Incident Reports

महिला हिंसा बढ्दो l

2014-01-13

Manohar Kumar Pokharel जिल्लामा सन् २०१३ मा तीन जना महिलाको हत्या, चार जना महिलालाई कथित बोक्सीको आरोप र २० ओटा बलात्कारका घटनामा १४ बालिका र छ जना महिला पीडित भएका छन् । हत्याका तीन ओटा घटनामा एक बालिका र दुई महिला पीडित भएका छन् । बालिकाको हत्यामा बुवाको संलग्नता र दुई महिलाको हत्यामा पति र घरपरिवारका सदस्यको संलग्नता देखिएको छ । अदालतको आदेशले तीनै जना आरोपित पुपर्क्षका लागि कारगारमा थुनामा, एक जना धरौटीमा रिहा भएका छन् भने फरार चार जनामाथि म्यादी पुर्जी काटेको छ । २० ओटा बलात्कार र १४ ओटा बलात्कार प्रयासका घटनामा एक बालक, २१ बालिका र १४ महिला पीडित भएका छन् भने ४७ जना आरोपित देखिएका छन् । प्रहरी कार्यालयले २८ ओटा मुद्दा दर्ता गरी जिल्ला अदालतमा दर्ता गराएको छ । एक आरोपितलाई अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ । दबाब र सहमतिमा सात जनाले कारबाहीबाट उन्मुक्ति पाएका छन् । बाँकी ४० जनामा १० आरोपित पुपर्क्षका लागि थुनामा, एकजना प्रहरी नियन्त्रणमा र १४ जना फरार छन् । दुई जनाले सफाई पाएका छन्, दुई जना साधारण तारेखमा र पाँच जना धरौटीमा छुटेका छन् । अदालतले आरोपीमा बालक देखिएका दुई जनालाई बाल सुधार गृहमा, दुई जनालाई अभिभावकको जिम्मामा र दुई जनालाई साधारण तारेखमा रिहा गरेको छ । यो अवधिमा कथित बोक्सीको आरोपका चार ओटा घटनामा ३५, ४०, ६५ र ७० वर्षीया चार महिला पीडित भइन् । तीन ओटा घटना दर्ता भएन भने एक ओटा मुद्दा दर्तापश्चात आरोपितमध्येका एक १० हजारमा र दुई जना १५/१५ हजार धरौटीमा रिहा भएका छन् । कथित बोक्सीका तीन घटनाका आरोपितमा छ जना छिमेकी र एक घटनामा देवर र भतिजा आरोपित छन् । चार ओटै घटनामा टुनामुना गरी पीडितले बोक्सी लगाई विरामी पारेको भन्दै तीन जनामाथि कुटपिट भएको छ भने एक जनालाई पटक-पटक गाली बेइज्जती गरिएको छ । कुटपिटबाट घाइते तीन जनाले अञ्चल अस्तालमा उपचार गराएका छन् । चेलीबेटी बेचविखनको एक घटनामा आरोपित एक पुरुष कारागारमा थुनामा छन् भने एक पुरुष र एक महिला हालसम्म फरार रहेका छन् । पीडित २ बालिका बेचिनबाट जोगिएका छन् । गरिबी, निम्न तहको सामाजिक स्तर, शिक्षाको अभाव, चेतनाको कमी, बालविवाह, बहुविवाह, दाइजो, तिलक, कथित बोक्सी प्रथा हिंसालाई बढावा दिने संस्कृति र परम्परा आदिले गर्दा महिला विरुद्धको हिंसा बढ्दो अवस्थामा रहेको न्यायाधीश सारंगा सुवेदीले बताइन् । महिलामाथि भइरहेको हिंसामा नजिकका नातेदारदेखि छिमेकी, साथी तथा कार्यालयका सहकर्मीहरूको संलग्नता बढी देखिएको छ । राजनीतिक तहबाट महिला हिंसाविरुद्धको अभियानलाई सार्थक तुल्याउनु पर्नेमा अपराधीलाई राजनीतिक दलहरूले नै संरक्षण दिएका कारण हिंसामा संलग्नहरूले उन्मुक्ति पाइरहेको अधिकारकर्मीहरूले आरोप लगाएका छन् । राजनीतिक प्रतिबद्धताको कमीले महिलामाथि अनेक प्रकारको हिंसामा बढोत्तरी भइरहेको छ । हिंसा गर्नेहरूलाई कडाभन्दा कडा सजाय दिनुको साटो नाम मात्रको कारबाही हुने हुँदा यातना दिनेहरूको बढोत्तरी भइरहेको पीडितहरूले बताएका छन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis