Incident Reports

८५ वर्षीया वृद्धामाथि पनि घरेलु हिंसा

2020-11-25

Madhes, Siraha, Nawarajpur, Ward 3

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहँदा ८५ वर्षीया वृद्धामाथि पनि हिंसा भइरहेको पाइएको छ । सिराहाको नवराजपुर गाउँपालिका– ३ मझौरा गाउँकी ८५ वर्षीया श्रीवती यादवले छोरा र बुहारीले दुःख दिएको बताएकी छिन् । 

सिराहाको नवराजपुर गाउँपालिका–४ सोनवर्र्षास्थित जनता माविमा बुधबार आयोजित कार्यक्रममा आएकी श्रीवतीले आफूलाई छोरा र बुहारीले कुटपिट गर्दै आएको सुनाइन् । ‘बेटा पुतहु घरमे बड मारैछै, खाइला नइदैछै,’ (छोरा–बुहारीले घरमा धेरै कुट्छन्, खानसमेत दिँदैनन्) उनले भनिन् । 

३५ वर्षको उमेरमै पति बद्री यादवको मृत्यु भएपछि उनले नै दुई छोरा र दुई छोरीलाई हुर्काएकी थिइन् । अहिले चारै छोराछोरी बिहे गरेर आ–आफ्नो घरपरिवार सम्हालिरहेका छन् । तर, छोराहरू रामप्रित र रामसेवकले दुःख दिँदै आएको उनले पीडा सुनाइन् । ‘पुख्र्यौली सम्पत्ति अंशबन्डा भएपछि छोराबुहारीले कुटपिट गर्दै आएका छन्,’ उनले भनिन् । 

उनका छिमेकी पनि छोराबुहारीले अपहेलना गर्दै आएको बताउँछन् । ‘छोराहरूलाई सम्झाए उल्टै आफ्नै घरमा लगेर राख्दा भइगो नि भन्दै झगडा गर्छन्,’ एक छिमेकीले भने, ‘माया लागेर एकाध दिन त खाना दिन्छौँ, सधैँ नसकिने रहेछ ।’ छोराहरूले नागरिकता पनि नबनाएको उनले बताइन् । पुख्र्यौली सम्पत्तिमा अंश दिनुपर्छ भनेर नागरिकता नबनाएको श्रीवतीले सुनाइन् । नागरिकता नहुँदा उनले ज्येष्ठ नागरिक भत्तासमेत पाउने गरेकी छैनन् । 

वृद्धाले पीडा सुनाएपछि अधिकारकर्मी र पत्रकार उनको घरमै पुगेका थिए । उनकी कान्छी बुहारी आशादेवीले दुःख नदिएको प्रतिक्रिया दिइन् । नागरिकता नबनाउनुको कारण सोध्दा आशादेवीले भनिन्, ‘छोरीलाई आफ्नो अंशको जग्गा दिन्छन् कि भन्ने लागेर नागरिकता नबनाएका हौँ ।’ 

त्यस्तै, लहान नगरपालिका– १२ भोटिया टोलकी २० वर्षीया लक्ष्मी दासले पनि यस्तै पीडा सुनाइन् । गत वर्ष २२ वर्षीय मणिलाल साहसँग प्रेमविवाह गरेकी उनले सासू–ससुरा र परिवारजनले कुटपिट गर्दै आएको बताइन् । उनले हालेको मानोचामलको मुद्दामा अदालतले संरक्षणात्मक आदेश दिएपछि पनि कुटपिट गरेको उनले बताइन् । स्थानीय महिला अधिकार मञ्चको सहयोगमा प्रहरीलाई खबर गरेपछि मात्रै अहिले बस्न दिएको लक्ष्मीले बताइन् । ‘अदालतबाट मुद्दा फैसला नहुँदासम्म एउटा कोठामा बस्न दिने र खानेकुरा दिने सहमति भएको छ, तैपनि दुव्र्यवहार गर्न छोडेका छैनन्,’ उनले भनिन् । 

किशोरीदेखि वृद्धासम्म घरेलु हिंसामा पर्दै आएका छन् । यस क्षेत्रमा क्रियाशील संघसंस्थाका अनुसार घरेलु हिंसासँगै बलात्कार, यौन दुव्र्यवहार, कुटपिटजस्ता घटनामा सबैभन्दा धेरै आफन्त, नजिकको चिनजान, छिमेकीबाट हुने गरेको देखाएको छ । लहानस्थित महिला पुनस्र्थापना केन्द्रका अनुसार गत वर्षको १६ पुसदेखि यो सालको ७ मंसिरसम्म कुटपिट, गालीगलौज, घर निकाला, खान–लाउन नदिएको, नागरिकता, विवाह दर्तासम्बन्धी एक सय ६ वटा घरेलु हिंसाका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाको तथ्यांकअनुसार साउनदेखि ९ मंसिरसम्म एक सय ७१ वटा घरेलु हिंसाका घटना भएका छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments