Incident Reports

कथित बोक्सी आरोपमा कुटिएकी महिला सदरमुकाममा अलपत्र l

2013-12-10

Bagmati, Dhading, Nilakantha

Sita Ram Adhikari कथित बोक्सीको आरोप लगाएर कुटपिटपछि गम्भीर घाइते भएकी सुनौलाबजार गाविस-४ का दुई जना महिला घर जान नसकेर सदरमुकाममा अलपत्र परेका छन् । सदरमुकाम नजिकै रहेको सुनौलाबजार गाविस-४ की ३० वर्षीया चनमति मगराती र सोही स्थानकी पम्फा मगरातीलाई बोक्सीको आरोपमा छिमेकीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएपछि जिल्ला अस्पतालमा उपचार गराइरहेका छन् । उपचार खर्च समेत नभएर उनिहरू समस्या परेका छन् । पीडितहरूले आक्रमण गर्ने सुन्तली मगराती, उनकी छोरी सीता मगराती र सुन्तलीका पति रुपबहादुर मगराती विरुद्ध कथित बोक्सी आरोपमा कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मङ्‌सिर २६ गते जाहेरी दर्ता गराएका छन् । पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको भए पनि आरोपितहरूलाई छुटाउन नेताहरूले समेत दवाव दिएको उनीहरूले बताए । मङ्‌सिर २५ गते विहान ११ बजेतिर चनमतिलाई आफ्नो बच्चा विद्यालय पठाएर घर फर्कन लागेको बेला बोक्सीले सबै मानिस, गाईबस्तु मारेको र बिरामी पारेको भनेर छिमेकी ४५ वर्षीया सुन्तली मगरातीले हसियाले घाँटीमा हानेकी थिइन् । चनमतिले हातले छेकेपछि उनको दाहिने हात गहिरोसँग काटिएको छ । चनमतिलाई पुनः सोही ठाउँकी सीता मगरातीले पनि लठ्ठीले हानेर लडाएर गम्भीर घाइते बनाएर मर्‍यो भनि फालिदिए । उनलाई आक्रमण गरेको देखेर छुट्याउन गएकी पम्फालाई पनि उनीहरूले आक्रमण गरी कुटपिट गरेका थिए । उनको टाढकोमा गम्भीर चोट लागेको छ । घाइते भएका दुवै जनालाई अन्य छिमेकीहरूले उद्धार गरी प्रहरी कार्यालयमा पुर्‍याएका थिए । स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि अहिले घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीमा जाहेरी दिएपछि पीडितहरूलाई गाउँ गए मारिदिने धम्की दिएका छन् । गाउँको झगडा भएकोले आरोपितहरूलाई तत्काल छाड्न एक जना नेताले आफूहरूलाई धम्की दिइरहेको पीडितले जानकारी दिए । सीताराम अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis