Incident Reports

कथित बोक्सीको आरोपमा बृद्धामाथि कुटपिट l

2014-03-11

Madhes, Parsa, Sakhuwa Prasauni

KC Lamichhane लखनपुर गाविसकी एक महिलालाई फागुन २७ गते राती बोक्सीको आरोपमा कुटपिट गरिएको छ । लखनपुर गाविस-९ एकर्डवा टोलका जोगिन्द्र सहनीको पत्नी ६० वर्षीया छठियादेवी सहनीलाई बोक्सीको आरोपमा छिमेकीले कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते छठियादवीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज रिफर गरिएको छ । उनको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । स्थानीय विनय सहनीको छ महिनाको छोरालाई छठीयादेवीले टुना गरेर मारेको आरोपमा उनीहरूले कुटपिट गरेका थिए । विनय सहनीको छोराको भने दुई महिना अगाडि नै मृत्यु भएको थियो । कुटपिट गर्नेमा स्थानीय विनय सहनी, अजय सहनी लगायत रहेका छन् । कुटपिट घटनामा संलग्नहरू फरार छन् । प्रहरी चौकी महुवनको प्रहरी टोलीले घटनामा संलग्न रहेको आशङ्कामा दुई जनालाई घटना भएकै दिन गिरफ्तार गरेको छ । असई गजेन्द्र साहको नेतृत्वमा गएको टोलीले विनय सहनीका काका नेत्र सहनी र फुपाजू सुदामा सहनीलाई गिरफ्तार गरेको हो । गिरफ्तार दुवै जनालाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको इन्स्पेक्टर नवीन कार्कीले जानकारी दिए । आरोपितहरूले घरायसी विवादमा कुटपिट गरेको दावी गरिरहेको इन्स्पेक्टर कार्कीले बताएका छन् । पाँच छोराकी आमा छठीयादेवीको आर्थिक अवस्था कमजोर छ । २०६३ सालमा मुलुकी ऐन संशोधन गरी कसैलाई बोक्सीको आरोप लगाएको खण्डमा तीन महिनादेखि दुई वर्षसम्म जेल सजाय वा ५ हजार देखि २५ हजार रूपियाँसम्म जरीवाना वा अदालतले आवश्यक महसुश गरेको खण्डमा दुवै सजाय गर्न सक्ने व्यवस्था गरिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis