Incident Reports

सशस्त्र प्रहरीको लाठीचार्जबाट वडा सदस्यसहित गाउँलेहरू घाइते

2020-05-16

Madhes, Saptari, Balan Bihul, Ward 4

बलान बिहुल गाउँपालिका–४ का वडा सदस्य ६५ वर्षीय भागवत साह, ७० वर्षीय भोगीलाल मण्डल, ७५ वर्षीय मुगालाल साह, ६० वर्षीय सबुरलाल मण्डल, ३० वर्षीय मनिकलाल यादव, २८ वर्षीय धर्मदेव कापैर, २० वर्षीय रोशन यादव लगायतलाई सशस्त्र प्रहरीले जेठ २ गते लाठीचार्ज गरी घाइते बनाएको छ ।

बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा स्थानीय तहले बनाउन लागेको आश्रयस्थलको विरोधमा छलफल गरिरहेका वडावासीहरूलाई सशस्त्र प्रहरीले एक्कासी लाठीचार्ज गरेको वडा सदस्य साहले बताउनु भयो । घाइतेहरूको स्थानीय क्लिनकमा उपचार भएको छ ।

सशस्त्र प्रहरीका इन्स्पेक्टर दिलिप बस्नेतको नेतृत्वमा आएको टोलीले गाडीबाट ओर्लना साथ एक्कासी लाठीचार्ज गरेर लखेटेको स्थानीय हरीनारायण पासवानले बताउनु भयो । चारैतिर टोलबस्ती भएको ठाउँमा आश्रय स्थल नराखी एकान्त र खुला ठाउँसहित साधन, स्रोत, सुविधा भएको बलान बिहुल गाउँपालिका–६ सेहरा रौतहटस्थित माविमा आश्रयस्थल वा क्वारेन्टाइन बनाउनु पर्ने भन्दै वडावासीहरू छलफल गरिरहेका थिए । छलफल भइरहेकै स्थानबाट वडा अध्यक्ष हन्शु मियाँ र गाउँपालिका अध्यक्ष दयानन्द गोइतबीच फोनमा वार्ता भएको १० मिनेटमा आइपुगेको सशस्त्र प्रहरीले गाडीबाट ओर्लनासाथ कुटपिट गरेको नेपाली काँग्रेस बुथ कमिटीका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिनु भयो ।

चारैतिर घर र बीच बाटोमै रहेको विद्यालयमा क्वारेन्टाइन नराखी एकान्त स्थानमा राख्न आग्रह गरेपछि गाउँपालिका अध्यक्ष दयानन्द गोइतले राष्ट्रिय प्राथमिक विद्यालय बेल्हीमा वडा नम्बर १ का बेल्हीवासीलाई मात्र राख्ने अरू सबै वडा कार्यालयले आ–आफ्नो वडामा आश्रयस्थलको व्यवस्थापन गर्ने आश्वासन दिएपछि भारतबाट आएका अन्य वडावासीलाई दुई दिन बस्न दिइएको थियो । अध्यक्ष गोइतले प्रतिबद्धता जनाए विपरित अन्य वडामा क्वारेन्टाइनको व्यवस्थापन नगरी सबै वडावासीलाई राष्ट्रिय प्राथमिक विद्यालयमा राखेपछि वडा नम्बर ४ का बासिन्दाले विरोध जनाएको काशिन्द्र गामीले बताउनु भयो ।

भारत बिहारको लौकाहा ठाँडी र सप्तरीको बेल्ही सीमाक्षेत्रमा अलपत्र परेका २५ जनालाई गाउँपालिका अध्यक्ष गोइतलेले राति भित्र्याउने र यसै राष्ट्रिय प्राथमिक विद्यालयमा राख्ने योजना रहेको रामले बताउनु भयो ।

एउटै कोठामा १५–२० जनालाई सुताउने गरेको आश्रयस्थलमा खाना, पानी, बिजुली, सेनिटाइजर आदिको व्यवस्था नरहेको भन्दै नेकपाका अशोककुमार यादवले ठूलो सङ्ख्यामा भारतबाट नेपाल भित्रीने अवस्था आएकाले सबै वडाले अविलम्ब आ–आफ्नो वडामा व्यवस्थित आश्रयस्थल वा क्वारेन्टाइन बनाउनु पर्ने बताउनु भयो । उहाँले कुनै सूचना नदिई छलफल गरिरहेका गाउँलेहरूलाई एक्कासी लाठीचार्ज गर्नु दुखद् घटना भएको भन्दै भत्र्सना गर्नु भयो ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Blunt weapon
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations APF
Actor 1 - Youth na
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 7
Youth Injured 1
INSEC

0 Comments