Incident Reports

स्कुल बसको ठक्करबाट शिक्षिकाको मृत्यु, भौँसाबारी तनावग्रस्त, प्रहरीको गाडी र शववाहन तोडफोड

2021-01-08

Province 1, Morang, Kanepokhari, Ward 5

विराटनगर / स्कुल बसको ठक्करबाट शिक्षिकाको मृत्यु भएपछि मोरङको कानेपोखरी गाउँपालिका–५ भौँसाबारी शुक्रबार राति पाँच घण्टासम्म तनावग्रस्त बन्यो ।

मृतकको शव सडकमा राखेर आगो बाल्दै स्थानीय विरोध प्रदर्शनमा उत्रिएपछि अवस्था निकैबेर असामान्य बनेको हो । आन्दोलनमा उत्रिएको समूहले ढुङ्गामूढा गर्नुका साथै प्रहरीको गाडी र शववाहन पनि तोडफोड गरेका थिए । ठूलो सङ्ख्यामा परिचालित प्रहरीलाई स्थिति सामान्य बनाउन गाह्रो परेको थियो ।

कानेपोखरी–६ स्थित बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको बसले कानेपोखरी–रङ्गेली सडक खण्डमा को ८ प ७३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय पथरीका डिएससपी दिलिप गिरीका अनुसार दुर्घटनामा मोटरसाइकलपछाडि सवार रङ्गेली नगरपालिका–९ बेलचोककी ४० वर्षीया दीपा भट्टराई (नेपाल) को घटनास्थलमै मृत्यु भएको छ ।

दीपा रङ्गेली–९ स्थित बालज्योति बोर्डिङ स्कुलकी संस्थापक एवम् सहायक प्रिन्सिपल हुन् । उनका पति विद्या नेपाल, ६ वर्षीय छोरा र १४ वर्षीया छोरी छन् । साना किसान सहकारी संस्था दर्बेसाकी अध्यक्षसमेत रहेकी उनी सहकारीकै कार्यक्रममा बेलबारी पुगेर घर फर्कदै गर्दा दुर्घटनामा परेको देवर सन्तोषप्रसाद नेपालले बताए ।

मृतक महिला चढेको मोटरसाइकल उनकै भाइ नाताका विकल भट्टराईले चलाएका थिए । दिउँसो साढे चार बजेतिर भएको दुर्घटनामा परेर विकल पनि सामान्य घाइते भएका छन् । घटना भएका बेला मोटरसाइकल र बस उत्तरबाट दक्षिणतर्फ जाँदै थिए ।

विद्यार्थीलाई घर पुर्‍याउन गएको बस पछाडि सार्ने (ब्याक गर्ने) क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी गिरीको भनाइ छ । ‘विद्यार्थी पुर्‍याउन गएको बस बाटो कटेर एक जना विद्यार्थीको घरभन्दा लगभग ३० मिटरजति अगाडि बढिसकेको रहेछ । त्यसपछि घरै अगाडि विद्यार्थीलाई ओराल्न चालकले बस ब्याक गरेछन्,’ उनले भने, ‘त्यही क्रममा बसले पछाडि रोकिएर रहेको मोटरसाइकललाई ठक्कर दिएछ । मार्ने नियतले बसलाई ब्याक गरेर घटना गराइएको आरोप आफन्तको छ ।’

चालकको गम्भीर लापरबाहीले घटना भएको भन्दै आक्रोसित बनेका स्थानीयले लगातार पाँच घण्टासम्म नाराबाजी र प्रदर्शन गरेका थिए । हत्या गर्ने उद्देश्यले बस ब्याक गरेर घटना गराइएको भन्दै उनीहरुले राति १० बजेसम्म सडकमै शव राखेर प्रदर्शन गर्दा अवस्था तनावग्रस्त गरेका थिए । आक्रोसित भिड ढुङ्गामूढा गर्दै तोडफोडमा उत्रन थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । बोर्डिङ स्कुलमा समेत तोडफोडको प्रयास गरिएको थियो । आगो बालेर सडक अवरुद्ध बनाउँदै घटनास्थलमा भेला भएकाले जनप्रतिनिधिविरुद्ध पनि नाराबाजी गरेका थिए ।

बस र चालकलाई घटनास्थलमै ल्याउनुपर्ने माग राख्दै प्रदर्शन हुँदा अवस्था तनावपूर्ण बनेको कानेपोखरी–५ का वडाध्यक्ष चरण गुरुङको भनाइ छ । उनका अनुसार चालकलाई कारबाही नभएसम्म शव उठाउन नदिने अडान राख्दै आन्दोलन हुन थालेपछि पीडित पक्षसँग सहमति गरेर शव उठाइएको हो । दोषी चालकलाई कानुनअनुसार कारबाही गर्ने र पीडित पक्षलाई न्याय दिने सहमतिपछि राति १० बजेतिर प्रहरीले घटनास्थलबाट शव उठाइएको जानकारी गुरुङले दिए । उनका अनुसार सुरुमा शवलाई पोस्टमार्टमका लागि मङ्गलबारे अस्पताल लगिएको थियो ।

त्यसपछि प्रहरीले रङ्गेली अस्पताल लगेको छ । डिएसपी गिरीले सुरक्षाको दृष्टिकोणले शव मङ्गलबारेमा राख्न सम्भव नभएकाले रङ्गेली लगिएको जानकारी दिए । उनका अनुसार घटनापछि परिवारका सदस्य र आफन्त सहमतिमा आए पनि आक्रोसित भिडले भने माहोल उत्तेजित बनाउँदै शव उठाउन दिइरहेको थिएन ।

शव उठाउन अवरोध गरिएपछि सामान्य बल प्रयोग गर्नुपरेको गिरीले बताए । ‘मृतकको शव पोस्टमार्टमका लागि लैजान सामान्य बल प्रयोग गर्नुपरेको थियो,’ उनले भने, ‘घटनास्थलमा ढुङ्गामूढा र हुलहुज्जतसहित प्रदर्शन गरियो ।’ डिएसपी गिरीका अनुसार घटनास्थलको अवस्था थप खराब बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन रङ्गेली, उर्लाबारी, बेलबारी, पथरीलगायतका स्थानबाट ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्नुपरेको थियो ।

त्यस क्रममा आक्रोसित भिडबाट प्रहार भएको ढुङ्गा लागेर इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का सामान्य घाइते भएका छन् । उनको दायाँ कानको छेउमा ढुङ्गाले लागेको चोट छ । आक्रोसित समूहले रङ्गेली प्रहरीको बा १ झ ७३६३ नम्बरको गाडी र शव उठाउन घटनास्थलमा ल्याइएको मे १ च २३०८ नम्बरको पिकअप भेनमा तोडफोड पनि गरेका छन् । ढुङ्गामूढा र तोडफोडबाट प्रहरीको गाडीको अगाडिको सिसा फुटेको छ । पिकअप भेनमा भने पूर्ण रूपमा क्षति पुगेको डिएसपी गिरीले बताए ।

घटनापछि बसका चालक राजु श्रेष्ठ फरार रहेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । सुरुमा दुर्घटनामा परेका बेला बस चलाएको हुनसक्ने आशङ्कामा प्रहरीले बोर्डिङकै अर्को बसका चालक सुजन राईलाई नियन्त्रणमा लिएको थियो । तर पछि फरार रहेका श्रेष्ठले बस चलाएको खुलेको प्रहरीको भनाइ छ । बसलाई नियन्त्रणमा लिएर भागेका चालकको खोजी गर्दै घटनाको अनुसन्धान गम्भीर रूपमा अघि बढाइएको डिएसपी गिरीको भनाइ छ ।

घटनामा घाइते भएका मोटरसाइकल चालक भट्टराईले भने तीव्र गतिमा रहेको बस सुरुमा मोटरसाइकललाई ओभरटेक गरेर अगाडि बढेको बताए । ‘अलि तल पुगेपछि बस रोकियो । हामीलाई अगाडि जाने बाटो नभएपछि मैले पनि मोटरसाइकल रोकें,’ उनले भने, ‘तर एक्कासि बस ब्याक सारेर ल्याइयो । हामीलाई सोहोरेर लगिहालो ।’ अलिकति पर पुर्याएपछि बसको चक्काको बीचबाट आफू निस्कन पाएकाले मात्रै बाँच्न सकेको भट्टराईले सुनाए ।

उनले टाउकामा लगाएको हेल्मेट निकालेर पछाडि हानेपछि मात्रै विद्यार्थी बोकेको गाडी रोकिएको, दिदीलाई भने बसको पछाडिको चक्काले भेटेको भट्टराईले सुनाए । ‘दिदीको विभत्स अवस्था देखेपछि मेरो पनि होस उड्यो । पछि आफूले थाहा पाउँदा अस्पतालमा थिएँ,’ उनले भने, ‘घटनामा बस चालकको ठूलो लापरबाही छ । तीव्र गतिमा बस कुदाउँदा र अघिपछि नहेरिकन ब्याक गर्दा यस्तो दुर्दशा भयो ।’ ठक्करबाट मोटरसाइकल ढलिसकेपछि पनि बस ब्याक गरेर किचेको उनको भनाइ छ ।

मृतक दीपाका देवर सन्तोषले दुर्घटनामा बस चालकको गम्भीर लापरबाही रहेको बताए । ‘घटनाको प्रकृति हेर्दा सुरुमा ठक्कर दिएपछि बस ब्याक गरेर किचेको देखिन्छ,’ उनले भने, ‘भाउजूको छातीमा बसको चक्काको डाम रहेकाले पनि यो कुरो पुष्टि हुन्छ ।’ घटनास्थलको अवस्था हेर्दा चक्का घिसारेर ब्याक गर्दै मार्ने नियतले बसले हानेको देखिने सन्तोषको भनाइ छ । उनले घटना गराउनेलाई कानुनअनुसार कारबाहीमा कुनै कन्जुस्याइँ गर्न नहुने माग पनि गरे ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Arson
Weapons Fire , Other
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media

0 Comments