Incident Reports

महिला मानवअधिकारकर्मी कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग l

2014-01-06

Mangal Begha महिला मानवअधिकार रक्षक सञ्जाल, जिल्ला पाँचथरकी सदस्य ३५ वर्षीया ज्ञानु दुलाललाई प्रहरीले कुटपिट गरेको भन्दै जिल्ला स्थित मानवअधिकारकर्मीहरूले पुस २२ गते एक विज्ञप्ति जारी गरी संलग्नलाई कारबाहीको माग गरेका छन् । पीडित आफ्नो छोरो गिरफ्तारीको विषय बुझ्न जिल्ला प्रहरी कार्यालयमा पुस २१ गते साँझ गएको बेला कार्यालय परिषरभित्रै ड्युटिमा रहेका प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको भन्दै अधिकारकर्मीहरूले कारबाही गर्न माग गरेका हुन् । फिदिम वजार स्थित पाथिभरा मेडिकलमा उपचार गराईरहेकी पीडितको कानमा समस्या देखिएको मेडिकलले जनाएको छ । घटनाको विषयलाई लिएर संयुक्त महिलाअधिकार सञ्जाल, महिला मानवअधिकार रक्षक सञ्जाल, मानवअधिकारका लागि महिला एकल महिला समूह, घरेलु हिंसा न्युनिकरण सञ्जाल, हुकोडेक नेपाल, प्याग र सिद्वपोखरी सेवा सदनद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा कारबाही, उपचार र क्षतिपूर्तिको समेत माग गरिएको छ । "बर्दीधारी पुरुष प्रहरीबाट भएको गाली गलौज, दुर्व्यवहार र कुटपिटको घटनाप्रति घोर निन्दा र भत्सर्ना गर्दै घटनामा संलग्न दोषीलाई अभिलम्ब कानुनी कारबाहीको माग गर्दछौं"- विज्ञप्तिमा भनिएको छ- "पीडितको औषधी उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दछौ ।" घटनाका विषयमा वादविवाद मात्र भएको र ति महिलाले गाली गलौज गरेपछि केही समय नियन्त्रणमा लिइएको इन्स्पेक्टर राकेश थापाले बताए । स्थानीय युवाबीच भएको झडप नियन्त्रण गर्ने क्रममा दुलालका छोरा २० वर्षीय रोशन सुवेदीलाई गिरफ्तार गरिएको उनले बताए । पुस २१ गते साँझ भएको झडपमा खुकुरी प्रहारबाट फिदिम गाविस-१ का १५ वर्षीय सुवास खवास घाइते भएका थिए । ढाडमा चोट लागेका घाइते खवासको जिल्ला अस्पताल पाँचथरमा उपचार भइहरको छ । उनका आफन्तले कारबाहीको माग गर्दै आरोपित सुवेदीसहित सात जना विरुद्धपुस २२ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएका छन् । घटनामा संलग्न अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मंगल बेघा

0 Comments

Related Reports
Related Trend Analysis