Incident Reports

एमाओवादीको मतगणना अस्वीकार गर्ने भनाईप्रति आपत्ति l

2013-11-21

Bagmati, Kathmandu, Kathmandu

Online Desk ०७० मङ्सिर ६ गते, संविधानसभाको निर्वाचनको मतगणना कार्य थालिएको करिब १२ घण्टापछि मध्यरातमा उक्त मतगणनालाई अस्वीकार गर्ने एमाओवादीको कदमप्रति नागरिक अगुवाहरूले मङ्सिर ६ गते प्रेस विज्ञप्ति प्रकाशन गरी गम्भीर आपत्ति प्रकट गरेका छन् । एमाओवादीको कदमप्रति ध्यानाकर्षणसँगै मतगणना र परिणामको घोषणा प्रक्रियालाई सुचारु राख्ने निर्वाचन आयोग तथा नेपाल सरकारको प्रतिबद्धताको नागरिक अगुवाहरूले समर्थनसमेत गरेका छन् । एमाओवादीद्वारा मतगणना कार्यलाई बाधा पुर्‍याउन अघि सारिएको 'वार्ता' गर्ने लगायत सबै मागलाई अस्वीकार गर्दै मतगणनाको सम्पूर्ण प्रक्रिया जारी राख्न पनि नागरिक अगुवाहरूले जोडदार माग गरेका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको तर्फबाट सुबोधराज प्याकुरेल, चरण प्रर्साई, कनकमणी दिक्षित, चन्द्रकिशोर र अमुदा श्रेष्ठद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा मङ्सिर ४ गते सम्पन्न संविधानसभाको निर्वाचनमा जनताको व्यापक चेतनशील प्रतिबद्ध सहभागिता रहेको उल्लेख गरिएको छ । उनीहरूले निर्वाचनको व्यवस्थापन, सुरक्षा आदि विषय प्रशंसनीय रहेको कुरा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईलगायतका नेताहरूले सार्वजनिकरूपमा व्यक्त गरिसकेको विज्ञप्तिमार्फत स्मरण गराईएको छ । 'चुनावी मन्त्रिपरिषद्को गठनलगायत निर्वाचनका सम्पूर्ण प्रक्रिया र नियम बनाउनेदेखि निर्वाचन सम्पन्न गर्ने समेत प्रत्येक चरणको राजनीतिक नेतृत्व एमाओवादीले नै लिएको थियो । एमाओवादीद्वारा मतगणनाको सन्दर्भमा मध्यरातमा जारी वक्तव्य तथा ६ गते बिहान अध्यक्ष पुष्पकमल दाहालद्वारा व्यक्त धारणा विरोधाभासपूर्ण रहेको हाम्रो ठहर छ ।' विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमार्फत सशस्त्र विद्रोहबाट शान्तिपूर्वक राजनीतिक अवतरण गरेको भनिएको एमाओवादीले लोकतान्त्रिक विधि प्रक्रियालाई अङ्गीकार गरोस् भन्ने नागरिकहरूले चाहना प्रकट गरेका छन् । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis