Incident Reports

नगरकोट सडक बनाउन माग गर्दै प्रदर्शन

2020-11-11

Bagmati, Bhaktapur, Changunarayan, Ward 7

भक्तपुर — नगरकोटको मुख्य सडक विस्तारका नाममा ठेकेदार कम्पनीले अलपत्र छोडेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । सडक विस्तारको ठेक्का लिएको शैलुङ कन्स्ट्रक्सन प्रालि र आरामाली–इन्फ्रा पावर लिमिटेड (एआईपीएल) जेभीको लापरबाहीका कारण सडक थप जीर्ण बनेको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

स्थानीयले बुधबार खरिपाटीस्थित श्रीकृष्ण माविको भवन शिलान्यास कार्यक्रममा पुगेका वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेल, चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र, ठेकेदार कम्पनीका प्रतिनिधि सुदन गौलीलगायतलाई रोकेर विरोध प्रदर्शन गरेका छन् । दुई साताअघि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा नगरकोट सडक विस्तार ढिलाइको सम्बन्धमा नगरप्रमुख मिश्र, चाँगुनारायण–६ का वडाध्यक्ष सन्तबहादुर वाइबा, ७ का वडाध्यक्ष ज्ञानबहादुर केसी, स्थानीय, ठेकेदार कम्पनीका प्रतिनिधिलगायतबीच छलफल भएको थियो । बैठकमा स्थानीय र जनप्रतिनिधिले ठेक्का रद्द गर्न माग गरेका थिए ।

स्थानीयले विरोध गरे पनि सडक विभागले भने वर्षौंदेखि निर्माणको नाममा सडक अलपत्र छाड्ने ठेकेदार कम्पनीको म्याद थपेको थप्यै छ । विभागले ठेकेदार कम्पनीलाई कुल लागतको १० प्रतिशत हर्जना तिराएर पाँचौं पटक म्याद थप गरेको छ । ठेकेदार कम्पनी हर्जना तिर्न तयार भएपछि आगामी पुस १५ मा काम सक्ने गरी म्याद थपिएको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए । चौथो पटक थपिएको म्याद नसकिँदै विभागले २०७६ चैत ११ मा पाँचांैपल्ट म्याद थप गरेको हो । यसअघिको म्यादमा २०७७ वैशाखमा काम सम्पन्न गरिसक्नुपर्ने थियो ।

‘एक्जिम बैंक इन्डिया’ को ऋण सहयोगमा शैलुङ र एआईपीएल जेभीले ०७३ कात्तिक ४ मा काम सक्ने गरी ०७१ जेठ २२ मा सडक विस्तारको सम्झौता गरेका थिए । पटकपटक म्याद थपिए पनि करिब ७० प्रतिशत मात्रै काम सकिएको छ । १६ किलोमिटरमध्ये कमलविनायक–सुविधानगरसम्मको करिब ४ किलोमिटर सडकमा कालोपत्र गरिएको छ । काम ढिला गरिँदा लागत झन्डै ६ करोड रुपैयाँ बढेको छ । सुरुको सम्झौतामा २७ करोड ९० लाखमा काम सक्ने भनिए पनि हाल अनुमानित लागत बढाएर ३४ करोड रुपैयाँ कायम गरिएको छ । १७ करोड ३१ लाख रुपैयाँ भुक्तानी भइसकेको आयोजना प्रमुख प्रजापतिले बताए ।

सडक विस्तार कार्य अलपत्र पारेपछि नगरकोटवासीले गतवर्ष शैलुङ कन्स्ट्रक्सनका अध्यक्ष शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए । गतवर्ष साउनमै प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले अनुगमन गरी तत्काल काम गर्न निर्देशन दिएको थियो । गत पुसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले सडकको अनुगमन गरेर काम छिटो सक्न ताकेता गरेका थिए । तर, निर्माण कम्पनीले हालसम्म पनि आलटाल गर्दै आएको छ ।

शैलुङ कन्स्ट्रक्सन प्रालिका साइड इन्चार्ज प्रकाश लामिछानेका अनुसार पर्खाल, नाली, कटिङलगायत संरचनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । सडक विस्तारका लागि अवरोध छैन । कालोपत्र गर्ने बेलामा लकडाउन भएको र पछि खुकुलो हुँदा वर्षा सुरु भएकाले काममा ढिलाइ भएको उनले बताए । स्थानीय भने जिम्मेवार निकायलाई गुहार्दा पनि राजनीतिक संरक्षणका कारण ठेकेदारलाई कारबाही हुन नसकेको बताउँछन् । ‘सडककै कारण वर्षौंदेखि पर्यटन व्यवसाय धराशायी बन्दै आएको छ, दुर्घटनाको जोखिम मोल्दै यात्रा गर्न बाध्य छौं,’ स्थानीय एवं भक्तपुर नगरकोट सडक निर्माण दबाब संघर्ष समिति संयोजक राजकुमार लामिछानेले भने, ‘राजनीतिक संरक्षणमा ठेकेदारले नगरकोट सडकलाई थप जीर्ण बनाएको छ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments