Incident Reports

वास्तबिकता नबुझी प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

2021-01-07

Province 1, Sankhuwasabha, Madi, Ward 8

सङ्खुवासभा,मादी नगरपालिका–८ स्थायी घर भई छथर जोरपाटी गाउँपालिका–३ ताङखुुवामा बस्दै आउनु भएका ४१ वर्षीय नेत्रबहादुर कडुवालले प्रहरीले बिनाकारण पुस २३ गते कुटपिट गरेको आरोप लगाउनु भएको छ ।

पुस २३ गते आमा भेट्न सङ्खुवसभाको मादी गएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको पीडित कडुवालको आरोप छ ।

आमा भेट्न मादी नगरपालिका–८ ओइराङ्ग पुगेको अवस्थामा पुस २३ गते राति दुई जना बर्दी लगाएका र दुई जना बर्दी नलगाएका प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

आफूसँगै ३१ वर्षीय भाईबुहारी सरीता कटुवाललाई समेत बिना कारण प्रहरीले कुटपिट गरेको पीडित कडुवालले बताउनु भयो ।

कुटपिटबाट छाती,सम्वेदनशील अङ्गमा चोट लागेका पीडित उपचारका लागि जिल्ला अस्पताल धनकुटा भर्ना भएको अवस्थामा प्रहरीले बिना कारण कुटपिट गरेको बताउनु भएको हो ।

सुनसरी,इटहरी उपमहानगरपालिका–२ स्थायी घर भई मादी मङ्गलवारे चौकीमा  सई पदमा कार्यरत ३५ वर्षीय नरेश आचार्य, विराटनगर महानगरपालिका–७ स्थायी घर भई मादी प्रहरी चौकीमा हवल्दार पदमा कार्यरत ४३ वर्षीय लेखनाथ रेग्मी,  सप्तरी,राजविराज नगरपालिका–७ स्थायी भई मादी प्रहरी चौकीमा जवान पदमा कार्यरत २४ वर्षीय दिनेश गुप्ता र सिरहा, लहान नगरपालिका–३ स्थायी घर भई मादी प्रहरी चौकीमा जवान पदका कार्यरत २६ वर्षीय अशोक ठाकुरले बिना कारण नियन्त्रणमा लिएर कुटपिट गरेको पीडितले बताउनु भयो ।

मादक पदार्थ सेवन गरेका प्रहरीहरूले एक घण्टाको बाटो पैदल हिडाएको र कुट्दै लगेको पीडितको आरोप छ ।

घटनाको विषयमा मादी प्रहरी चौकीका सई नरेश आचार्यलाई टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

प्रहरीको कुटाईबाट  कटुवालको यौन अङ्ग सुनिएको, टाउको, छाती, तिघ्रामा चोट लागेको जिल्ला अस्पताल धनकुटाका स्वास्थ्यकर्मी गणेश बुढाथोकीले बताउनु भयो ।

मादक पदार्थ सेवन गरेका प्रहरीले अपशब्द बोल्दै कुटपिट गरेको र रातारात इलाका प्रहरी कार्यालय चैनपुर पुर्‍याएको पीडितको आरोप छ ।

आफूले कुनै गल्ती नै नगरी प्रहरीले मरणासन्न अवस्थासम्म पुर्‍याएको र जाहेरी दिन खोज्दा प्रहरीले लिन नमानेको पीडित कडुवालले बताउनु भयो ।

प्रहरीको कुटाईबाट घाईते भएका पीडितलाई उपचारका लागि ४४ वर्षीय दिदी सम्झना भट्टराई र ३३ वर्षीया पत्नी लीला कडुवालले चैनपुरबाट धनकुटा ल्याउनु भएको हो ।

प्रहरीले पुस २८ गतेसम्म घाऊजाँच केस फाराम न भरेको र जाहेरी पनि लिन नमानेको दिदि सम्झनाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी नवराज मल्लले कुटपिटका  विषय प्रहरीका कुनै पनि युनिटबाट कुनै जानकारी नभएको र जाहेरी दिन पनि कोही नआएको बताउनु भयो ।

डिएसपी मल्ले घटनाको विषयमा सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्ने बताउनु भयो ।

कुटपिटका विषयमा जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले घाइतेको घाऊजाँच केस फाराम बिरामीले गर्न चाहे धनकुटामा हुने तर जाहेरी भने घटना सङ्खुवासभाको भएकोले उतै गएर दिनु पर्ने बताउनु भयो ।

एसपी अधिकारीले प्रहरीसँग सम्बन्धित उजुरी भएकाले सङ्खुवासभा प्रहरीमा उजुरी दिनुपर्ने बताउनु भयो ।

डिभिजन वन कार्यालय सखुवासभा खाँदवारीका प्रमुख इन्द्र सापकोटाले ०७७ भदौ १३ गते मादी नगरपालिका–८ मा अवैध काठ बरामद भएको र सो काठ काटेको आरोप नेत्रबहादुरका साईला भाई ३५ वर्षीय नारद कडुवाललाई लागेको बताउनु भयो ।आरोप लागेका व्यक्ति फरार रहेको डिभिजन वन प्रमुख सापकोटाले बताउनु भयो ।

नारदकाविरूद्ध डिभिजन वन कार्यालयले भदौ १५ गते सङ्खुवासभा प्रहरीलाई काठ तस्कर गरेको आरोपमा उजुरी दिएको थियो ।नेत्रप्रसादले भाई नारदलाई भगाउन सहयोग गरेको आरोपमा प्रहरीसँग सामान्य मुडभेड भएको र सोही विषयमा प्रहरीले केरकार गरेको हुन सक्ने वन प्रमुख साँपकोटाले बताउनु भयो ।

भाईको घरमा अर्कैले काठ काटेर राखेको र त्यसको आरोप आफ्नो भाइलाई लगाएर फसाउन खोजिएको पीडित नेत्रप्रसादको भनाइ छ ।

पीडित नेत्रप्रसादले प्रहरीले वास्तबिकता नबुझी जथाभावी कुटपिट गरेको र न्यायका लागि प्रहरीलाई अनुरोध गर्दा प्रहरीबाट सहयोग नभएको पीडित नेत्रप्रसादले बताउनु भएको छ ।

ईश्वर थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
INSEC

0 Comments

Related Reports