Incident Reports

पर्स चोरी आरोपमा बाँधेर सिस्नु लगाइयो

2021-01-05

Bagmati, Bhaktapur, Bhaktapur, Ward 7

भक्तपुर — भक्तपुरको हनुमानघाटमा पर्स चोरीको आरोपमा एक महिलालाई स्थानीयले पाटी (फल्चा) को खम्बामा बाँधेर सिस्नु लगाएर यातना दिएका छन् । मंगलबार बिहान आफन्तको मृत्यु संस्कारमा हनुमानघाट पुगेका भक्तपुर नगरपालिका–७ का एलिस कुस्माको पर्स हरायो । पर्स चोरीको आरोपमा स्थानीयले सपना बानुलाई बाँधेर सिस्नु लगाएर यातना दिएका हुन् ।

बानु सोही ठाउँकै जामे मस्जिद नजिकैको जस्ताको टहरामा बस्छिन् । ‘टहराबाट शीत चुहिएर कोठा चिसो हुन्छ, घाम ताप्न पाटीतिर टहल्छु,’ पीडित बानुले भनिन्, ‘मंगलबार बिहान खाना पकाएर घाम ताप्न पाटी पुगेको थिएँ, पाटीमा फोहोर देखेपछि सफा पनि गरें ।’ केहीबेर त्यहीं बसेकी बानु टहरामा आएर खाना खाएर सुतिन् ।

बानुलाई पाटीमा बसेको देखेका स्थानीयले टहरामै आएर पुन: त्यहीं लगे । ‘मैले चोरेको होइन भन्दा पनि पत्याएनन्,’ बुधबार टहरामै भेटिएकी उनले भनिन्, ‘मेरै ओढ्ने र डोरीले पाटीको फल्चामा बाँधेर सिस्नु लगाए । पर्स हराउने व्यक्तिले त आरोप मात्र लगाएका हुन्, बाँकी ६/७ जना महिलाले कुटे र हातपात गरे ।’ बानुलाई बाँधेर यातना दिएको हेर्न नसकेर उनका पति अब्दुल रहिम त्यहाँबाट निस्किए । ‘उनलाई बाँधेर सिस्नु लगाएको हेर्न सकिनँ, फर्किएँ,’ रहिमले भने, ‘हनुमानघाटमा जम्मा भएको भीडलाई जवाफ दिन सक्ने अवस्था नै थिएन ।’ पाटीको खम्बामा बाँधेको झन्डै आधा घण्टापछि प्रहरी आएर दुवै पक्षलाई महानगरीय प्रहरी वृत्त जगाती पुर्‍याएको उनले बताए ।

आफू निर्दोष रहेको र आफ्नो कुरा सुन्ने कोही नभएको बानुले सुनाइन् । ‘हाम्रो बोली सुन्ने कोही छैन, त्यसैले अनाहकमा चोरीको आरोपमा बाँधेर कुटे,’ उनले भनिन् ।

महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी राजेश थापाले घटनाबारे खबर पाउनासाथ प्रहरी घटनास्थल पुगेर दुवै पक्षलाई कार्यालय ल्याएर अनुसन्धान थालेको बताए । ‘पीडित महिलाले चोरेको हो भन्ने प्रमाण फेला परेन र सोधपुछ गरेर फिर्ता पठायौं,’ उनले भने ।


Update

पर्स चोरी आरोपमा महिलालाई बाँधेर यातना दिने दुई जना पक्राउ 

भक्तपुर — पर्स चोरीको आरोपमा बाँधेर यातना दिने दुई जना महिलालाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।

महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी राजेश थापाका अनुसार भक्तपुर नगरपालिका–७ हनुमानघाटकी ४० वर्षीया कृष्णलक्ष्मी कारन्जित र सुनसरी धरान उपमहानगर–१५ घरभई भेलुखेल बस्ने ५२ वर्षीया नानु विकलाई शुक्रबार पक्राउ गरेर आइतबार अभद्र व्यवहारअन्तर्गत म्याद थप गरेको हो ।

पुस २१ भक्तपुर नगरको हनुमानघाटमा पर्स चोरीको आरोपमा स्थानीय सपना बानुलाई पाटी (फल्चा) को खम्बामा बाँधेर सिस्नु लगाई यातना दिइएको थियो । आफन्तको मृत्यु संस्कारमा हनुमानघाट पुगेका भक्तपुर नगरपालिका–७ का एलिस कुस्माको हराएको पर्स चोरीको आरोपमा बानुलाई बाँधेर सिस्नु लगाई यातना दिइएको थियो । यातनामा संलग्न थप व्यक्तिहरुको खोजी भइरहेको डीएसपी थापाले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Other
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports