Incident Reports

'लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्छ'-मुख्यसचिव l

2014-07-07

Bagmati, Lalitpur, Lalitpur

Ramesh Prasad Timilsina मुख्यसचिव लीलामणि पौडेलले महिला हिंसाको सवालमा सुरक्षाकर्मीले संवेदनशीलताका साथ कार्य गर्दै लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयको संयुक्त आयोजनामा असार २२ गते काठमाडौँमा आयोजित 'लैङ्गिक हिंसाविरुद्धको सरकारको नीति तथा कार्यक्रमहरू, कार्यान्वयन अवस्था र चुनौति' विषयक छलफल कार्यक्रममा उनले सर्वसाधारणले रक्षक र आदर्श व्यक्तिको रूपमा लिने सुरक्षाकर्मीले कुनै पनि प्रकारका महिला हिंसालाई दण्डनीय रूपमा लिई यस विरुद्धको कारबाहीमा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका हुन् । सशस्त्र प्रहरी बलले लैङ्गिक हिंसामा संलग्न रहने अधिकृत जवानहरूलाई युएन मिसन, पदोन्नति तथा विदेश तालिमलगायतका अवसरमा सहभागी नगराउने नीति लिनु प्रशंसनीय भएको चर्चा गर्दै यसले सङ्गठनको छवि र प्रभावकारितालाई अझै माथि उठाउँदै लैजाने मुख्यसचिव पौडेलले विश्वास लिएका छन् । गृहसचिव सूर्यप्रसाद सिलवालले सरकारले अख्तियार गरेको 'लैङ्गिक हिंसामा शून्य सहनशीलता'को नीतिलाई कार्यान्वयन गर्ने सिलसिलामा गृहमन्त्रालयबाट निर्देशित कार्यलाई सशस्त्र प्रहरी बलले उत्कृष्ट ढङ्गले पूरा गरिरहेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजुमान सिंह मल्ल र सशस्त्र प्रहरीबलका महानिरीक्षक कोषराज वन्तलगायतले असमान व्यवहारबाट हुने लैङ्गिक हिंसालाई गम्भीर प्रकृतिको मानवअधिकार उलङ्घनको रूपमा लिनुपर्ने विचार व्यक्त गरेका छन् । सो अवसरमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयस्थित केन्द्रीय लैङ्गिक इकाईले प्रकाशित गरेको 'लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक हाते पुस्तिका' पनि विमोचन गिरिएको थियो । रमेशप्रसाद तिमल्सिना

0 Comments