Incident Reports

आयोगद्वारा जातीय विभेदको घटनाको अनुगमन l

2014-06-21

Santosh Ruchal राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले प्रहरीको असईद्वारा आफ्नै प्रहरी जवानमाथि जातीय विभेद गरेको भन्ने घटनाको असार ७ गते स्थलगत अनुगमन गरेको छ । इन्सेक अनलाईनमा असार १ गते जातीय विभेद गर्ने असईलाई कारबाहीको माग गर्दै उजुरी शिर्षकको समाचार प्रकाशन भएपछि सोही आधारमा आयोगका प्रतिनिधिले इन्सेक प्रतिनिधि, दलित सङ्घसस्थाका प्रतिनिधि र पीडितलाई भेटेर घटनाको अनुगमन गरेको छ । अनुगमनको क्रममा आयोगका लेखा तथा प्रशासन अधिकृत शम्भु केसीले पीडित युवराज परियारलाई जिल्ला प्रहरी कार्यालयमा नै गएर भेटेका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालयमा तानिएका पीडित परियारलाई भित्री डिउटीमा लगाइएको छ । आयोगका प्रशासन अधिकृत केसीले भने-"डाडाँबजारको ओख्रे प्रहरी चौकीमा दरबन्दी रहेका परियारलाई घटना पश्चात जिल्ला तानिएको भए पनि कुनै खालको यातना नदिईकन आफ्नो डिउटीमा खटाएको पाईयो । तर उनलाई बाहिरको डिउटी भने दिईएको छैन ।" यता जिल्ला प्रहरी कार्यालयले अस्थायी प्रहरी पोष्ट डाडाँबजारका असई नवराज कार्कीले आफ्नै जवानमाथि जातीय विभेद गरेको भनि घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय राजारानीका इन्सपेक्टर सुरेन्द्रप्रकाश श्रेष्ठको नेत्तृवमा छानबिन समिति गठन गरी गरिरहेको छ । समितिले लिखित प्रतिवेदन बुझाएपछि मात्र घटनाको सत्यतथ्य बाहिर आउने र दोषी देखिए कारबाही अगाडि बढाईने जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर वासुदेव चौधरीले बताए । हाल आरोपित असई नवराज कार्की र पीडित युवराज परियार घटना पश्चात जिल्ला प्रहरी कार्यालयमा नै रहेका छन् । घटना इन्सेक अनलाईन तथा विभिन्न पत्रिकाहरूमा प्रकाशन भएपछि सार्वजनिक भएको थियो ।

0 Comments

Related Reports
Related Trend Analysis