Incident Reports

स्थानीय र प्रहरीको यातनाका कारण साविति बयान दिनुपरेको आरोप l

2014-04-19

Province 1, Okhaldhunga, Champadevi

Shiva Prasad Dhungana ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएका पलापु गाविस-८ का चित्रबहादुर माझी, उनका छोराहरू कमल माझी र सुरेन्द्र माझीले स्थानीय महिला र प्रहरीको यातनाले हत्याको अभियोग स्वीकार गरेको बताएका छन् । उनीहरूलाई सोही ठाउँका ज्ञानबहादुर माझीलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो । पहिलो पटक गिरफ्तार पर्दा उनीहरूलाई प्रमाण नपुगेको भन्दै सरकारी वकिल कार्यालयले पुस २९ प्रहरीलाई पठाएपछि तारेखमा छुटेका थिए । स्थानीय महिलाहरूले माघ २९ गते समाज बसेको समयमा बोलाई यातना दिएर मारेको स्वीकार गर्न लगाएको आरोप उनीहरुले लगाएका छन् । स्थानीयहरू तिलकबहादुर घिमिरे र पेशल मगरको निर्देशनमा आफुहरूलाई कुटपिट गरी सलले बाँधेर घिँसारेको पीडित सुरेन्द्र माझीले बताए । महिलाहरूको यातना सहन नसकेर मारेका स्वीकार गर्न बाध्य भएको इन्सेक प्रतिनिधिसँगको कुराकानीमा माझीले बताए । स्थानीय महिलाहरू गोमा माझी, चण्डीका माझी, विनिता माझी, रमा माझी, हिरामाया माझी, चिनी माझी लगायतले मारेको स्वीकार नगरे मार्ने धम्की दिँदै कुटपिट गरेको पीडित चित्रबहादुर माझीले जानकारी दिए । कुटपीटबाट उनको देव्र हातमा चोट लागेको छ भने छोरा सुरेन्द्रको देव्रेपटि्ट पिठ्यूमा गहिरो चोट लागेको छ । यातना सहन नसकेर मारेको हो भन्ने बयान गरेपछि त्यही आवाज रेकर्ड गरी हर्कपुर प्रहरी चौकीमा आफूहरूलाई बुझाएको उनले बताए । प्रहरी चौकीका तत्कालीन प्रमुख मुकुन्द उपाध्यायले सोही आधारमा मारेको हो कि होइन बयान गराउँदा पुनः यातना दिएको उनीहरूको आरोप छ । 'अघि स्वीकारिस् अहिले ढाँट्छस् भन्दै करेन्ट लाउने, उमालेको पानीमा चोबल्ने भन्दै राती १० बजेसम्म यातना दिए'-यातना पीडित कमल माझीले भने । हत्या गरिएको भनिएका माझी चैत ३० गते घर फर्किएपछि उनलाई प्रहरीले गिरफ्तार गरी बयान हिरासत मुक्त गरेको छ । मरेको भनिएका व्यक्ति जिउँदै आएपछि जिल्ला अदालत ओखलढुङ्गाले जाहेरीकर्ताको बयान र भेटिएका व्यक्तिको नागरिकता प्रमाण पत्र तथा स्वयम् उपस्थिति भएको आधारमा पुर्पक्षका लागि कारागारमा रहेका चित्रबहादुर, कमल र सुरेन्द्रलाई वैशाख ३ गते तारेखमा छोडेको छ । सो घटनामा अपहरण र हत्याको नाटकीय योजना बनाएको आरोपमा त्रिवेणी प्रावी पलापुका शिक्षक हरि भण्डारी र जाहेरीकर्ता भूपाल माझीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ । यसैगरी यस घटनामा प्रहरी प्रधान कार्यालय र अञ्चल कार्यालयले छुट्टाछुट्टै अनुसन्धान टोली पठाएर अनुसन्धान गरिरहेको छ । प्रहरीले यातना दिएको विषयमा उक्त मुद्दाका अनुसन्धान अधिकृत भगरिथ रेग्मीले यातना नदिएको दावी गरे । हर्कपुर चौकीमा कुटपिट गरेको भन्ने सूचना आए पनि यातना नदिन निर्देशन दिइएको रेग्मीले बताए । चौकी इर्ञ्चाजले कुटेको कुरा आएकाले सो सम्बन्धमा छानबिन हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले बताए । शिवप्रसाद ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis