Incident Reports

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2020-09-23

Province 1, Morang, Biratnagar

१७ वर्षीया बालिकालाई बेचबिखनका लागि भारततर्फ लगेको आरोपमा प्रहरीले तीन जनालाई असोज ५ गते गिरफ्तार गरेको छ ।

बालिकालाई जोगवनी नाकाबाट भारततर्फ लैजान खोजेको आरोपमा प्रहरीले सप्तरी, विष्णुपुर गाँउपालिका–५ का २८ वर्षीय सुमितकुमार मण्डल, तिलाठीकोइलाडी गाँउपालिका–१ का २० वर्षीय प्रदीपकुमार मण्डल र मोरङ, लेटाङ नगरपालिका–३ घर भई सुनसरी, रामधुनी नगरपालिका–५ झुम्कामा डेरा गरेर बस्ने २२ वर्षीया मनिका ढकाललाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितहरूले १७ वर्षीया बालिकालाई नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१७ इश्लामपुरको बाटो हुँदै भारत लैजान खोजेको प्रहरीले जनाएको छ । किशोरीलाई साना हातहरू नामक संस्थाको सहयोगमा सीमा क्षेत्रबाट उद्दार गरेको एसपी खड्काले बताउनु भयो ।

जोगवनी हुँदै गाडीमा राखेर फारविसगञ्ज लैजान खोजेपछि त्रसित बालिकाले गाडीबाट फाल हानेर भागेको पाइएको साना हातहरूका मोरङ संयोजक विवश श्रेष्ठले बताउनु भयो ।

प्रहरीका अनुसार सुमितका भिनाजु रन्द्धीर मण्डल भारतको सहर्षा जिल्लाको झिट्कियामा बसेर निर्माण सम्बन्धी ठेक्का पट्टाको काम गर्ने गरेको खुलेको छ । भिनाजु र उनका भाई वीरेन्द्र मण्डलसँग सम्पर्क गरेर सुमितले किशोरीलाई भारत पुर्‍याउन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सुमित र उनका भिनाजुबीच बालिका उपलब्ध गराउने विषयलाई लिएर १२ लाख रुपियाँको ‘डिल’ भएको खुलेको छ । प्रहरी स्रोतका अनुसार बालिका लगिदिए वापत १२ लाख रुपियाँ भिनाजु र उनका भाईले सुमितलाई उपलब्ध गराउने सर्त रहेको थियो ।

गिरफ्तारीमा परेका तीनै जनाविरूद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा चलाउन असोज ६ गते म्याद थप गरेर घटनाको अनुसन्धान सुरू गरिएको एसपी खड्काले बताउनुभयो ।

नेत्रप्रसाद अधिकारी

0 Comments