Incident Reports

‘पर्फमेन्स आर्ट’ देखाएर सरकारको विरोध

2021-02-06

Gandaki, Kaski, Pokhara Lekhnath

समाधान संवाददाता, पोखरा

माइकमा एक युवक जोडजोडले चिच्याइरहेका छन् । उनको अगाडि उभिएका हरेक प्रश्नमा ‘छैन–छैन’ भन्दै उठबस गरिरहेका छन् । माइक समातेर बोलिरहेका युवा त्रिवेणी प्रश्न गर्छन् – प्रतिगमन भएको छ ?आँखा र मुखमा पट्टी बाँधिएका ९ जना युवा ‘छैन–छैन’ भन्दै उठबस गर्न सुरु गर्छन् । 

त्यसपछि जतिपटक प्रश्न गरिन्छ, युवाहरु उठबस गरेर ‘छैन–छैन’ मात्रै भनिरहन्छन् । पोखराको पृथ्वीचोकमा शनिबार दिउँसो ४ः१० देखि ५ मिनेट यस्तै दृश्य देखिन्थ्यो । 

त्रिवेणीले यस्ता प्रश्न सोधिरहेका थिएः

देशको जनता दुःखी छन् ? जताततै अशान्ति छ ? यहाँ जनता भोकै मर्दै छन् ? भ्रष्टाचारीलाई छुट छ ? समृद्धिको झुटो नारा छ ? नेताको बोलीमा झुट छ ? यहाँ सत्ताको गोरु जुधाई छ ? न्याय माग्नेलाई लाठी छ ?

यी प्रश्न देख्दा लाग्न सक्छ, छ भन्नुपर्नेमा पनि किन छैन भने ?हो, युवाहरु व्यंग्यात्मक ढंगले सरकारको विरोध गरिरहेका थिए । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय विरोधमा नाट्य कलाकार ‘पर्फमेन्स आर्ट’ प्रस्तुत गरिरहेका थिए । 

ती ९ कलाकारको अनुहार आँखा र ओठ बनाइएको पट्टीले ढाकिएको थियो । यसको अर्थ शासक र उनका समर्थक गलतलाई ढाकछोप गर्न खोज्छन् भन्ने हो । कलाकारको अनुहारमा बाँधिएको पट्टीमा खुल्ला आँखा र हाँसो छ । तर कसैले पट्टी बाँधेर गलतलाई सही भन्न दिइरहेको छैन र हाँसोलाई निमिट्यान्न पारिरहेको छ । 

नेपालमा खासै प्रचलनमा नरहेको यो कला हाउभाउ, अभिनय वा संगीतको माध्यमबाट देखाइन्छ । कलाकार सुनील सिग्देलको सल्लाहमा शरद भण्डारी नेतृत्वको टोलीले पोखरामा शनिबार ‘पर्फमेन्स आर्ट’ प्रदर्शन गरेको हो । 

पोखरामा आयोजित नागरिक आन्दोलनमा शनिबार ‘पर्फमेन्स आर्ट’ सँगै कविता पनि वाचन गरिएको थियो । सुरज उपाध्याय, सुदर्शन पौडेल, रोशन तिमिल्सिना, रीता अधिकारी, डा. चैतन्य अधिकारी र विकास रोका मगरले कविता वाचन गरेका हुन् । 

कार्यक्रममा नागरिक अभियन्ता युग पाठकले देशमा जुनसुकै समयमा निरंकुश अनुहार निस्कने अवस्था पहिल्यैदेखि रहेको बताए । ‘कहिले दरबारबाट, कहिले राजनीतिक दलबाट निस्केर आउन सक्दो रहेछ । त्यो निरंकुशता जसले जनताका समस्यालाई बेवास्ता गर्दै मुलुकलाई एकाएक अस्थिरतातिर धकेल्दिन सक्दो रहेछ,’ उनले भने । 

पाठकले काचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मुखचलाउ प्रधानमन्त्री’ को संज्ञा दिए । राष्ट्रवाद, स्थिरता र समृद्धिको सपना देखाएर राजनीतिक नेताले जनतालाई निराशातिर धकेलिदिएको जिकिर गरे । प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने निर्णयको विरोधमा काठमाडौंमा हुँदै आएको प्रदर्शन गत हप्तादेखि पोखरामा पनि सुरु भएको हो । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 9
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments