Incident Reports

कुटपिट भएको चौबीस घण्टामा बालकको मृत्यु

2020-08-01

Province 1, Sunsari, Barah, Ward 1

वराहक्षेत्र–१ चतराका एक बालकमाथि कुटपिट भएको चौबीस घण्टाभित्र मृत्यु भएपछि कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै आफन्तले प्रहरीमा उजुरी दिएका छन् । चुङ्गी खेल्ने क्रममा दुई बालकबीच भएको झगडामा एक बालककी आमा निरमाया राईले ९ वर्षीय छोरो जब्सन राईलाई कुटपिट गरेको कारणले मृत्यु भएको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।

तर, उजुरी उपर कारबाही नगरेर उल्टो प्रहरी नै पीडकलाई संरक्षण गर्न लागिपरेको पीडित पक्षको आरोप छ । ‘प्रहरी कार्यालयमा किटानी उजुरी जाहेर गर्दा हामीलाई झुलाइयो, निवेदन लिनुभयो, दर्ता नभएको पाइयो, षड्यन्त्रपूर्वक झुलाइयो’ –मृतकका बडाबा प्रकाश राईले भने । उनले बालकमाथि कुटपिट गरेर बालअधिकार पनि हनन् गरेको आरोप लगाए ।

शनिबार साँझ ५ बजेतिर मृतक जब्सन र ८ वर्षीय रोनी राईबीच चुङ्गी खेल्ने क्रममा झगडा भएको प्रत्यक्षदर्शीहरू बताउँछन् । झगडा भएपछि पीडक भनिएकी निरमायाले मृतक जब्सन र आफ्नो छोरा रोनीलाई सानो सिर्कनु (छडी) ले दुई–दुई पटक हिर्काएको प्रत्यक्षदर्शी चुनु लिम्बूले बताइन् । ‘झगडा नगर भनेर घरबाटै करायो, बाहिर निक्लियो । सिर्कनुले देब्रे खुट्टामा दुई–दुई पटक कुटेको देखेँ । कुटाइ खाने भाइ घरतिर भाग्यो । आफ्नो छोरालाई आमाले कुट्दै ल्यायो’–उनले ब्लाष्टकर्मीलाई फोनवार्तामा भनिन् ।

कुटपिट भएको राति छोराले छाती दुख्यो भनेर भनेको र भोलिपल्ट उपचारको लागि हस्पिटल ल्याउँदा मृत्यु भएको मृतक जब्सनका बडाबा राईले बताए । घटना लुकाउनका लागि सबैले एकैखालको बयान दिइरहेको उनको आरोप छ । ‘घटनामा षड्यन्त्र भइरहेको छ, बच्चालाई टाउको, जिउमा कुुटपिट गरेको निलडाम देखिन्छ, राति छाती दुख्यो आमा भन्दै छोरा रोएको पनि भाइ (मृतक जब्सनका बुबा लक्ष्मण राई) ले भन्छ’ उनले भने, ‘यो वा त्यो पनि भन्दैनौं, सत्य–तथ्य के भएको हो ? त्यो बाहिर आउनुपर्छ ।’

जब्सनको मृत्यु भएपछि बुबा लक्ष्मण राईले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी लिएर गए पनि प्रहरीले उजुरी नै दर्ता नगरेको मृतक जब्सनका मामा सागर राईको भनाइ छ । ‘त्यो दिन त हाम्रो उजुरी नै लिन मानेन, भोलिपल्ट मात्रै फेरि अर्को उजुरी लेखेपछि मात्रै लिएको जस्तो गरेको छ, पीडकलाई अहिले पनि पक्राउ गरिएको छैन’ उनले भने, ‘पीडकलाई बचाउन प्रहरी पनि लागेको छ, नत्र किन पक्राउ नगरेको हो । यहाँ ज्यान गएको छ । सामान्य घटना हुँदा त प्रहरीले पक्राउ गरिहाल्छ, हाम्रो चाहिँ किन झुलाइरहेको छ ।’

यता इप्रका महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर पाण्डव राजवंशीले प्रहरीमा उजुरी आएपछि नलिने कुरै नहुने बताए । ‘प्रहरीमा उजुरी आएपछि नलिने कुरै हुँदैन, हामीले पोष्टमार्टम गर्नुपर्छ, पोष्टमार्टमको रिपोर्ट के आउँछ, अनि जाहेरी दिनुस् भनेर भनेका थियौं, उहाँहरूले गलत बुझ्नु भयो होला, भोलिपल्ट जाहेरी दिएर जानुभएको छ’–उनले मोबाइल सम्पर्कमा भने ।

पक्राउ गरिएको नगरिएको विषयमा जिज्ञासा राख्दा उनले घटनामा संलग्न निरमायालाई सोधपुछ गर्ने काम भइरहेको बताए । ‘पीडकलाई सोधपुछ गर्ने काम भइरहेको छ, घटनाको अनुसन्धान हुँदैछ’–उनले भने । पीडित पक्षले भने बालकलाई मरणासन्न हुने गरी कुटपिट भएको आरोप लगाउँदै आइरहेका छन् । तर प्रत्यक्षदर्शीहरू भने त्यो कुरालाई मान्न तयार देखिएका छैनन् ।

अर्का प्रत्यक्षदर्शी तथा रोनीका ठूलोआमा चुनमाया राई भन्छिन्, ‘त्यो घटना हुँदा म पनि नजिकै थिएँ, छोरा रोनी र जब्सनलाई नै उसको आमा (रोनीको) ले खुट्टामा दुई सिर्कनु चाहिँ हानेकै हो’–उनले पनि मोबाइल सम्पर्कमा भनिन् । अर्का प्रत्यक्षदर्शी गङ्गा साहले पनि सोही कुरा नै जिकिर गरिन् ।

‘दुई सिर्कनु हानेर बरू आफ्नो छोरालाई घोक्र्याउँदै घर लिएर आएको थियो, आफ्नो छोरालाई चाहिँ कुटो’–उनले भनिन् । बालकका बुबा लक्ष्मणलाई पटक–पटक फोन सम्पर्क गर्दा पनि फोन उठेन भने बुधबार पुनः फोन सम्पर्क गर्दा फोन स्विचअफ रहेको पाइयो । मृतक बालकलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । ल्याएको केही समयपछि नै मृत घोषित गरिएको थियो । बुधबार पोष्टमार्टम गरिएको इप्रका महेन्द्रनगरका प्रमुख इन्स्पेक्टर राजवंशीले जानकारी दिए ।

यसकारण भएको थियो बालकबीच झगडा

चतराको प्रहरी कार्यालयछेउमा बालकहरूबीच चुङ्गी खेल्ने क्रममा मृतक जब्सनले रोनीलाई दुख्ने गरी चुङ्गी फालेपछि विवाद शुरु भएको खेलमा संलग्न एक बालकको भनाइ उद्धृत गर्दै चुनु लिम्बूले बताइन् । त्यो क्रममा किन दुख्ने गरी हानिस् भनेर रोनीले जब्सनलाई भनेपछि विवाद शुरु भएको थियो । विवादपछि दुई बालकबीच सामान्य ठेलमठेल हुन थालेपछि रोनीको आमा निरमायाले देखेपछि किन झगडा गर्छौ भन्दै दुई–दुई सिर्कनु हिर्काएको लिम्बूले बताइन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments