Incident Reports

पारिश्रमिक नपाएपछि कोभिड प्रयोगशालाका कर्मचारी घर फर्किए

2021-03-02

कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारीहरू पाँच महिना काम गरेको पारिश्रमिक नपाएपछि खाली हात घर फर्किन बाध्य भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिको सहमति अनुसार स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मी पारिश्रमिक नपाएर घर फर्किएका हुन् ।

०७७ जेठ ३१ गतेको जिल्ला विपद् व्यावस्थापन समितिको बैठकले कोभिड–१९ प्रयोगशाला र आइसोलेशन सेन्टर सञ्चालन गर्न प्रत्येक नगरपालिकाले १५ लाख रुपियाँ र प्रत्येक गाउँपालिका १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको थियो । तर, केहि स्थानीय तहले अझै रकम नदिएपछि प्रयोगशालाका १० जना कर्मचारी पारिश्रमीकबाट बञ्चित भएका हुन् । प्रयोगशालामा कार्यरत ल्याब टेक्नोलोजिष्ट दुई जना, टेक्निसियन तीन जना, असिस्टेण्ट दुई जना, कम्प्युटर अपरेटर एक जना,  हेल्पर र कुक एक÷एक जनाले पारिश्रमिक नपाएका हुन् ।

उनीहरूले ०७७ असोज ८ गतेबाट कोभिड–१९ परीक्षण प्रयोगशाला, तम्घासमा काम गर्न थालेका थिए । फागुन पहिलो हप्तासम्म पनि आफुहरूले पारिश्रमिक बुझ्ने कुनै वातावरण नभएपछि रेसुङा नगरपालिकाकासँग समन्वय गरेर घर फर्किएको ल्याव टेक्निसियन दिपेन्द्र पन्थीले गुनासो गर्नु भयो ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार गुल्मी दरवार, कालीगण्डकी, सत्यवति, चन्द्रकोट र मुसिकोट नगरपालिकाले सहमति अनुसारको रकम नदिएको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताउनु भयो । सबै स्थानीय तहको समन्वय र सहयोगमा रेसुङ्गा नगरपालिकाले नेतृत्व गरेर कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय बिपद् व्यावस्थापन समितिमा भएको थियो । उपकरण र जनशक्ति व्यवस्थापनमा सुरूबाटै रकमको अभाव भएपनि केही स्थानीय तहले अहिलेसम्म रकम नदिँदा निकै समस्या भएको भुसालले बताउनु भयो । उहाँले आफुहरूसँग  पारिश्रमिक दिने स्रोत नभएको र अरु स्थानीय तहले सहमति अनुसार रकम नदिएपछि कर्मचारीलाई खाली हात घर पठाउँदा आफूलाई  पनि दुख लागेको प्रतिक्रिया दिनुभयो ।

प्रयोगशालामा काम गर्ने १० जना कर्मचारीहरूलेनै पारिश्रमीक नपाएपछि जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका मेयर र गुल्मी अस्पताल प्रमुख लगायतलाई धेरै पटक ध्यानाकर्षण गराएका थिए ।

मेडिकल ल्याव टेक्नोलोजिष्ट मुना क्षेत्रीले कोभिड सङ्क्रमणको बेला जोखिम मोलेर काम गरेर पनि आज खाली हात घर फर्किन परेकोमा दुख व्यक्त गर्नुभयो ।

गुल्मी अस्पतालले सार्वजनिक सूचना प्रकाशन गरेर भर्ना गरेको थियो । सबैको आग्रहमा अस्पतालले कर्मचारी आवश्यकता सम्बन्धि सूचना प्रकाशन गरेर प्रयोगशालामा कर्मचारी भर्ना गरेपनि अहिले स्थानीय तहले धोका दिएको गुल्मी अस्पताल तम्घासका  प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो ।

उहाँले कोभिड सङ्क्रमण उच्च र प्रयोगशालाको आवश्यकताका बेला गरिएको निर्णय र नैतिकता बिर्सेर स्वास्थकर्मी खाली हात घर फर्कनु पर्ने स्थिती निकै बिडम्बनापूर्ण भएको बताउनु भयो ।  प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले जिल्ला बिपद् र जिल्ला समन्वय समितीको सभामा समेत प्रयोगशाला र कर्मचारीको बिषय उठेकाले रकम नदिने स्थानीय तहलाई थप ध्यानाकर्षण गराइएको बताउनु भयो ।

अहिले कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घास बन्द भएको छ । सरकारकै निर्णय अनुसार देशका सिमित प्रयोगशाला मात्रै सञ्चालन भएका छन् । स्वाब सङ्कलनको आधारमा सरकारले सञ्चालन गर्ने र नगर्ने प्रयोगशाला छुट्टाएको छ । गुल्मीको प्रयोगशाला सञ्चालन गर्नुपर्ने सूचिमा नपरेको प्रयोगशाला प्रमुख केपी भण्डारीले बताउनु भयो ।

टोपलाल अर्याल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Labor disputes, not including civil servants
Secondary Cause Government Relief
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
INSEC

0 Comments