Incident Reports

कोरोना संक्रमितको घरमा छिमेकीको ताला !थिमिका ३२ संक्रमित होम आइसोलेसनमा

2020-08-18

Bagmati, Bhaktapur, Madhyapur Thimi

१ भदौ, भक्तपुर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढेको भन्दै स्थानीय जनप्रतिनिधिले मध्यपुर थिमि नगरपालिका सिल गरेका छन् । सडकमा फाट्टफुट्ट निजी र सार्वजनिक गाडी गुडे पनि घरका ढोका र पसलका सटरहरू बन्द देखिन्छन् । नगरपालिकाले आइतबार बिहानबाट ग्यास, खाद्यान्न र औषधिका पसलहरू समेत बिहान ११ देखि १ बजेसम्म खोल्न भनेको छ ।

नगरको निर्णयका कारण सर्वसाधारण मात्र होइन, कोरोना संक्रमण पुष्टि भएकाहरू पनि आफ्नै घरमा ‘लक’ भएका छन् । नगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत भागिरथ अधिकारीका अनुसार अहिले चार जना संक्रमित अस्पतालमा छन् भने ३२ जना होम आइसोलेसनमा बस्न बाध्य छन् ।

तर होम आइसोलेसनमा बस्न सहज छैन । उनीहरूमाथि सहयोगी बन्नुपर्ने छिमेकी नै खनिएका छन् । त्यसको उदाहरण हो, वडा नम्बर ५ मा पर्ने भुँलांखेल ।

भुँलांखेलकी ३७ वर्षीया एक महिलालाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भयो । आइतबार बिहान नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी र प्रहरीको टिम संक्रमितको घरमा पुग्यो । उनीहरूले संक्रमित र परिवारका सदस्यलाई काउन्सिलिङ गरे । लक्षण नभएकाले होम आइसोलेसनमा बस्न सुझाए ।

संक्रमित परिवार र नगरको टोलीबीच कुराकानी भइरहेका बेला छिमेकीहरू भेला भए । उनीहरू कराउन थाले, ‘संक्रमितको घरमा बाहिरबाट ताल्चा लगाउनुपर्छ ।’ भागिरथ भन्छन्, ‘अघिल्लो दिन नै स्थानीयले संक्रमितको घरमा ताला लगाएका रहेछन् । खोइ के सोचेर हो, केही समयपछि उनीहरू आफैंले खोलिदिएछन् ।’

आइतबार प्रहरी र नगरपालिकाको टोलीसामू उनीहरूले त्यही माग राखे, घर सिल गरेर मात्र पुग्दैन, ताला लगाउनुपर्छ । नगरका प्रतिनिधिहरूले ताला लगाएर समस्या समाधान नुहुने भन्दै सम्झाए ।

तर उनीहरू संक्रमितको घरमा डोरी टाँगेर सिल गर्नुपर्छ भन्दै आफैँ कस्सिए । धन्न, प्रहरीले रोक्यो । ‘संक्रमित बढेपछि मानिसहरू आतंकित बनेर कतिपयले अविवेकी व्यवहार पनि देखाउन थालेका छन्’, भागिरथ भन्छन्, ‘यस्तो गतिविधिले संक्रमित र उसको परिवारलाई गम्भीर मानसिक आघात पुर्‍याइरहेको छ ।’

तर कोरोना संक्रमित भएकै कारण हुने गाउँसमाजबाट हुने भने दुव्यर्वहार रोकिएको छैन । वडा नम्बर ५ कै खहखा बजारमा त्यस्तै देखियो ।

प्रहरी कार्यालयकै अगाडि तुलसीराम श्रेष्ठको घर डोरी टाँगेर सिल गरिएको छ । आफ्नै घरको ढोका खोल्न पनि १० पटक सोच्नुपर्ने अवस्था रहेको तुलसीराम बताउँछन् । उनका अनुसार सुरुमा कार्यालयका तीन प्रहरीमा कोरोना संक्रमण देखियो । तुलसीरामको परिवारका ८ जनाले पीसीआर परीक्षणका लागि स्वाब दिए । त्यसक्रममा तुलसीरामकी श्रीमती, आमा र छोरामा संक्रमण देखियो ।

मंगलबार साँझ रिपोर्ट आयो । बुधबार दिउँसो नगरपालिकाको टोली घरमा पुग्यो अस्पतालमा आइसोलेसन बेड नभएको थाहा पाएपछि होम आइसोलेनमा बस्नुको विकल्प रहेन । ‘संक्रमितलाई छुट्टै राखिएको छ, उनीहरूले प्रयोग गर्ने धारा ट्वाइलेट पनि छुट्टै छ’ उनले भने ।

तर उनको घरमा डोरी बाँधेर सिल गरिएको छ । तुलसीराम भन्छन्, ‘त्यसपछि हामी घरबाट बाहिर निस्किएका छैनौं । खाद्यान्न लिनुपर्‍यो भने ढोकानिर ल्याएर राखिदिन भन्छौं ।’

तुलसीरामको घर छेउका लक्षुमान खत्रीले आफूहरू घरबाहिर निस्कन छाडेको बताए । ‘हामीले पाँच घरका ३५ जनाको नाम पठाएर पीसीआर गर्न नगरपालिकालाई आग्रह गरेका छौं’, उनले भने, ‘अहिलेसम्म भएको छैन ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Prejudice and Discrimination
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports