Incident Reports

विद्यालय बन्द गरे दल नै त्याग्ने घोषणा l

2013-12-03

Gandaki, Baglung, Badigad

अर्गल (बागलुङ), मंसिर १८ - यहाँका राजनीतिक दलका कार्यकर्ताले विद्यालय पठनपाठनमा अवरोध गर्न कोही आए बरु दल नै परित्याग गर्ने तर कक्षा बन्द गर्न नदिने घोषणा गरेका छन् । सरकारी नियमबमोजिम सबै दिन विद्यालय खोल्न अवरोध गर्न खोजिए अर्गलका गाउँ तहका कार्यकर्ताले दल त्याग्ने घोषणा गरेका हुन् । विद्यालयलाई शान्ति क्षेत्र बनाउने घोषणा गरेर क्रियाशील दलका प्रमुख र अभिभावकले बन्दविरुद्ध एक भएर उत्रने प्रतिबद्धता गरेका हुन् । 'सरकारी निर्णयविरुद्ध बन्द गर्न आए दल छाडेर विद्यालय खुलाउँछौं,' एमाले अर्गलका अध्यक्ष हर्कबहादुर रोकाले भने, 'सरकारी निर्णय नमान्ने भए दलकै कार्यकर्ता भएर बस्नु पर्दैन ।' केन्द्रीय तहमा दलले गर्ने बन्द, हडतालविरुद्ध उत्रने उनीहरूले प्रतिबद्धता जनाएका हुन् । नेपाल सरकारले ०५८ जेठ ११ गते विद्यालय शान्तिक्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । त्यसपछि शान्तिक्षेत्र कार्यान्वयन निर्देशिकासमेत विद्यालयमा पठाएको छ । गाविसभरका सबै विद्यालयलाई शान्तिक्षेत्र भएको प्रतिबद्धता जनाउन सहभागी क्रियाशील दलका प्रमुखलाई उनले दलगत स्वार्थ नभित्र्याउन पनि आग्रह गरेका थिए । रोकाको प्रस्तावलाई क्रियाशील एमाओवादी, काँग्रेस, नेकपा-माओवादी, राष्ट्रिय जनमोर्चा र अन्य दलले पनि स्वागत गर्दै सहमति जनाए । दलका केन्द्रीय विरोधले स्थानीय विद्यालयमा असर पर्न नहुने निष्कर्ष उनीहरूले निकालेको जिल्ला शिक्षाका उपसचिव नवराज चापागाईंले बताए । शिक्षा र गाजा युवा क्लबले विद्यालय शान्ति क्षेत्र घोषणा गर्ने लक्ष्यले ताराखोला, हिल र अर्गलमा दल, अभिभावक तथा शिक्षकको बृहत् अभियान चलाएका थिए । अभियान क्रममा दलका प्रमुखले हस्ताक्षर गरेर पढाइमा अवरोध नगर्ने प्रतिबद्धता जनाएका हुन् । अभियान विद्यालयमा दलगत राजनीति नगर्ने, बालबालिकालाई भेदभाव नगर्ने, दलको भेला, प्रचारलगायतको स्थान नबनाउने तथा शिक्षकका पेसागत माग पूरा गर्न पनि पढाइ बन्दको विकल्प खोज्नेलगायत सहमति भएको हो । दलका प्रमुखले आफ्नो कारणले विद्यालय बन्द नहुने प्रतिबद्धता जनाएपछि शिक्षक र अभिभावक पनि यसविरुद्ध उत्रन सहमति गरेका छन् । 'ताराखोला, हिल र अर्गलका दुई दर्जन विद्यालय वर्षको २ सय २० दिन अनिवार्य खुल्ने बनाउन केही समयदेखिको पहलले सार्थकता पाएको छ,' चापागाईंले भने, 'यो अभियान जिल्लाभर लैजाने योजना छ ।

0 Comments

Related Reports
Related Trend Analysis