Incident Reports

सिराहामा बोक्सी आरोपमा महिलालाई यातना

2021-04-17

Madhes, Siraha, Aurahi, Ward 5

गाईलाई टुना लगाएर मारेको भन्दै कुटपिट गरी जबर्जस्ती मलमूत्र खुवाइयो, घटना सार्वजनिक नगर्न स्थानीयको दबाब,

गाउँमै मिलापत्रको तयारीसिराहामा बोक्सी आरोप लगाउँदै एक महिलालाई यातना दिइएको छ । औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई शनिबार बिहान साढे ६ बजे भतिजा र बुहारीहरूले बोक्सी आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र खुवाएका छन् ।

गाईलाई टुना गरेर मारेको आरोपमा आफूमाथि जेठाजुका छोरा र बुहारीले कुटपिट गर्दै मानव मलमूत्र खुवाएको हीरादेवीले जानकारी दिइन् । भतिज घुरन साहले हात समातेर भुइँमा लडाएको र बुहारीहरू कौशिला, निशा र कविताले जबर्जस्ती मानव मलमूत्र खुवाएको उनले बताइन् ।

हीरादेवीका श्रीमान् रामचलितर साह रोजगारका क्रममा भारतको चण्डीगढमा छन् । उनी छोराछोरीसहित घरमा बस्दै आएकी छन् । दुई छोरी र एक छोरामध्ये जेठी छोरी मात्र घरमा भएको मौका पारी आफूमाथि अमानवीय काम गरेको भन्दै उनले दोषीलाई कारबाहीको माग गरेकी छिन् । तर, घटना लुकाउन हीरादेवीलाई स्थानीयले दबाब दिएका छन् । बोक्सी आरोपमा कुटपिट गर्ने र मलमूत्र खुवाउने घटनाका दोषीलाई कानुनी कारबाही गर्नुको सट्टा स्थानीय अगुवा गाउँमै मिलापत्रको तयारीमा जुटेका छन् । घटनाको उजुरी गर्न प्रहरी चौकी औरही पुगेकी साहलाई स्थानीय श्रीदेव यादवलगायतले गाउँमै मिलापत्र गर्ने गरी फर्काएर ल्याएका छन् । यादवले आफन्तबीचको घटना भएकाले प्रहरीमा मिल्नुभन्दा गाउँमै मिल्नु राम्रो हुन्छ भनेर फर्काएको बताए । कुटपिटको घटना सुन्नमा आएकाले आफूले गाउँमै मिलापत्रको लागि प्रहरीमा जानबाट फर्काएको उनको भनाइ छ ।

२ वैशाखमा मिथिला क्षेत्र जुडशीतल पर्व मनाउँदै थियो । हीरादेवी जेठाजुका छोराबुहारीलाई पानी छर्केर आशीर्वाद दिन उनीहरूको घर पुगिन् । पानी छर्किने क्रममा घरमा रहेको गाईमाथि पानी प¥यो । त्यो पानी घुरनले आफैँ गाईमाथि खन्याएका थिए । जिउमा पानी परेको गाईको शनिबार बिहान मृत्यु भयो । गाई मरेको जानकारी घुरनले श्रीमती विन्दीलाई दिए । ‘गाई मरेको देखेपछि बुहारीलाई सुनाए,’ पीडित हीरादेवीले भनिन्, ‘त्यो सुन्नेबित्तिकै तथानाम गाली गर्न थाल्यो । सडकमा घिसार्दै कुटपिट गर्न थाल्यो । घुरनले पाखुरा र हात समातेर भुइँमा लडायो । बुहारीहरूले जबर्जस्ती मलमूत्र मुखमा कोचे ।’ गाई मारेको झुटो आरोप लगाएर सडकमा आफूलाई मलमूत्र खुवाउँदा पनि गाउँलेले रमिता मात्र हेरेको उनले गुनासो गरिन् ।

घटनापछि घुरन साह फरार

बोक्सी आरोप लगाउँदै काकीलाई यातना दिने घुरन साह फरार भएका छन् । प्रहरीले सो घटनामा संलग्न कौशिला, निशा र कवितालाई पनि नियन्त्रणमा लिएको छैन । प्रहरी चौकी औरहीका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक (असइ) कलानन्द यादवले महिलालाई कुटपिट गरेको सूचनाका आधारमा अनुसन्धान थालेको बताए । घटनास्थलमा पुगेपछि महिलाको शरीरमा पानीजस्तो केही छर्केको देखिए पनि मलमूत्र हो÷होइन यकिन भन्न नसकिने उनको भनाइ छ । घटनाबारे लिखित उजुरी नआएकाले कसैलाई नियन्त्रणमा नलिइएको यादवले बताए । सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बोक्सी आरोपमा अमानवीय कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन जरुरी भएको बताए । घटनामा संलग्नलाई चाँडै पक्राउ गरी कानुनी कारबाही गरिने उनले जानकारी दिए ।

९ महिनाअघि बोक्सी आरोपमा मूर्तिदेवीलाई यातना दिने धरौटीमा छुटे

गत २८ भदौमा सिराहाको नवराजपुर गाउँपालिका–५ कुर्सन्डीकी ४५ वर्षीया मूर्तिदेवी यादवलाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गर्दै मलमूत्र खुवाइएको थियो । बोक्सी आरोप लगाउँदै राति नै पञ्चायत बोलाएर छिमेकीहरू धर्मनाथ यादव, सन्तोष यादव, देवनाथ यादव, पशुपति यादव, वैद्यनाथ यादव, महेश यादव, कृष्ण यादव, ब्रह्म यादवलगायतले मूर्तिदेवीमाथि कुटपिट गरेका थिए । कुटपिटपछि मूर्तिदेवीको चिउँडो तथा गालाको हड्डी भाँचिएको थियो । घटनाका आरोपीमध्ये धर्मनाथ यादवका छोरा २५ वर्षीय सन्तोष यादवलाई गत १८ कात्तिकमा जिल्ला अदालत सिराहाले दुई लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments