Incident Reports

ज्युँदै जलाइएकी महिलाको मृत्यु l

2014-03-08

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokharel अन्तर्राष्ट्रिय महिला दिवसका दिन फागुन २४ गते दिउँसो २ बजे जलाइएकी राजविराज नपा-७ की २२ वर्षीया नजराना खातुनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फागुन २४ गते राति ११ बजे मृत्यु भएको छ । सात महिनाको गर्भवती रहेकी पीडितको शरीरको ८० प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा अञ्चल अस्पताल राजविराजमा उपचार असम्भव भएपछि तत्कालै पीडितलाई उपचारार्थ धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकको फागुन २५ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डिएसपी राजकुमार वैदवारले जानकारी दिए । आगो लगाई हत्याको प्रयास गरेको आरोपमा प्रहरीले पीडितकी सासू ४४ वर्षीया बानो खातुन र जेठानी २० वर्षीया नुरजहाँ खातुनलाई घटनास्थलबाट फागुन २४ गते नै गिरफ्तार गरेको छ । पीडितका पति गुडु अन्सारी केही दिन अघि मात्र वैदेशिक रोजगारीकका लागि सउदी अरबमा छन् भने उनको एक वर्षीया छोरी छन् । हत्याराहरूलाई हदैसम्मको सजाय माग यसैबीच महिला हिंसा विरुद्धको सञ्जाल सप्तरीसहित १२ ओटा अधिकारवादी संस्थाका महिला अधिकारकर्मीले फागुन २५ गते खातुनको हत्याका दोषीहरूलाई हदैसम्मको सजाय गर्न माग गरेका छन् । सञ्जालका अध्यक्ष पार्वती राउत, हुपेक सप्तरीका उपाध्यक्ष उमा पोखरेल, एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटा, पारालिगल समितिका अध्यक्ष ज्ञानु भट्टराई, क्रियाशील पत्रकार महिलाका अध्यक्ष अम्बिका दाहाल, माडवारी महिला मञ्चका अध्यक्ष अन्जना पेडिवाल, पुनरावेदन बार इकाई महिला केन्द्रकी संयोजक दानो चौधरी, जिल्ला बार एकाईकी सदस्य मीना देव, स्वयंसेविका सङ्घकी अध्यक्ष शारदा मुडभरी, मैथिल महिला परिषद्की अध्यक्ष सुमित्रा दास, सेफ हाउसकी संयोजक विष्णु बराल र संविधान सूचना केन्द्रकी अधिकृत मनु खनालले विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । विज्ञप्तिमा अन्तर्राष्ट्रिय महिला दिवसका दिन फागुन २४ गते सासू बानो खातुन र जेठानी नुरजहाँ खातुनले मटि्टतेल खन्याई आगो लगाएर गर्भवती खातुनको हत्या गरेको घटनाले स्तब्ध बनाएको भन्दै दोषीहरूलाई हदैसम्मको सजाय गर्न सम्बन्धित निकायसँग अनुरोध गरिएको छ । मनोहर कुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis