Incident Reports

यातनापछि विस्थापित बालकहरु प्रहरी नियन्त्रण l

2014-02-24

Province 1, Sunsari, Itahari

Shekhar Dhakal चोरीको आरोपमा गाउँलेको यातना पाएपछि विस्थापित भएका तीन जना बालकलाई फागुन १२ गते राति प्रहरीले इनरुवा बजारबाट पुनः नियन्त्रणमा लिएको छ । चोरी गरेको आरोपमा इटहरी नपा-२ का ११, १२ र १३ वर्षीय तीन जना बालकलाई फागुन १० गते स्थानीयले एउटै बाँसमा बाँधेर आपगाछी चौकमा यातना दिएका थिए । चोकमा यातना दिएको थाहा पाएपछि प्रहरी चौकी तरहराले उनीहरुलाई उद्धार गरी इलाका प्रहरीकार्यालय इटहरीलाई त्यसै दिन बुझाएको थियो । इलाका प्रहरी कार्यालय इटहरीले फागुन ११ गते उनीहरुलाई घर पुर्‍याएको थियो । उनीहरु त्यसै दिन घर छाडेर हिँडेका थिए । यातनापीडित तीन जना र थप एकजना गरी चार जना बालकलाई मध्यरातमा सडकमा हिँड्दै गरेको अवस्थामा इनरुवा बजारबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलयका डिएसपी लक्ष्मण गिरीले बताए । उनीहरुलाई अभिभावको जिम्मा लगाइने गिरीको भनाइ छ । यातना पाएका बालकहरुले उजुरी नगरेकाले पीडितको यातना दिनेलाई कारबाही गर्न नसकिने इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विद्यानन्द माझीले बताए । फेसबुक र विभिन्न मिडियामा आएका तस्विरका आधारमा यातना दिनेको पहिचान गरी कारबाही गरिने उनको भनाइ छ । बालकहरुलाई सुधारगृह लानुपर्ने स्थानीयको माग गाउँलेहरु भने ती बालकबाट आफूहरु पीडित भएको भन्दै उनीहरुलाई सुधार गृहमा लानुपर्ने माग गरेका छन् । उनीहरुका बाबुआमाले खान नदिँदा र नहेर्दा विगत तीन वर्षेखि गाउँमा चोरेर आफूहरुलाई दुःख दिदै आएको डम्बर अधिकारीले बताए । गाउँका बारीमा लगाएका फलफूलदेखि पसलका खाद्य सामाग्रीलगायत चोरेर खाने तथा साइकल, खसिबाख्रा समेत उनीहरुले चोरेर हैरान बनाएको अधिकारीको दाबी थियो । बाबु आमाले बास्ता नगर्दा बालकहरु पढाइ छाडेर चोरी गर्न लागेको छिमेकी जानुका बुढाथोकीले बताइन् । तीनजना बालकहरुले सारा गाउँलेलाई नै दुःख दिएको शेरबहादुर दहालले बताए । उनीहरुलाई यातना दिनु छिमेकीको गल्ती भएको बताउँदै स्थानीय श्रीप्रसाद पोखरेलले बालकहरु बिग्रिएकाले समाजमा आतङ्क सिर्जना भएको बताए । उनीहरुलाई सही बाटोमा ल्याउन बालसुधार गृहमा राख्नुपर्ने उनको धारणा छ । त्यसका लागि बालबालिकासम्बन्धी काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाले उनीहलाई सुधारगृहमा बस्ने व्यवस्था मिलाउनुपर्ने स्थानीयको भनाइ छ। पीडित बालकहरुका अभिभावकहरु विपन्न वर्गका भएकोले दैनिक मजदुरी गर्दै आएका छन् ।

0 Comments