Incident Reports

शिक्षकबाटै छात्रामाथि यौन दुर्व्यवहार, दुई घण्टा कोठाभित्र  थुनेर हल्ला नगर्न निर्देशन

2021-01-29

Province 1, Jhapa, Kamal, Ward 3

विद्यालयमा हाम्रा बालबालिका किन पढ्न पठाउँछौँ ? यसको सहज उत्तर हुन्छ शिक्षा आर्जन गर्न । बालिबालिका शिक्षित भएपछि आत्मनिर्भर बन्छन् । समाजमा हुने सबै खाले विभेदविरुद्ध बोल्ने आँट गर्न सक्छन् । तर, झापाको एक सामुदायिक विद्यालयका पढ्न गएका विद्यार्थीमाथि यौन दुर्व्यवहार हुने गरेको छ । हिंसा चिन्ने र प्रतिकार गर्न सिकाउने शिक्षकबाटै विद्यार्थीहरू वर्षौँदेखि पीडित भइरहेका छन् ।

कमल गाउँपालिका–३ केर्खामा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयका दुई शिक्षकले वर्षौँदेखि माथिल्लो कक्षाका बालिकालाई असहज हुने गरी छुने, गाला मुसार्नेजस्ता अश्वभाविक गतिविधि गर्ने गरेको खुलेको छ । विद्यालयका शिक्षक शालिकराम पोखरेल र शिव भट्टराईले बालिकामाथि दुर्व्यवहार गर्ने गरेको भन्दै विद्यालयका विद्यार्थीले संयुुक्ति रूपमा शिक्षकविरुद्ध आवाज उठाएका छन् । 

पोखरेल प्रावि तहका स्थायी शिक्षक हुन् । शिक्षक अभावका कारण उनी माध्यमिक तहमा पनि नेपाली विषय पढाउँदै आएका छन् । उनी यो विद्यालयमा दुई दशकदेखि शिक्षण पेशामा छन् । भट्टराई भने मावि तहका अंग्रेजी विषयका शिक्षक हुन् । उनी पाँच वर्षदेखि यस विद्यालयमा पढाउँदै आएका छन् ।

शिक्षकहरूले पढाउने र अनेक बहानामा बालिकाको संवेदनशील अंग छुने, गाला मसार्नेलगायत दुरव्यवहार गर्ने गरेको पीडित बालिकाले बताएका छन् । ‘होमवर्क हेर्ने निहुँले सधैँ सरले जीउमा छुनुहुन्थ्यो । छुन नहुने ठाउँमा पनि छुने गर्नुहुन्थ्यो,’ कक्षा–८ की एक पीडित बालिकाले नयाँ पत्रिकासँग भनिन्, ‘सधैँ उहाँले यस्तै गर्नुहुन्छ । हामीले डरले अहिलेसम्म भन्न सकेका थिएनौँ ।’ 

गत शुक्रबार पनि शिक्षकले यही गतिविधि गरेपछि कक्षा–९ मा अध्ययनरत बालिकाहरू दुर्व्यवहार विरुद्ध आवाज उठाए । जसमा केही बालकहरूले पनि साथ दिए । त्यो दिन विद्यालयको कक्षा सञ्चालन पनि हुन सकेन । दुर्व्यवहारका विरुद्ध आवाज उठाउने बालिकाहरूलाई विद्यालयको ‘अफिस’मा लगियो । प्रशासनले विद्यालयमा कार्यरत गुरुआमालाई पनि प्रवेश नदिई बालिकाहरूलाई दुई घण्टा थुन्यो र यो विषय बाहिर नल्याउन भन्दै सम्झाई बुझाई गर्‍यो । ‘विद्यालयले हामीलाई त यस्ता कुराको प्रतिकार गर्न सिकाउनुपर्ने हो ।

झ्याल ढोका सबै बन्द गरेर थुन्यो,’ कक्षा–९ की पीडित बालिका भन्छिन्, ‘स्कुलको अध्यक्ष चक्र गुरुङले यस्ता कुरा बाहिर नल्याउनु । तिमीहरूको इज्जत सियोको टुप्पोमा हुन्छ । सेतो लुगामा दाग लाग्यो भने जानै मुस्किल पर्छ भन्दै सम्झाउनुभयो । उहाँले सरहरू जेल जाँदा तिमीहरू पनि जानुपर्छ यो कुरा बाहिर नल्याऊ भन्नुभयो । हाम्रा अभिभावक आउँदा पनि छाड्नु भएन । साथीहरूले बाहिर हल्लाखल्ला गरेपछि हामीलाई छाडियो ।’ 

बालिकालाई साथ दिएर दुर्व्यवहारविरुद्ध आवाज उठाउने बालकलाई पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र गुरुङ र आरोपित शिक्षकले धम्की दिएको विद्यार्थीको आरोप छ । ‘केटाको होमवर्क चेक गर्दा छेउमा पनि पर्दैनन् । केटी साथीहरूको चेक गर्दा जीउमा हात लान्छन् । हामीले साथीहरूका लागि बोल्दा शालिकराम सरले तिमीहरूको सिउर पलाएछ । सरसँग मुखमुखै लाग्छौ भन्दै कराउनुभयो,’ कक्षा–९ का विद्यार्थी रोमन बस्नेतले भने, ‘अध्यक्षले तँ मान्छे कालो व्यहोरा पनि कालै भन्नुभयो । के कालो मान्छेले न्याय माग्न पाउँदैन ?’  

बालिकामाथि भएको दुर्व्यवहारबारे कुरा उठाउँदा विद्यालयबाटै निकाल्ने धम्की दिएको कक्षा–९ का विद्यार्थी बलजीत राई बताउँछन् । ‘दुई÷तीन वर्षदेखि नै केटी साथीलाई यस्तो गरिरहेको देखेको छु । पहिला पनि आवाज उठाएको हुँ । म ९ मा फेल भएँ । त्यही कारणले फेल भएँ कि भन्ने लाग्छ,’ राई भन्छन्, ‘यसपटक पनि सुरुमा मैले कुरा उठाएँ ।

केटी साथीलाई हौसला हुन्छ भनेर म आफैँ अफिसमा गएँ । हेड सरले भविष्य सिध्याइदिन्छु भन्नुभयो । यसको अर्थ स्कुलबाट निकाल्छु भनेको हैन र ?’ प्रधानाध्यापकसम्म कुरा लिएर जाने बालिकालाई समेत कुटपिट गरेको उनले बताए । ‘मैले नै अफिसमा कुरा गर्न जानुपर्छ भनेँ । तर, त्यहाँ गएका साथीहरूलाई भाटाले हानेपछि मन धेरै दुख्यो,’ राई भन्छन्, ‘यस्तो अन्याय हामीले स्कुलमा कहिलेसम्म खप्ने ?’आफ्नो समस्या राखेपछि बोल्न नसक्ने पाँच जना बालिकालाई छलफल गर्न कोठामा थुनेर राखेको कक्षा–९ का अर्का विद्यार्थी सलिन लिम्बू बताउँछन् । 

सबैको भेलाबाट समस्याको समाधान भइसक्यो : प्रधानाध्यापक पौडेल

शिक्षकमाथि प्रश्न उठाउँदै विद्यार्थीले कक्षा सञ्चालन गर्न नदिने भएपछि विद्यालयले अभिभावक, कमल गाउँपालिकाको शिक्षा शाखा, वडाध्यक्ष, विद्यार्थी संगठनलगायतसँग छलफल गरायो । त्यो क्रममा अभिभावकले कारबाहीको माग गरे । 

आरोपित शिक्षकहरूले भने विद्यार्थीलाई हौसला दिन धाप मारेको बताए । कुरा मिलिसकेको भन्दै विद्यालयका प्रधानाध्यापक काजीमान पौडेलले प्रतिक्रिया दिन आनाकारी गरे । उनले विद्यार्थी र शिक्षकमा केही असमझदारी आएको तर अभिभावक, शिक्षक, विद्यार्थीलगायतको भेलाले समाधान गरेको बताए ।

‘विद्यार्थी र शिक्षकबीचमा असमझदारी भएको हो । त्यही भएर निकास निस्कियो । विद्यालय सञ्चालन भइरहेको छ,’ प्रअ पौडेलले भने, ‘नहुनुपर्ने कुरा भयो । यसलाई विद्यालयले गम्भीरतापूर्वक लिएको छ ।’  विद्यालयले आरोपित दुई शिक्षकलाई अन्तै सरुवा गर्न कमल गाउँपालिका शिक्षा शाखालाई पत्र लेखिएको उनले बताए । ‘उहाँहरू (अभिभावक)ले सात दिनको समय दिनुभएको थियो,’ उनले भने, ‘हामीले सोमबार नै गाउँपालिकालाई लेखेर पठाएका छौँ । आरोपित शिक्षक विद्यालय आउन छाड्नु भएको छ ।’

हामीले स्पष्टिकरण सोध्ने र सचेत गराउन मात्र सक्छौँ : गाउँपालिका शिक्षा शाखा

कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य न्यौपानेले भने शिक्षकहरूले विद्यार्थीलाई त्यसो नगरेको हुनसक्ने बताए । अभिभावक र शिक्षकसँगको छलफलमा बसेका हुने दुवैतर्फको कुरा सुन्दा त्यस्तो नपाएको दाबी गरेका हुन् ।  ‘विद्यार्थीको पनि कुरा सुनियो । शिक्षकको पनि सुनियो । शिक्षकले आफ्नै छोराछोरी जस्तो लागेर हौसला दिन धाप मारेको भन्नुभयो,’ उनले भने, ‘स्कुलमा शिक्षकले त्यस्तो गर्नुभयो भन्ने चाहिँ लाग्दैन । बच्चाहरूले अर्कै हिसाबले बुझे छन् ।’ शिक्षा शाखाले स्पष्टिकरण सोध्ने र सचेत गराउने बाहेक केही पनि गर्न नसक्ने बताए । ‘शिक्षा शाखाले स्पष्टिकरण सोध्न र सचेत गराउन सक्छ । तर, उहाँहरूलाई अरू केही गर्न सक्दैन,’ उनले भने, ‘सरुवा शिक्षकले नै खाली ठाउँ हेरेर मिलाएर जाने हो । हामीले गर्ने हैन ।’

विद्यार्थीलाई सामान्य दण्डित गर्दा यस्तो आरोप आयो : आरोपित शिक्षक

आरोपित शिक्षक पोखरेलले सामान्य विषयमा अहिलेको अस्थिर राजनीति घटना क्रमको फाइदा उठाएको दाबी गरे । केही वर्षअघि विद्यालय नआउने छात्रलाई सामान्य दण्डित गरेको विषयले यत्रो रूप लिएको उनले बताए । ‘बाहिर आएजस्तो केही हैन । केही वर्षअघि विद्यालय नआउने केटाहरूलाई सामान्य दण्डित गरेको घटनाको रिस फेर्न उनीहरू यस्तो आरोप लगाएका हुन्,’ पोखरेलले भने, ‘यो कुरा स्कुल हुँदै बाहिर गयो । अहिलेको राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केहीले केटाहरूको कुरा सुनेर सरलाई आरोप लगाउनू तिमीहरूलाई राम्रो हुन्छ भनेर उकासे ।’ आरोपितमध्ये शिक्षक भट्टराईले भने मिडियासँग प्रतिक्रिया नदिने बताए । उनले विद्यालयले यो विषय अघि बढाएको र आफू नबोल्ने बताए । यद्यपि विद्यार्थीले ‘होमवर्क’ नगर्दा कुटेको रिस फेरेको आरोप लगाए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth na
National/Online Media

0 Comments