Incident Reports

बोक्सी भन्दै महिलामाथि कुटपिट, प्रहरीले उजुरी लिन नमानेको पीडितको आरोप

2020-06-07

Madhes, Saptari, Mahadeva, Ward 10

सप्तरी, महादेवा गाउँपालिका-४ की एक ३५ वर्षीया महिलामाथि आइतबार बोक्सी आरोप लगाउँदै छिमेकीहरूले कुटपिट गरेको पीडित पक्षले बताएको छ।

पीडितका श्रीमानले सोमबार सेतोपाटीसँग कुरा गर्दै छिमेकी आमाछोराले कुटपिट गर्दा निधारमा चोट लागेको बताए।

'घरको चुह्लो पनि भत्काइदिए,' उनले भने, 'उनीहरूले यसअघि पनि दुई-तीनपटक बोक्सी आरोप लगाएर कुटपिट गरिसकेका छन्।'

घटनाबारे स्थानीय दिमन चौकीमा उजुरी दर्ता भएको छैन। उजुरी गर्न जाँदा स्थानीय प्रहरीले लिन नमानेको र जिल्ला प्रहरी कार्यालय जानू भनेको पीडितका श्रीमानले बताएका छन्।

'चौकी जाँदा हामी तपाईंको निवेदन लिन सक्दैनौं भने। यहाँ भिडभाड नगर्नुस्, जिल्ला जानुस् भनेका थिए। त्यसैले हामी फर्कियौं,' उनले भने।

दिमन चौकीका प्रहरीले भने खबर पाउनासाथ आफूहरू घटनास्थल पुगेको, तर त्यति बेला पीडित दम्पती उपचारका लागि निस्किसकेको जनाएको छ।

'हामी पुग्दा घरमा पीडितका छोरा मात्र थिए,' नाम उल्लेख गर्न नचाहेका एक स्थानीय प्रहरीले भने, 'उपचारका लागि उहाँहरू क्लिनिक जानुभएको थियो।'

'उहाँहरूले राजविराजमा उपचार गराउँछु, जिल्ला प्रहरी कार्यालयमै उजुरी दिन्छु भन्नुभएको छ। हामीले पनि हुन्छ भनेका छौं,' ती प्रहरीले भने।

पीडितका श्रीमानले प्रहरीबाट निराश भएपछि सोमबार आफू वडाध्यक्ष जुगेश्वर साहलाई भेट्न गएको पनि बताए।

वडाध्यक्ष साहले यसको पुष्टि गर्दै भने, 'आज करिब १२-१ बजेतिर मलाई भेट्न आउनुभएको थियो। छिमेकीको छोरी बिरामी भएपछि बोक्सी आरोप लगाएर कुटपिट गरेको भन्ने कुरा आएको छ।'

यसबारे मंगलबार बिहान आठ बजे दुवै पक्ष डाकेर छलफल गर्ने उनले बताए। पीडितका श्रीमानले पनि उक्त छलफलपछि मात्र जिल्लामा उजुरी दिन जाने बताएका छन्।

'भोलि समाजमा कुरा गर्ने भनेका छन्,' उनले भने, 'त्यहाँबाट पनि भएन भने जिल्ला जान्छु।'

जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले आफूलाई यस घटनाबारे कुनै जानकारी नभएको बताए। 'अहिलेसम्म त्यस्तो कुनै जानकारी आएको छैन,' उनले भने, 'झैझगडा भयो भन्ने त सुनेको हो, तर बोक्सी आरोप लगाएकोबारे जानकारी छैन।'

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Youth Abducted 00
National/Online Media

0 Comments