Incident Reports

मध्यपुर थिमीका होटलहरूबाट १६ जना बालश्रमिकको उद्धार l

2014-03-31

Bagmati, Bhaktapur, Madhyapur Thimi

Ramesh Prasad Timalsina जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा गएको टोलीले चैत १७ गते मध्यपुरथिमि नगरपालिकाभित्र रहेका विभिन्न होटलमा छापा मारी १६ जना बालश्रमिकको उद्धार गरेको जनाएको छ । आगामी पाँच वर्षभित्र भक्तपुरलाई बालश्रममुक्त जिल्ला बनाउने लक्ष्य लिएअनुरुप मध्यपुरथिमिका विभिन्न होटलमा अत्याधिक बालश्रमिक रहेको गुनासो आएपछि प्रशासन, महानगरीय प्रहरी वृत्त थिमी, जिल्ला बाल कल्याण समितिलगायतको टोलीले छापा मारेर बालश्रमिकको उद्धार गरेको प्रशासन कार्यालयले जनाएको हो । टोलीले मध्यपुरथिमि नगरपालिका-११ दक्षीण बाराही मार्गमा रहेको पाँचओटा होटल तथा मःमः पसलमा छापा मारेर १६ बालश्रमिकको उद्धार गरेको हो । टोलीले दक्षिण बाराही मःमः सेन्टरमा कार्यरत सिन्धुली चैनपुर-७ का प्रदीप लामा, सोही ठाउँकी उर्लिमाया तामाङ, सिन्धुपाल्चोक चौताराका वीरे तामाङ र सिन्धुपाल्चोक चौतारा-८ का बुद्ध लामाको उद्धार गरेको हो । त्यसैगरी, गुप्ता स्वीट होमबाट भक्तपुर सरस्वती खेल-९ का १४ वर्षीय ध्रुव श्रेष्ठको उद्धार गरिएको छ । एभरेष्ट मःमः पसलमा कार्यरत सिन्धुपाल्चोक बाडेगाउँ-१ का युवराज तामाङ, सोही ठाउँका १४ वर्षीय सुजन तामाङ, दोलखा बाबरे-३ का वर्ष १५ का सुसन थापा, रामेछाप मझैवा ५ का दाजुभाइ १० वर्षीय विवेक तामाङ र १३ वर्षीय विशाल तामाङको पनि उद्धार गरिएको छ । उद्धार गरिएका बालश्रमिकलाई तत्कालका लागि सरकारकै सहयोगमा सिविनद्वारा काठमाडौँ तीनथानामा सञ्चालित आपत्कालीन आश्रयस्थलमा संरक्षण दिइने सिविनका कार्यक्रम व्यवस्थापक भरत अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिए । उद्धार गरी ल्याइएका बालश्रमिकहरूलाई परामर्श दिइने, परिवारसँग सम्पर्क गरी पुनःस्थापना हुन सक्नेलाई परिवारमा पुनःस्थापना गरिने र नसक्नेका हकमा उनीहरूको चाहनाअनुसार शिक्षा र विभिन्न तालिमको व्यवस्था गरी सीपयुक्त तालिम दिइने उनले जानकारी दिए । उद्धार टोलीका संयोजक निमित्त प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले भक्तपुरलाई बालश्रममुक्त जिल्ला बनाउने अभियानअन्तर्गत चैत १७ गतेदेखि विभिन्न होटल तथा पसलमा कार्यरत बालश्रमिकको उद्धार कार्य सुरु गरिएको बताएका छन् । भक्तपुरमा होटलहरूमा बाहेक धेरै सङ्ख्यामा इटा भट्टाहरूमा बालश्रमिक रहेको बताइएको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments