Incident Reports

धो घटनाको स्थलगत प्रतिवेदन सार्वजनिक l

2014-07-03

Karnali, Dolpa, Dolpo Buddha

Bishnu Devkota डोल्पा । ०७१ असार २० गते इन्सेक डोल्पाले २०१४ मा सङ्कलित मानवअधिकार उल्लङ्घनका घटनाहरुको अर्धवाषिर्क पूर्व समीक्षा तथा धो घटनाको स्थलगत अनुगमन प्रतिवेदन असार २० गते एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । डोल्पाको धो गाविसमा जेठ २० गते स्थानीयवासी र सुरक्षाकर्मीबीच यार्चा सङ्कलनको विवादमा भएको झडपमा धो गाविस-६ का २७ वर्षीय छिरिग फुर्वा गुरुङ्ग र सोही गाविस-४ का ४५ वर्षीय टुण्डुप लामाको मृत्यु भएको थियो । धो गाविसका स्थानीयवासीले यार्चा सङ्कलकहरुबाट शुल्क उठाउन पाउनु पर्छ भन्ने माग र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति सुलिगाडबाट खटिएको यार्चा रकम अनुगमन टोली स्थानीयवासीले शुल्क उठाउन पाईदैन भन्ने अडानका बीच उत्पन्न विवाद झडपमा परिणत भएको इन्सेकले जनाएको छ । स्थिति नियन्त्रणमा लिन भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाकर्मीले हवाई फायरिङ्ग र लठ्ठी चार्ज गर्ने क्रममा घाइते भएका गुरुङ्ग र लामाको उपचारको क्रममा अस्पतालमा मत्यु भएको इन्सेकले सार्वजनिक गरेको स्थलगत अध्ययन प्रतिवेदनमा उल्लेख छ । गत वैशाख २५ गते बसेको मन्त्रीपरिषदले निकुञ्ज सहितका मध्यवर्ती वन भएका डोल्पाका बासिन्दालाई ५ सय, निकुञ्ज भित्रका लागि २ हजार र जिल्ला बाहिरका लागि ३ हजार रुपैँया यार्चा सङ्कलनको लागि वन प्रवेश शुल्क निर्धारण गरेको थियो । कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुख, राजनीतिक दलका प्रमुख, नागरिक समाज, सुरक्षा निकायका प्रमुख, पत्रकार शिक्षक र सरोकारवाला निकायको उपस्थिति रहेको थियो । सोही अवसरमा इन्सेकले सन २०१४ जनवरीदेखि जुनसम्म सङ्कलन गरेको घटनामा महिला हिंसाका १८, राजनीतिक दल निकट समूहबाट भएका पाँच, बालश्रमशोषणका तीन, र सम्बन्ध विच्छेदका पाँच गरि ३३ मानवअधिकार उल्लङ्घन र ज्यादतिका घटनाहरु भएको इन्सेक डोल्पा प्रतिनिधिले प्रस्तुत गरेका थिए । बिष्णुप्रसाद देबकोटा

0 Comments

Related Reports
Related Trend Analysis