Incident Reports

विद्यालय बन्द गराएर स्कुले बालबालिकाको प्रयोग l

2014-02-14

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai एमाओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले फागुन १४ गते आयोजना गरेको जनसभाको कारण खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा अवस्थित सरस्वती उच्च माध्यमिक विद्यालय बन्द भएको छ । क्रान्तिकारीको १४ औँ जिल्ला सम्मेलनको जनसभा विद्यालय परिसरमा गरिएपछि विद्यालय बन्द भएको हो । विद्यालयमा क्रान्तिकारी विद्यार्थीले जनसभाको आयोजना गरेपछि कक्षा १ देखि १० सम्मको सम्पूर्ण पठनपाठन ठप्प भयो । बालअधिकार महासन्धिमा विद्यालय र बालबालिकालाई राजनैतिक क्रियाकलापमा संलग्न तथा प्रयोग गर्न गराउन नपाईने उल्लेख भए पनि त्यसलाई बेवास्ता गर्दै क्रान्तिकारीले सार्वजनिक स्थानहरू छाडेर विद्यालयमा सम्मेलन गरेको हो । क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हिमाल शर्माले उद्घाटन गरेको कार्यक्रम र र्‍यालीहरूमा स्कुले बालबालिकालाई झण्डा बोकाई नाराजुलुसमा सहभागी गराईएको थियो । यसबारे क्रान्तिकारीका जिल्ला संयोजक तेजकुमार श्रेष्ठ विवेकले आफूहरूले विद्यार्थीको प्रयोग गरेको भए पनि बालबालिकालाई झण्डा नबोकाएको दाबी गरेका छन् । विद्यार्थीले आयोजना गरेको कार्यक्रम भएको हुनाले सार्वजनिक स्थल छाडेर विद्यालय परिसरमा कार्यक्रम गरिएको उनको भनाई छ । राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख लोकनाथ घिमिरेले बालबालिकालाई पार्टीको झण्डा बोकाएर र्‍याली र जुलुसमा सहभागी गराउनु बाल अधिकार महासन्धि विपरीत भएको र विद्यालय बन्द गराएर कार्यक्रम गर्नु बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित गरेको प्रतिक्रिया दिए । जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईले विद्यालय बन्द गराएर विद्यार्थी बालबालिकालाई झण्डा बोकाउनु नियम विपरीत भएको भन्दै आफूले विद्यालय बन्द गराएर कार्यक्रम गराउन अनुमती नदिएको प्रतिक्रिया दिए । विद्यालय बन्द गराएर बालबालिकालाई र्‍यालीमा सहभागी गराएकोबारे आफूलाई कुनै जानकारी नभएको र कसैले त्यसबारे गुनासो गरे विद्यालय प्रशासनलाई सचेत गराईने उनको भनाई छ ।

0 Comments

Related Reports
Related Trend Analysis