DM Chamling Rai
प्रहरी चौकी लुटपाट तथा चन्दा आतङ्क मच्याएको आरोपमा मुद्दा दर्ता गरी प्रकृया अघि बढाइएका भूमिगत सङ्गठन किरात जनवादी वर्कर्स पार्टीका तीन जना कार्यकर्ताहरुले सफाय पाएका छन् । भूमिगत सङ्गठन किरात जनवादी वर्कस पार्टीमा लागेर पनि अपराध गरेको ठहर नभएपछि इलाम जिल्लाका ध्रुव राई 'खम्बू', सोही जिल्लाका प्रकाश लिम्बू र झापा जिल्लाका गङ्गालाल दाहालले सफाय पाएको भनि प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले माघ १२ गते फैसला गरेका छन् । विभिन्न मितिमा गिरफ्तारमा परी कारागार शाखा दिक्तेलमा कैद सजाय भोगिरहेका उनिहरु निर्दोष भएको प्रमाणित भएपछि सफाय पाएको फैसला गरिएको जिल्ला प्रशासन कार्यालय मुद्दा शाखाका लिलाबहादुर विश्वकर्माले बताए ।
त्यसैगरी, गिरफ्तार गरिएकामध्ये १३ जना वर्कस पार्टीका नेता तथा कार्यकर्ताले आफूहरु किरात जनवादी वर्कस पार्टीका सदस्य भएको तथा पार्टीको नीति र निर्देशन बमोजिम प्रहरी चौकी आक्रमण गरी हातहतियार तथा बन्दोवस्तीका समान लुटेर लगेको भनि साविति बयान दिएको आधारमा प्रजिअ नेपालले ऐन अनुसार कैद सजाय भएको फैसला सुनाएका छन् । हातहतियार तथा खरखजना ऐन २०१९ अनुसार मुद्दा दायर गरिएकामध्ये १३ जनाको प्रशासनले कैद म्याद ठेगेको फैसला सुनाएको हो । हातहतियार तथा खरखजना ऐन अर्न्तर्गत यस्तो कार्य गरेको ठहरे तीन देखि पाँच वर्षम्म कैद र ६० देखि एक लाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
त्यस्तै, फैसला भएकामध्ये ७ जना वर्कस कार्यकर्ताको मुद्दा तामेलिमा राखिएको छ । वतन नखुली रीत पूर्वक म्याद तामेल हुन नसकेपछि हालसम्म पनि फरार रहेका र्समर्पण किराती, अजम्बर किराती, राजेश किराती, सुमन वान्तवा, भुवन किराती, रिमेश राई र आकाश राईको मुद्दा तामेलिमा राखिएको फैसला भएको हो । प्रमुख जिल्ला अधिकारी नेपालले म्याद बुझी म्याद गुजारी प्रतिवादी फरार रहेका सात जना वर्कस कार्यकर्ताको हकमा गिरफ्तार परेको मितिदेखि पाँच वर्षम्म कैद सजाय हुने फैसला सुनाएका छन् । यसरी फैसला हुनेहरुमा परिवर्तन भनिने मनिन्द्र राई, भुपेन्द्र राई, कृष्ण परियार, अम्बर लिङदेन, मिना खम्वु, रविन राई र बिनेस राई रहेका छन् ।
किरात जनवादी वर्कस पार्टीले ०६७ वैशाख २१ गते खोटाङको नुनथला प्रहरी चौकी लुटपाट गरी हातहतियार तथा वन्दोवस्तीको समान लुटेका थिए भने ०६४ माघ ७ गते खोटाङको फाक्टाङ, देविस्थान र चिसापानी प्रहरी चौकी आक्रमण गरी हतियार लुटेको अभियोगमा वर्कस कार्यकर्ताहरु विरुद्ध हातहतियार तथा खरखजना ऐन अनुसार मुद्दा चलाईएको थियो । डिएम चाम्लिङ राई