Incident Reports

तस्करले आक्रमण गर्दा असई गम्भीर घाइते, सीमाक्षेत्रमा डिजल तस्करको जगजगी

2021-02-06

Province 1, Morang, Jahada, Ward 5

विराटनगर/मोरङको जहदा गाउँपालिका–५ लक्ष्मीनीयामा इन्धन तस्करी गर्ने गिरोहको आक्रमणबाट शनिबार साँझ नेपाल प्रहरीका असई रामकुमार माझी गम्भीर घाइते भएका छन् ।

डिजेल तस्करी गरेर भारततिर लैजाँदै गरेका जहदा–७ का २१ वर्षीय बब्लु साहले प्रहरी चौकी मझारेका प्रमुख एवम् इन्चार्ज माझीमाथि हत्या गर्ने हिसाबले आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । माझीमाथि साँझ ६ः३० बजेतिर लक्ष्मीनीयाको एनसेल टावरनजिकको नहरमा आक्रमण भएको हो । गम्भीर घाइते उनको विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।

नेपालबाट भारततिर डिजेल तस्करी भइरहेको सूचनाका आधारमा रोक्नका लागि असई माझी कार्यालयको बा २ ब ५६२८ नम्बरको मोटरसाइकलमा पुगेका थिए । बिनाहतियार तस्करको पिछा गर्न निस्किएका उनलाई सहयोग गर्न अरु प्रहरी पनि जाँदै थिए । तर थप मद्दतका लागि खटिएका अरु प्रहरी पुग्न नपाउँदै जम्काभेट भएपछि तस्करले उनीमाथि साङ्घातिक हमला गरेको डिएसपी राईले बताए ।

उनका अनुसार तस्करीमा संलग्न साहले ५० लिटर दरका तीनवटा ड्रम (ग्यालेन) मा एक सय ५० लिटर डिजेल भरेर को १४ प ७६३ नम्बरको मोटरसाइकलमा राखी भारततिर लैजाँदै थिए । पिछा गर्दै पुगेका असई माझीले रोक्न खोजेपछि साहले डिजेलले भरिएको ड्रमसहितको मोटरसाइकल नहरमा लडाएका थिए । माझीले मोटरसाइकलसहित लडेका साहलाई उठाए । तर उनले एक्कासि असईमाथि आक्रमण सुरु गरेको डिएसपी राईले बताए ।

आक्रमणबाट भुइँमा ढलेपछि बोल्नै नसक्ने र अनुहारबाट भलभली रगत बगिरहेको अवस्थामा माझीलाई थप मद्दतका लागि पुगेको प्रहरी टोलीले तत्काल उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएको हो । मोटरसाइकलसहित लडेपछि खुट्टामा चोट लागेका साहले मुक्कार ढुङ्गासमेतले आक्रमण गरेको डिएसपी राईले बताए । माझीको अनुहारका गम्भीर चोट छ ।

डिएसपी राईका अनुसार घाइते असइको दुवै आँखामा चोट लाग्नुका साथै नाकको हड्डी भाँचिएको छ । ओठ पनि काटिएको छ । चिकित्सकले जतिसक्दो चाँडो नाकको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन् ।

घटनास्थलमा पुगेका प्रहरीले आक्रमण गर्ने साहलाई नियन्त्रणमा लिँदै गम्भीर घाइते अवस्थामा असई माझीको उद्धार गरेका छन् । प्रहरीले तीनवटा ड्रमसहित तस्करीको एक सय ५० लिटर डिजेल र डिजेल तस्करीमा प्रयोग गरिएको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका साहले रातको समयमा नचिनेकाले अरु कोही भएको हुनसक्ने आशङ्कामा आक्रमण गरेको तर प्रहरी भनेर आफूले नचिनेको बताएको जानकारी डिएसपी राईले दिए । साह लामो समयदेखि नेपालबाट भारततिर डिजेल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको तस्करी गर्ने गिरोहका नाइके हुन् । साहविरुद्ध कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिएको राईले बताए ।

घटनास्थल नेपाल–भारत सीमाक्षेत्रबाट तीन किलोमिटर उत्तरमा पर्छ । झापा घर भएका असई माझी भने सात महिनादेखि प्रहरी चौकी मझारेमा कार्यरत थिए । मझारे प्रहरी चौकमा आठ जना प्रहरी कार्यरत छन् । अत्यधिक मात्रामा तस्करी हुने नेपाल–भारत सीमाक्षेत्रमा पर्याप्त जनशक्ति नहुँदा असुरक्षित रुपमा काम गर्नुपर्ने अवस्था रहेको गुनासो प्रहरीले गरेका छन् । जोखिमपूर्ण अवस्थामा ड्युटी गर्नुपर्ने र बारम्बार तस्करको निसानामा पर्ने गरेको गुनासो सीमाक्षेत्रका प्रहरीको छ ।

डिजेल, पेट्रोल लगायतका इन्धन नेपालमाभन्दा भारतमा महँगो पर्छ । भारतमा नेपालभन्दा महँगो पर्ने भएकाले नेपालबाट तस्करको गिरोहले सुरक्षाकर्मीलाई छलेर लुकाइ छिपाई इन्धन तस्करी गरी भारत पुर्‍याउँदै बिक्री गर्ने गरेको विभिन्न घटनाबाट पुष्टि हुन्छ ।

नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरका प्रवक्ता दिवस विष्टका अनुसार प्रदेश १ मा डिजेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ ५० पैसा र पेट्रोलको एक सय आठ रुपैयाँ ५० पैसा तोकिएको छ । नेपालमाभन्दा भारतमा डिजेल प्रति लिटर ३७ रुपैयाँ ६४ पैसा र पेट्रोल ३२ रुपैयाँ २६ पैसा महँगोे रहेको जानकारी विष्टले दिए ।

विशेष गरेर सीमावर्ती क्षेत्रमा सञ्चालित पम्पहरुबाट पेट्रोलियम पदार्थको भारततिर तस्करी भइरहेको पाइन्छ । निगमले ति पम्पहरुमा नियमित अनुगमन र नियमन गर्ने काम पनि गरिरहेको छ । तर पनि भारतमा धेरै मूल्य पर्ने भएकाले इन्धनको तस्करी रोकिएको छैन । आयल निगम स्रोतले दिएको जानकारी अनुसार तस्करी रोक्नका लागि निगमले बनाएको नीति नै गलत छ ।

‘तस्करी रोक्न सीमाका पम्पहरुमा नियमित अगनुगमन गर्नुपर्ने नीति निगमको छ,’ स्रोतले भन्यो, ‘तर पम्पहरुले मागेजति पेट्रोलियम पदार्थ उपलब्ध गराउनैपर्ने बाध्यता पनि छ ।’ पम्पबाट भएको मागबमोजिम इन्धन आपूर्ति नगर्दा उपभोक्ताले नपाउने र माग भए जति दिँदा तस्करी हुने समस्या रहेको स्रोतको भनाइ छ । तस्करी रोक्नका लागि सीमाक्षेत्रका पम्पबाट हुने अत्यधिक मागको कोटा घटाउनुपर्ने र त्यसमा प्रशासनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको निगमले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments

Related Reports