Incident Reports

भारतमा अपहरितको अवस्था अज्ञात l

2013-12-16

पर्सा, पुस १ - भारतको चेन्नईबाट मंसिर १३ गते अपहरणमा परेका १० नेपालीमध्ये २ को अवस्था अझै अज्ञात छ । अपहरणमा परेका निर्मल बस्ती, सुवर्णपुरका ९ युवा र गुल्मीका अर्का परिचय नखुलेका व्यक्तिमध्ये ८ घर फर्किसकेका छन् । गुल्मीका एक र निर्मल बस्तीका बमबहादुर श्रेष्ठको अवस्था अज्ञात रहेको स्थानीय महिला अगुवा एवम् पारालिगल गाउँ कमिटी अध्यक्ष गोमा उपाध्यायले जानकारी दिइन् । श्रेष्ठका आफन्तजन गहिरो चिन्तामा डुबेको उनले बताइन् । 'फोन आइहाल्छ कि भनेर उनका आफन्त आशा गरेर बसेका छन्,' उपाध्यायले भनिन्, 'तर २ साता बितिसक्दा पनि कतैबाट केही खबर नआएपछि परिवारका सदस्य बिलखबन्दमा परेका छन् ।' रोजगारीका लागि केरला जाँदै गर्दा उनीहरू चेन्नई रेल्वे स्टेसनबाट अपहरणमा परेका थिए । निर्मलबस्ती ९ माली गाउँका बमबहादुर श्रेष्ठ, सन्तकुमार स्याङ्बो, नारायण खड्का, अरुण मोक्तान, सुवर्णपुर ९ का राजेश गुरुङ र गुल्मीका ६० वषर्ीय १ पुरुष, निर्मल बस्तीका अक्कलबहादुर मोक्तान, नेत्रबहादुर सुवेदी, पूर्णबहादुर आचार्य र सुवर्णपुरका सोमबहादुर मोक्तानको समूह अपहरणमा परेका थिए । चेन्नईको तेलभ भन्ने स्थानमा पुगेपछि उक्त समूह त्यहाँबाट अपहरणमा परेको थियो । अपहरण भएको पर्सिपल्ट अपहरणकारीको चंगुलबाट अक्कलबहादुर मोक्तान, नेत्रबहादुर सुवेदी, पूर्णबहादुर आचार्य र सोमबहादुर मोक्तान भारतीय प्रहरीको सहयोगमा मुक्त हुन सफल भएका थिए ।

0 Comments