र यहीँ तिम्रो बिहे हुन्छ भनेकाले आफू बेचिएको थाहा पाएको उनले उनले सुनाइन् ।

ती महिला भदौ १४ गतेदेखि हराएकाले सोही दिनदेखि नै उनका पति र आफन्तले खोजबिन गर्दै जिल्ला प्रहरीमा समेत उनी बेपत्ता भएको खबर गरेको र अभियुक्त बैठाले नै उनलाई बेपत्ता बनाएको भन्दै बैठा उपर शरीर बन्धक मुद्दा दायर गर्न खोज्दा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको पीडित पक्षले जनाएको छ ।

अहिले महिला बेचिएको ठाउँबाट भाग्न सफल भई प्रहरीमा उजुरी दिएपछि बैठालाई गिरफ्तार गर्न प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अजयकुमार साह

0 Comments