Incident Reports

श्रीमतीको घाँटी थिचेर हत्या गरेको स्वीकार

2020-08-29

Lumbini, Pyuthan, Gaumukhi, Ward 7

बुटवल । गत महिना प्युठानको झिम्रुक खोलामा मृत फेला परेकी एक महिलालाई श्रीमानले हत्या गरेर फालेको खुलासा भएको छ । गत साउन १७ गते झिम्रुक खोलाको बगरमा मृत फेला परेकी गौमुखी गाउँपालिका वडा नम्वर ७ नारीकोटकी २६ वर्षीया माया विकलाई उनकै श्रीमान हरिबहादुर विकले घाँटी निमोठेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका  हुन् ।

उनले सुरुमा साउन १४ गते राती हत्या गरि बाँस रोप्न खनेको खाल्डोमा लगेर पुरेको बताउँदै पछि आफ्ना बाबु र छिमेकीको सहयोगमा शव बोकेर  झिम्रुक खोलामा लगेर फालेको निजले स्वीकार गरेको प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

अभियुक्तलाई पूर्पक्षका लागि अदालतले कारागार चलान गरेको र  शव खोलामा लगेर फाल्न सघाउने अभियुक्तका बाबु र छिमेकीलाई धरौटीमा छाड्ने आदेश भएपनि धरौटी बुझाउन नसकेर कारागारमै रहेको डिएसपी कार्कीले बताए । अभियुक्तका बाबु पुड्के कामीलाई डेढ लाख धरौटी  र छिमेकी महेन्द्र सावतलाई १ लाख धरौटीमा छाड्ने अदालतको आदेश रहेको मृतक माया विकका दाजु कृष्णबहादुर सुनारले बताए । ती दम्पत्तीबीच साउन १० गते राती झगडा भएको थियो । श्रीमानले ज्यान मार्न सक्ने डरले माया नारीकोटकी अगुवा महिला मधु जिसीकहाँ घाँटीमा निलडाम लिएर पुगेको समेत खुलेको छ ।

सोही दिन मधुको सल्लाहमा उनी स्थानीय ईलाका प्रहरी कार्यालयमा उजुरी दिन पुगेकी थिइन् । त्यसबेला उनका श्रीमान हरिबहादुरलाई प्रहरीले बोलाएर मिलापत्र गराएको थियो । त्यसको रिस साँधेका   हरिबहादुरले श्रीमतीले कानमा लगाएका सुनका झुम्का माग्दै निहुँ खोज्दै आएको मृतकका दाजु सुनारले बताए ।

घटनाबारे डिएसपी कार्की भन्छन्– ‘घरमा सामान्य विवाद चलेलगत्तै श्रीमतीले दाउराले हानेपछि आफुले घाँटी थिचेर हत्या गरि खाल्डोमा लगेर गाडेको र पछि झिम्रुक खोलामा लगेर फालेको निजले स्वीकार गरेको छ ।’ माया विकको माईती घर सोही गाउँपालिका वडा नम्वर ४ खुङ हो । उनीहरुबीच ६ वर्षअघि प्रेमविवाह भएको थियो । उनीहरुकी ५ वर्षकी छोरी छन् । गत ३ वर्षयता उनीहरुको सम्वन्ध बिग्रेको थियो । त्यसयता हरिबहादुरले श्रीमतीलाई कुटपिट समेत गर्दै आएको जनाइएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments