Incident Reports

आफ्नै घरमा वीभत्स हत्या गरिएको अवस्थामा वृद्धवृद्धाको शव फेला

2020-09-01

Province 1, Khotang, Jantedhunga, Ward 4

खोटाङ : जन्तेढुङ्गा गाउँपालिका-४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ। जंगल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमायाको शव उनीहरुको आफ्नै घरमा फेला परेको हो।

दाजु-बहिनीको मृत्यु भएको जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घटनास्थल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए। घटनास्थल छिमेकी जिल्ला भोजपुरको सिमानामा पर्छ।

घटनाको प्रकृति हेर्दा तीन/चार दिन अगाडि हत्या भएको अनुमान गरिएको घटनास्थल पुगेका प्रनाउ चिमरियाले बताए।

‘यही भदौ १७ गते दिउँसो साढे ४ बजेसम्म उनीहरु काम गरिरहेको आफन्तले देखेका रहेछन्’, उनले भने, ‘अहिले अनुसन्धान जारी छ, विस्तृत जानकारी अनुसन्धानपछि प्राप्त हुन्छ।’

घटनास्थलमा फोन सम्पर्क नहुने भएकाले विस्तृत जानकारी प्राप्त गर्न कठिन भएको प्रजिअ पौडेलले जानकारी दिए। घटनास्थल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब ३० कोस टाढा छ। एकान्तमा घर भएका उनीहरुको हत्या लुटपाट गर्ने समूहले गरेको हुन सक्ने अनुमान गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए।

‘अविवाहित दाजु इन्द्रबहादुर शारीरिक अपाङ्गसमेत रहेकाले उहाँको हेरचाह गर्न बहिनी गोपीमाया केही समय अगाडिदेखि माइतीघरमै बस्नुभएको रहेछ’, उनले भने, ‘उदयपुरको रामपुर घर भएकी गोपीमाया खानदानी परिवारका रहेकाले सम्पत्तिको लोभमा उनीहरुको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।’

स्थानीय हाटबजारमा किराना सामानको व्यापार गर्दै आएका इन्द्रबहादुरको घरमा अहिले पनि किराना पसल रहेको जनाइएको छ। दाजुबहिनीको शव परीक्षणका लागि उदयपुरको गाईघाट पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।

पैसा सापटी माग्दा नदिएपछि दाजुबहिनीको हत्या भएको खुलासा

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका दुई वृद्धवृद्धाको विभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका एक अभियुक्तलाई सार्वजनिक गरेको छ । जङ्गल नजिकै एकान्तमा घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका ३३ वर्षीय दुर्गा भनेर चिनिने दुर्गाबहादुर राईलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

श्रेष्ठ दाजुबहिनीको हत्या भएको तीन दिनपछि स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई जानकारी दिएको आधारमा खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको टोलीले अभियुक्त राईलाई भदौ २० गते पक्राउ गरेको थियो । घटनालगत्तै भागेर सोही गाउँपालिका–२ बोपुङ पुगेको अवस्थामा पक्राउ परेका राईलाई भदौ २१ गते जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएलगत्तै कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको थियो ।

पक्राउ परेका राईले पैसा सापटी माग्दा नदिएको झोकमा आफूले श्रेष्ठ दाजुबहिनीलाई खुकुरी प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रनाउ चिमोरियाले बताए ।

आफ्नै घरबाट खुकुरी बोकेर गएका अभियुक्त राईले दाजु ईन्द्रबहादुरलाई खुकुरी प्रहार गरेर हत्या गरेपछि प्रतिकारमा उत्रिएकी बहिनी गोपीमायालाई समेत खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ ।

मृतक दाजुबहिनीको घर एकान्तमा भएकाले घटनाको बारेमा तीन दिनपछि मात्र जानकारी पाइएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए । अविवाहित रहेका दाजु इन्द्रबहादुर शारीरिक अपाङ्गसमेत रहेकाले उनको हेरचाह गर्न बहिनी गोपीमाया केही समयदेखि माइती घरमै बसेकी थिइन् ।




Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 1
National/Online Media

0 Comments